नेपाललाई वास्तविक शान्तितर्फ डोर्याउनुपर्ने बाटो
सुरेशकुमार पाण्डे

नेपाललाई ‘शान्तिको देश’ र ‘गौतम बुद्धको जन्मभूमि’ भनेर गर्वका साथ प्रचार गरिन्छ। यो गौरव साँचो हो, तर केवल नारा र भाषणमा सीमित शान्तिले देशलाई स्थायित्व र समृद्धितर्फ डो¥याउन सक्दैन । देशमा वास्तविक शान्ति स्थापना गर्न प्रत्येक नागरिकको चेतना, सरकारको इमानदार नीति, र समाजको सुधारात्मक सोच अपरिहार्य छ ।
नेपालमा हिंसा, विभेद र असमानताको जरा गहिरो छ। घरेलु हिंसा, जातीय विभाजन, लैङ्गिक भेदभाव र पुराना गलत परम्पराले हाम्रो समाजलाई कमजोर बनाएका छन् । महिलाहरू अझै पनि सीप, शिक्षा र अवसरबाट वञ्चित छन् । छाउपडी, बोक्सीको आरोप, र सती प्रथाजस्ता अमानवीय अभ्यासहरू अझै कतिपय ठाउँमा जीवित छन् । यस्तो असमान समाजमा शान्तिको वास्तविक अनुभूति कसरी सम्भव हो ?
देशमा उद्योग–व्यवसायको अभाव, कृषिमा अव्यवस्था र रोजगारीको संकटले युवालाई विदेशी रोजगारतर्फ धकेलेको छ। विदेशमा लाखौँ नेपालीले शारीरिक र मानसिक सास्ती भोगिरहेका छन् । कतिपयले त जीवन नै गुमाएका छन्। तर, राज्यले तिनका अधिकार र सुरक्षाका विषयमा ठोस पहल गर्न सकेको छैन । श्रम सम्झौता र प्रवासी सहयोगका कार्यक्रम कागजमै सीमित छन् ।
नेपाल स्रोत र सम्भावनाले भरिपूर्ण देश हो। जल, वन, खानी र पर्यटन हाम्रो सबलता हो, तर तिनको सदुपयोगको नीति र व्यवस्थापनको अभाव छ। पहाडमा सिंचाइको पहुँच नहुँदा खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ। यही कारण गाउँबाट शहर र विदेश पलायन बढ्दो छ । यदि सरकारले योजनाबद्ध रूपमा साना उद्योग र कृषि आधारित उद्यमलाई प्रोत्साहन दियो भने रोजगारी सिर्जना हुँदै देशको अर्थतन्त्र बलियो बन्न सक्छ ।
राजनीतिक नेतृत्वमा जवाफदेहिता र पारदर्शिता नहुँदा विकास अवरुद्ध छ । नेताहरू सत्तामा पुग्नेबित्तिकै पद र सुविधाको संरक्षणमा रमाउने परिपाटी हटेको छैन । देशका स्रोत र साधनलाई व्यक्तिगत लाभका निम्ति प्रयोग गर्ने प्रवृत्तिले जनविश्वास घटाएको छ । यसरी जब राजनीतिक आचरण जनताको अपेक्षाविपरीत हुन्छ, शान्ति र विकास दुबैको सम्भावना कमजोर बन्छ ।
शान्ति स्थापनाका लागि केही व्यावहारिक कदम आवश्यक छन् । पहिलो, रोजगारी सिर्जना र स्थानीय उद्योगको प्रवर्द्धन । दोस्रो, शिक्षा र पाठ्यक्रमलाई व्यवहारमुखी बनाउने। तेस्रो, महिलालाई सशक्त बनाउन शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा लगानी बढाउने। चौथो, वैदेशिक रोजगारमा जाने नेपालीहरूको अधिकार र सुरक्षाका लागि कडा कानुनी व्यवस्था गर्ने । पाँचौं, स्रोत–साधनको पारदर्शी व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्ने। र अन्ततः, राजनीतिक पारदर्शिता, जवाफदेहिता र सुशासनमा कुनै सम्झौता नगर्ने ।
शान्ति केवल बन्दुक नचल्दा आउने मौनता होइन; यो न्याय, समानता र अवसरको परिणाम हो। जब हरेक नागरिकले आफ्नो श्रमको मूल्य, आवाजको सम्मान र भविष्यको भरोसा पाउँछ, त्यतिबेला मात्र देश साँच्चिकै ‘शान्ति क्षेत्र’ बन्न सक्छ । नेपालमा शान्ति स्थायी बनाउन संरचना मात्र होइन सोच परिवर्तन पनि जरुरी छ । आत्मपरीक्षण, सुधार र इमानदार नेतृत्व नै बुद्धको देशलाई वास्तविक शान्तिको प्रतीक बनाउन सक्ने आधार हो ।










