भानुको नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड
कृषकको माग बमोजिम हाईब्रिड तथा उन्नत जातको बीउ उपलब्ध गराइने

भानु : तनहुँको भानु नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिदै कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गर्ने भएको छ ।
रैथाने वालीको संरक्षण र प्रवर्द्धन गर्दै कृषकहरुको माग बमोजिम हाईब्रिड तथा उन्नत जातको बीउ उपलब्ध गराउने नीति लिएको नगरपालिकाले प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गर्दै उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुका साथै कृषि उत्पादन वृद्धि गर्न भुमिको चक्लाबन्दीलाई प्रोत्सहान गर्ने भएको छ ।
नगरपालिकाले आफ्ने नीति तथा कार्यक्रममा सर्वसुलभ एवं सहजरुपमा स्वस्थ्यमा पहुँच, गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन एवं रैथाने वाली संरक्षण, उत्पादन प्रशोधन, प्रवर्द्धन तथा बजारीकरण, सुशासन अभिवृद्धि, दिगो लक्ष्य प्राप्तिका भौतिक पूर्वाधार संरचना निर्माण, वातावरण संरक्षण, विपद तथा आपतकालीन व्यबस्थापन, सामाजिक सुरक्षा, उद्यमशिलता, रोजगारी सिर्जना तथा नवप्रवर्तन, सार्वजनिक जग्गाको संरक्षण तथा निजी–सहकारी साझेदारी, पर्यटन विकास लगायतका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गर्ने, तीनै तहका सरकार बीच समन्वयमा सामुहिक तथा करार खेतीलाई प्रोत्साहित गर्दै उत्पादित वस्तुको बजारीकरण गर्ने, एकीकृत राष्ट्रिय अनुदान सम्बन्धी कानुन एवं कृषि अनुसन्धान नीति तर्जुमा गर्ने नीति ल्याएको छ ।
गुणस्तरीय बीउ विजनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति लिएको नगरपालिकाले रैथाने वाली, बिउ विजन, डाले तथा भुई घाँस उत्पादन स्रोत केन्द्रको स्थापना गरी नगरलाई विउविजन र घाँसको विरुवामा आत्मनिर्भर बनाई अन्यत्र निकासीको वातावरण सिर्जना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै अदुवा, बेसार लगायत कृषि वस्तुको निर्यात प्रवर्द्धनका कार्यक्रम संचालन गर्ने नीति ल्याएको नगरपालिकाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण एवं अनुकुलका उपायहरु अबलम्बनलाई प्राथमिकताका साथ अगाडि बढाउन जलवायुमैत्री कृषि प्रविधिहरुको प्रयोगलाई प्रोत्सहान गर्ने भएको छ ।
नगरपालिकाको कृषि विकासको लागि तयार भएको रणनीति, आवधिक योजनालाई समेट्ने गरी कार्यक्रम संचालनका लागि योजना तयार गर्ने कार्यक्रम ल्याएको नगरपालिकाले माटो परीक्षणका आधारमा पकेट क्षेत्र निर्धारण गरी कृषिलाई विविधीकण र व्यवसायीकरण गर्ने कार्यको शुभारम्भ भएको अवस्थामा यसलाई प्रभावकारी बनाउँदै लग्ने र खाद्यान्न वाली, अदुवा, वेसार सन्तला, एभोकाडो, कागती, लिची, गोलभेडा, आलु उत्पादनको विशेष क्षेत्र तोकी कार्यक्रम संचालन गर्ने भएको छ ।
कृषिजन्य उत्पादित वस्तुहरुको बजारीकरणको लागि कृषि एम्बुलेन्सको व्यवस्थापन गर्ने, व्यवसायिक कृषि जन्य उत्पादनलाई प्रोत्साहन गरी आत्मनिर्भरता तर्फ उन्मुख गर्ने, माध्यामिक विद्यालय (मा.वि.) सञ्चालन भएको कुनै एउटा विद्यालय छनोट गरी पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने नीति लिएको नगरपालिकाले चिया, अलैंची र अदुवा आदि कृषि उपजको उत्पादनको लागि विशेष कार्यक्रम सञ्चालन गरी कृषिलाई पर्यटनसँग जोडने वातावरणको सिर्जना गरी कृषक तथा युवालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
उत्पादनदेखि उपभोक्तासम्मको श्रृंखला सहजता ल्याउन कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स, डिजिटल मोबाइल एप, कृषि प्रयोगशाला र प्राङ्गरिक मल प्रबर्द्धन कार्यक्रम संचालन गर्ने, स्थानीय उत्पादनको प्रशोधन, ब्राण्डिङ् र राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कार्यक्रम कार्यान्वयन गर्ने नीति ल्याएको नगरपालिकाले कृषिमा आधुनिकीकरण, स्थानीय सार्वजनिक सेवा प्रवाहमा विद्युतीय प्रयोग, स्थानीय सुशासन प्रबर्द्धन र आर्थिक विकासमा टेवा पु¥याउन “कृषिमा रुपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रबिधिको प्रयोग परियोजना” नवप्रबर्द्धनको रुपमा नगरवासी सामु ल्याउने भएको छ ।
यस्तै, नगरपालिकाले पशुपंक्षी तथा मत्स्य विकास तर्फ दुध, अण्डा, मासु र माछामा आत्मनिर्भर बनाउन व्यवसायिक पशुपालक कृषकलाई प्रोत्साहान गर्ने नीति अवलम्वन गर्ने भएको छ । पशुबाट मानिसमा सर्ने रोगहरु फैलिन नदिनका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने नीति लिएको नगरपालिकाले घाँस खेतीमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न घाँस विकास कार्यक्रमलाई जोड दिने भएको छ ।
नगरपालिका भरिका कृषकहरुले पालन गर्दै आएका सबै पशुहरुमा खोप कार्यक्रम संचालन गरी पुर्ण पशु खोपयुक्त नगरपालिका बनाउन कार्यक्रम ल्याएको नगरपालिकाले एक वडा एक पशु उत्पादन कार्यक्रमलाई जोड दिने, पशु स्वास्थ्य र बाझोपन न्यूनीकरण कार्यक्रम संचालन गर्ने, पशु नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने, मासु तथा दुग्ध पसल संचालन तथा सुधारमा प्रोत्साहन गर्ने, पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्न सरल कर्जा नीति अवलम्वन गर्ने, कृषि तथा पशु पालन गर्न युवा कृषकलाई प्रोत्साहान नीति ल्याउने भएको छ ।

त्यस्ते, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई क्रमशः लागु गर्दै लाने नीति अवलम्वन गरेको नगरपालिकाले पशु उत्पादनको बजार व्यवस्था मिलाउन कार्यक्रम संचालन गर्ने, पशुपंक्षी पालन कार्यक्रमलाई व्यवस्थित बनाउन अनुदानको कार्यक्रम थप प्रभावकारी बनाउने, रेबिज रोग नियन्त्रण गर्न सामुदायिक छाडा कुकुरलाई बन्ध्याकरण तथा खोप संचालन कार्यक्रमलाई निरन्तरता दिने, कृषि तथा पशु वीमा कार्यक्रम पूर्ण रुपमा लागु गर्दै “पशु स्वास्थ्यमा नगरपालिकाको टेवा खोर गोठमा प्राविधिक सेवा” भन्ने नाराका साथ विभिन्न रोग नियन्त्रणका लागि निःशुल्क पशु खोप, स्वास्थ्य शिविर, पशुपंक्षी तथा मत्स्यको उपचार, परजीवी नियन्त्रण सेवा जस्ता कार्यक्रम संचालन गर्ने भएको छ ।
पशुपालन क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रीकरण कार्यक्रम संचालन गर्ने, स्वस्थ्य र स्वच्छ पशुपंक्षी उत्पादन तथा उपभोगका लागि रासायनिक र एन्टीबायोटिकको व्यवस्थित प्रयोग बारे सचेतना फैलाउने, “गोठदेखि ओठसम्म” भन्ने नाराका साथ पशुपंक्षीजन्य उत्पादनलाई सुरक्षित भण्डारण तथा बजारीकरणमा जोड दिने भएको छ ।
पशुपालनसम्बन्धी नयाँ प्रविधिको प्रचार प्रसारको लागि तालिम भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने, पशु सेवा तथा स्वास्थ्य क्षेत्रका प्राविधिकहरुलाई क्षमता अभिवृद्धि गर्ने, विपद तथा महामारी रोगबाट क्षति भएका पशुपंक्षीको राहतको लागि कार्यक्रम संचालन गर्ने, कृषक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने, कृषि प्रर्दशनीको माध्यमबाट पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न कार्यक्रम संचालन गर्ने, पालिका भित्र संचालनमा रहेका पशुपंक्षी तथा मत्स्य फर्म, एग्रोभेट, ह्याचरी, डेरी, मासु तथा माछा पसल, बधशालाको नियमित रुपमा अनुगमन गर्न भेटेरिनरी निरीक्षण कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रमहरु नगरपालिकाले ल्याएको छ ।










