व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका

व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउनुहुन्छ । राजनीति र समाजसेवा समेत गर्दै आउनुभएका उहाँले विगत दुई वर्षदेखि अटो चलाउन थाल्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो । “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन। उहाँहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उहाँले भन्नुभयो ।
सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उहाँको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पुर्याउन अनुरोध गरेमा राति १२/१ बजेपनि पुर्याउने गर्छु।”
उहाँका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उहाँले बताउनुभयो । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।
प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उहाँले राजनीतिको सुरुवात विसं २०३७ मा एमाले निकट भातृ संगठन अनेरास्ववियुमा आबद्ध हुँदै सुरु गर्नुभएको थियो । विसं २०५२/५३ मा एमाले परित्याग गर्नुभयो । पछि नेपाली कांग्रेसमा आबद्ध हुँदै विसंं २०६५/६६ तिर नगर सचिव, विसं २०७० मा वडा नागरिक मञ्च संयोजक, विसं २०७२ मा सुन्दरबजार नगर कमिटी सभापति हुनुभएको थियो । विसं २०७४ मा कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना राख्नुभयो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बन्नुभयो। तर उहाँ पराजित हुनुभयो।
उहाँलाई कांग्रेसले कारबाही गरेपछि उहाँ स्वतन्त्र रूपमा संगठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संघसंस्थाका निर्वाचनमा उहाँको समूह निर्णायक बन्यो । विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिनुभयो र पराजित हुनुभयो । विसं २०७९ को स्थानीय निर्वाचनमा मिश्रले पुनः सुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभयो । तर विजयी हुन सक्नुभएन ।
त्यसपछि विसं २०७९ साउनमा १५० जनासहित मिश्र एमालेमा प्रवेश गर्नुभयो । सो पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभयो । पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । सो यता नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
राजनीतिक र सामाजिक रूपमा उहाँको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उहाँले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुभएको छ। बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उहाँ उदाहरण बन्नुभएको छ । विसं २०४१ मा एसएलसी पास गर्नुभएका उहाँले विसं २०५६ मै काठमाडौंको सरस्वती क्याम्पसबाट ‘एमविए’ उत्तीर्ण गर्नुभएका उहाँले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गर्नुभएको छ । रासस










