बन्दीपुर गाउँपालिका : शिक्षा क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा कार्यक्रम अगाडि बढाएका छौं

बन्दीपुर गाउँपालिका शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न योजनाबद्ध कार्यक्रममार्फत अघि बढिरहेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार विद्यालय शिक्षालाई प्रभावकारी, समावेशी र गुणस्तरीय बनाउने उद्देश्यले गाउँपालिकाले बहुआयामिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘गुणस्तरीय शिक्षाको लागि विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिपक्षीय तादात्म्यता
अत्यन्त आवश्यक छ । यसका लागि आर्थिक, भौतिक र नैतिक पक्ष सुदृढ गर्नु आजको आवश्यकता हो’, अध्यक्ष थापाले भने, ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले शिक्षक तालिम, शैक्षिक सामग्रीको उत्पादन तथा प्रयोग, शिक्षक डायरीको प्रयोग, कक्षा भित्रको कार्यसम्पादन सम्झौता, एकाइ परीक्षा, नमुना कक्षा प्रदर्शन, अतिरिक्त कक्षा सञ्चालन, नमुना विद्यालय अवलोकन र पृष्ठपोषणसहितको नियमित अनुगमन जस्ता गतिविधिहरू छन् ।’
अत्यन्त आवश्यक छ । यसका लागि आर्थिक, भौतिक र नैतिक पक्ष सुदृढ गर्नु आजको आवश्यकता हो’, अध्यक्ष थापाले भने, ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले शिक्षक तालिम, शैक्षिक सामग्रीको उत्पादन तथा प्रयोग, शिक्षक डायरीको प्रयोग, कक्षा भित्रको कार्यसम्पादन सम्झौता, एकाइ परीक्षा, नमुना कक्षा प्रदर्शन, अतिरिक्त कक्षा सञ्चालन, नमुना विद्यालय अवलोकन र पृष्ठपोषणसहितको नियमित अनुगमन जस्ता गतिविधिहरू छन् ।’त्यस्तै, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने, विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण गर्ने, “म बनाउँछु मेरो विद्यालय” भन्ने अवधारणा प्रवर्द्धन गर्ने कामसमेत तीव्र रूपमा अगाडि बढाइएको अध्यक्ष थापाले बताए ।
‘शिक्षा क्षेत्रमा अझै पनि केही गम्भीर चुनौतीहरू छन्। विद्यालयमा देखिएको राजनीतिक हस्तक्षेप, अभिभावकमा शैक्षिक चेतनाको कमी, शिक्षकहरूमा दायित्वबोधको अभाव, परीक्षा र मूल्याङ्कन प्रणालीमा सुधारको अभाव, तथा सरकारी विद्यालयप्रति सम्पन्न वर्गको उपेक्षा दृष्टिले गुणस्तरमा असर परेको छ’, उनले भने, ‘सरकारी विद्यालयप्रतिको विश्वास कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व बुझे मात्र शिक्षा क्षेत्रमा परिवर्तन सम्भव हुन्छ ।’
गाउँपालिकामा अधिकांश विद्यालयहरूमा कक्षा अनुसार तथा विषयगत शिक्षकको पर्याप्त दरबन्दी नहुँदा गुणस्तरीय शिक्षा प्रदान गर्न कठिनाइ भएको अध्यक्ष थापा स्वीकार्छन् । उनले भने, ‘शिक्षक अभावको समस्या समाधान गरेरमात्र हामीले पढाइलाई प्राविधिक, प्रयोगात्मक र विद्यार्थी–केन्द्रित बनाउन सक्छौं ।’

यस्तै, गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ । हाल गाउँपालिकामा हेल्थ असिस्टेन्ट कार्यक्रम अन्तर्गत ४० जना विद्यार्थीको कोटा रहेको छ । यस्तै, सब–ओभरसियर, ओभरसियर र होटल म्यानेजमेन्ट विषयमा +२ तहको अध्ययन गराइँदैछ । पवित्र माध्यमिक विद्यालय, बन्दीपुर–१ मा सब–ओभरसियर र ओभरसियरको पढाइ हुँदै आएको छ । बन्दीपुर क्याम्पस अन्तर्गत हेल्थ असिस्टेन्ट कार्यक्रम सञ्चालित छ भने मनास्लु आवासीय माविमा होटल म्यानेजमेन्टको पढाइ भइरहेको छ ।
‘हामी सक्छौं, हामी गर्छौं’ भन्ने मूल नारामा आधारित अभियानमार्फत विद्यार्थीहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने पहलसमेत थालिएको छ’, अध्यक्ष थापाले भने, ‘बन्दीपुर–१ मा रहेको पवित्र माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न सक्रिय पहल भइरहेको छ। पठनपाठनको गुणस्तर, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा व्यवस्थापन पक्षलाई सुदृढ गर्दै विद्यालयलाई अन्य विद्यालयहरूका लागि उदाहरणीय बनाउने लक्ष्य रहेको छ ।’
यस्तै, बन्दीपुर गाउँपालिकाले ल्याएका कार्यक्रमहरू केवल योजनामा सीमित छैनन्, ती कार्यान्वयनमा आधारित छन् । तथापि, दीर्घकालीन परिणाम हासिल गर्न निरन्तर अनुगमन, सबलीकरण, शिक्षक–अभिभावक संवाद तथा विषयगत शिक्षकको सुनिश्चितता अपरिहार्य रहने गाउँपालिका अध्यक्ष थापा बताउँछन् । उनले भने, ‘शिक्षा परिवर्तनको जग नै जनताको विश्वास हो । त्यस विश्वासलाई जीवन्त राख्न हामी सम्पूर्ण गाउँपालिकाबासी लागि पर्नुपर्छ ।’
विषयगत शिक्षक र दरबन्दीको अभाव : शिक्षा अधिकृत लामिछाने
बन्दीपुर गाउँपालिकामा २३ वटा प्राथमिक तह, ३ समुदायिक र १ संस्थागत गरी ४ वटा आधारभूत तह, सामुदायिक ६ वटा र ३ वटा संस्थागत गरी ९ वटा माध्यमिक तहका विद्यालय सञ्चालनमा छन् । दुई वटा क्याम्पस रहेका छन् । गाउँपालिकाको दुईवटा विद्यालयमा प्राविधिक धार अन्तर्गत होटल व्यवस्थापन विषयको पठनपाठन हुने गरेको गाउँपालिकाका शिक्षा अधिकृत भिम प्रसाद लामिछानेले जानकारी गराए ।शैक्षिक गुणस्तर सुधारका लागि गरिएका प्रयासहरु :
१) यस बन्दीपुर गाउँपालिकामा शैक्षिक क्षेत्रलाई व्यस्थापन र गुणस्तरीय बनाउन शिक्षा योजना निर्मण गरी कार्यन्वयनको अवस्थामा रहेको छ ।
२) आधारभूत तथा माध्यमिक तहको शिक्षा निःशुल्क गराउनु पालिकाको दायित्व समेत रहेकोले क्रमशः आधारभूत तह यस वर्षमा र माध्यमिक तहलाई निःशुल्क गराउने योजना रहेको छ ।
३) गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा अध्ययनको लागि छात्रावृति सहित प्रोत्साहन गरिएको छ ।
४) सामुदायिक विद्यालय सुधारको लागि तल्लो कक्षाबाट सुधारको आवश्यकता रहेकाले पालिकाले बालकक्षा सुदृढिकरण योजना संचालन गर्दै आएको छ । जसले सबै बाल कक्षाहरुलाई ग्रेडीङ सहित प्रोत्साहन गरिने कार्यक्रम रहेको छ ।
५) दरबन्दी नपुग भएका विद्यालयहरुमा पालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्थापन गरी गुणस्तर सुधारमा सहयोग गरिएको छ ।
६) विद्यालयको दरबन्दी मिलन तथा आवस्यकताको आधारमा विद्यालय समायोजन गरी विद्यार्थी संख्या बढी भएका विद्यालयमा व्यवस्थापन गर्ने गरी काम भएका छन् ।
यस्तै, शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले शिक्षकहरुको लागि नियमित शिक्षक तालिम संचालन गर्दै आएको छ। विद्यालय सुपरिवेक्षण तथा आवश्यक सल्लाह सुझाब, सूचना प्रविधि सम्बन्धि शिक्षकको क्षमता विकास कार्यक्रम, विद्यालयको गुणस्तर सुधारको लागि प्रशानिक व्यवस्थापनको लागि प्रधानाध्यापकहरुलाई प्रोत्साहन लगायतका कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै आइएको शिक्षा अधिकृत लामिछानेले जानकारी गराए ।

शिक्षा क्षेत्रको सुधारका लागि सामाजिक सहभागिता र अभिभावकहरुको समावेशीकरणका लागि अभिभावक शिक्षा संचालन, विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावक मध्येबाट मात्र विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको उनले बताए । शिक्षा क्षेत्रमा लगानी र बजेटको व्यवस्थापनका संघीय सरकारबाट सशर्त अनुसारको बजेट, स्थानीय तहबाट स्रोतको व्यवस्थापन, पालिकाको जम्मा बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने गरिएको छ ।
बन्दीपुर गाउँपालिका तहगत रुपमा शिक्षकको कमि रहेको छ । समग्रमा आधारभूत तह कक्षा १–५ मा तोकिए अनुसारको दरबन्दी भएपनि आधारभूत तह कक्षा १–८ मा स्वीकृत दरबन्दीको कमि रहेको शिक्षा अधिकृत लामिछानेले जानकारी गराए। उनका अनुसार माध्यमिक तहमा पनि स्वीकृत दरबन्दी कमि रहेको हुँदा दरबन्दी कमि भएका विद्यालयलाई राहत हुने उद्देश्यले पालिकाले स्वयंसेवक शिक्षक थप गर्ने गरेको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरु :
१) प्रस्तावित विद्यालयहरुमा स्वीकृत दरबन्दी नरहेको हुँदा तल्लो तहको दरबन्दीको शिक्षकलाई माथिल्लो तहको कक्षामा पठनपाठन गराउन कार्यमा समस्या छ ।
२) पर्याप्त दरबन्दीको अभाव
३) विद्यालयमा आर्थिक स्रोत व्यवस्थापनमा समस्या
४) अपेक्षित शैक्षिक उपलब्धि प्राप्त गर्न चुनौती
५) माध्यमिक तहसम्ममको शिक्षा स्थानीय तहको अधिकार क्षेत्र भित्र भएता पनि स्पष्ट कानुनिरुपमा संघ सरकारबाट अधिकार प्राप्त नहुँदा स्वायत तरिकाबाट कार्य गर्ने कठिनाई झेल्नुपरेको छ ।

(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा भञ्ज्याङ दैनिकले वैशाख १ गते प्रकाशन गरेको विशेषाङ्कमा प्रकाशित)










