तनहुँको टुटेपानी सहित गण्डकी प्रदेशका तीन घरवासलाई नयाँ गन्तव्य घोषणा
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी सहित तीन वटा घरवासलाई नयाँ गन्तव्यका रुपमा घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले पर्वत र बागलुङका गरी तीनवटा घरवासलाई नयाँ गन्तव्य घोषणा गरेको हो ।
भिटोफको जुम प्रविधिबाट आयोजित छैठौं वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष तारानाथ पहारीले यस वर्ष २०७७ का लागि तनहुँ जिल्लाको टुटेपानी नमुना सामुदायिक होमस्टे, पर्वतको भुक देउराली नमुना सामुदायिक तथा बागलुङको रिगा सामुदायिक होमस्टेलाई नयाँ गन्तव्य घोषणा गरेका हुन् । मनोरम प्रकृति र संस्कृतिले सम्पन्न यी स्थान पर्यटकको पर्खाइमा रहेको बताउँदै उनले ग्रामीण पर्यटनका लागि यी उत्कृष्ट गन्तव्य हुन् ।
साधारणसभाले भिटोफको संरचनालाई गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुर्याउने लक्ष्यका साथ जिल्ला संयोजकहरू तोकेको छ । त्यस्तै गाउँ पर्यटनलाई प्रचार प्रसार गरेर लामो समयदेखि योगदान पुर्याएको भन्दै नागरिक राष्ट्रिय दैनिकका घुमफिर स्तम्भका स्तम्भकार अमृत भादगाउँलेलाई गाउँ पर्यटन दूत घोषणा गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गाउँको प्रकृति र संस्कृतिको प्रचारप्रसारका माध्यमबाट साधनस्रोतको अधिकतम प्रयोग गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार लागिपरेको बताए ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश होमस्टेको पनि राजधानी भएको बताउँदै संस्थाले स्थापनाकालदेखि नै गाउँ पर्यटनको विकासका लागि तालिम, गोष्ठीका साथै होमस्टे मार्ट समेत सञ्चालन गर्दै आएको बताए । गाउँ पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन भिलेज गाइडको व्यवस्थाका साथै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मोबाइल एप बनाउने योजना रहेको उनले बताएका छन् ।










