पत्रकार महिलाले क्षमता अभिवृद्धि गरी नेतृत्वदायी भूमिकामा आउनुपर्छ : उपप्रमुख जोशी
- भञ्ज्याङ समाचारदाता (दमौली)
व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले पत्रकार महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी नेतृत्वदायी भूमिकामा अगाडि बढ्नुपर्ने बताएकी छन् । क्रियाशील पत्रकार महिला तनहुँको आइतबार दमौलीमा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । ‘पत्रकार महिलाले सधै हामीले अवसर पाएनौ, पुरुष पत्रकारले ठाउँ दिएनन् भनेर गुनासो मात्र गर्ने होइन’, उपप्रमुख जोशीले भनिन्, ‘यस्तै तालिमबाट सिकेका सिपको सदुपयोग गरी समाचार सम्प्रेषणमा ध्यान दिनु पर्छ । पाएको एउटा मौकालाई नै अवसरको रुपमा प्रयोग गरी आफु अगाडि बढ्न सक्नुपर्छ ।’
पत्रकार महिलाका लागि सिप विकासका लागि दुइ दिने तालिमले नपुग्ने बताउँदै उनले भनिन्, ‘यदि पत्रकार महिलाहरुलाई यस्ता अन्य तालिमहरुको आवश्यक परे, यहि तालिम पनि एक हप्तासम्म लिन चाहान्छौं भन्नुभयो भने व्यास नगरपालिकाले बजेटको व्यवस्थापन गर्ने छ । तर, तालिम लिएपछि आफ्नो सक्षमता हजुरहरुले देखाउनुपर्यो, समाजमा भएका घटना, महिला अधिकार हनन्का विषय उजागर गर्न सक्नुपर्छ । आफु पनि यस विषयमा पठनपाठन गरी नेतृत्वको विकास गर्नतर्फ लाग्नुपर्छ ।’
‘महिला दिदीबहिनीहरु विभिन्न तालिम, गोष्ठीमा सहभागि हुनुहुन्छ, ती तालिममा सहभागि भएपछि जुन रुपमा अगाडि बढ्नुपर्ने हो त्यो देखिएको छैन’, उपप्रमुख जोशीले भनिन्, ‘हाम्रो समाजमा व्याप्त सामाजिक कुदृष्टिलाई चिर्दै महिला सशक्तिकरणमा जुट्नेपर्ने बेला आएको छ । संविधानमा भएको अधिकार हामी आफै जागरुक भएर लिन सक्नुपर्दछ ।’
क्रियाशील पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष प्रदिप काफ्ले, क्रियाशील पत्रकार महिला केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र क्रियाशील पत्रकार महिला गण्डकी प्रदेश संयोजक दुर्गा अधिकारी लगायतले यस तालिमले महिलाहरुलाई पत्रकारिता क्षेत्रमा कलम चलाउन थप प्रेरण मिल्ने बताएका छन् ।
यस्तै, क्रियाशील पत्रकार महिला तनहुँको आठौं साधारण सभा तथा चौथो अधिवेशनले विमला कँडेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपध्यक्षमा सृजना राना, सचिव मिला दरै, कोषाध्यक्ष शिला वाग्ले, सहसचिवमा करिष्मा गुरुङ, सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता खनाल, मुना कालिराज विक चयन भएका छन् ।










