नक्कली भुटानी शरणार्थी प्रकरण : पन्थी कार्यदलले दिएको प्रतिवेदनमै ‘चलखेल’ भएको प्रहरीको निचोड !

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधान गर्न गठित तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले तयार गरेको प्रतिवेदनमै ‘चलखेल’ गरिएको निचोड अनुसन्धान अधिकारीले निकालेका छन् ।

चलखेल गरेर प्रतिवेदन कीर्ते गर्ने कार्यमा तत्कालीन गृह मन्त्रालय नेतृत्व र गृह सचिवको भूमिका रहेको प्रहरीको दाबी छ । यस प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डेसहित पक्राउ परिसकेका छन् । पन्थी कार्यदलले तयार गरेको प्रतिवेदन कुन चाहिँ आधिकारिक भनेर अन्योल बढिरहेका बेला अनुसन्धान अधिकारीले तत्कालीन मन्त्रिपरिषदमा पेश भएको प्रस्तावको प्रतिलिपि फेला पारेको छ ।

‘केपी ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषदमा पन्थी कार्यदलले तयार गरेको प्रतिवेदन पेश भएको थियो । तर, त्यो प्रतिवेदनबारे कुनै निर्णय नभई पछि गृह मन्त्रालयमै फर्किएको पाइएको छ । प्रतिवेदन मन्त्रालयमा फर्किएपछि कीर्ते गरेर नेपालीको नाम थपिएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

पन्थी कार्यदलले तयार गरेको प्रतिवेदनमा नेपालीको नाम नपरेपछि शंकास्पद रुपमा त्यसलाई मन्त्रिपरिषदमा लगेर अड्काइएको अनुसन्धान अधिकारीहरु बताउँछन् । ‘प्रस्तावबारे कुनै निर्णय नगरी, अर्को सरकार बनेपछि प्रतिवेदन गृहमा फर्किएको देखिन्छ । त्यसपछि गृह मन्त्रालय नेतृत्व, कर्मचारी नेतृत्व र बिचौलिया सक्रिय भएको देखिन्छ’, उनले भने ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पालामा कार्यदल बनेर प्रतिवेदन तयार भएको थियो । त्यतिबेला गृह सचिव प्रेम राई थिए । त्यति बेलै बिचौलियाले नेपालीलाई भुटानी शरणार्थीका रुपमा समावेश गर्न प्रयास गरे पनि असफल भएको बताइन्छ । बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ पर्नुले पनि त्यति बेला प्रयास भएको पुष्टि हुन्छ ।

खाण गृहमन्त्री र टेकनारायण गृह सचिव भएपछि प्रतिवेदनलाई मन्त्रालयमा फर्काएर नेपालीको नाम समावेश गर्ने काम भएको अनुसन्धान अधिकारीहरुको दाबी छ । गृहमन्त्री खाणकै रुचिमा पाण्डे गृह मन्त्रालय आएका थिए । त्यसअघि उनीहरुबीच पुरानो चिनजान थियो ।

जनही २० देखि ५० लाख रुपैयाँसम्म लिएर भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी भएको भन्दै हालसम्म १५० जनाभन्दा बढीले उजुरी गरेका छन् । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker