नेपाललाई वास्तविक शान्तितर्फ डोर्याउनुपर्ने बाटो

सुरेशकुमार पाण्डे

नेपाललाई ‘शान्तिको देश’ र ‘गौतम बुद्धको जन्मभूमि’ भनेर गर्वका साथ प्रचार गरिन्छ। यो गौरव साँचो हो, तर केवल नारा र भाषणमा सीमित शान्तिले देशलाई स्थायित्व र समृद्धितर्फ डो¥याउन सक्दैन । देशमा वास्तविक शान्ति स्थापना गर्न प्रत्येक नागरिकको चेतना, सरकारको इमानदार नीति, र समाजको सुधारात्मक सोच अपरिहार्य छ ।

नेपालमा हिंसा, विभेद र असमानताको जरा गहिरो छ। घरेलु हिंसा, जातीय विभाजन, लैङ्गिक भेदभाव र पुराना गलत परम्पराले हाम्रो समाजलाई कमजोर बनाएका छन् । महिलाहरू अझै पनि सीप, शिक्षा र अवसरबाट वञ्चित छन् । छाउपडी, बोक्सीको आरोप, र सती प्रथाजस्ता अमानवीय अभ्यासहरू अझै कतिपय ठाउँमा जीवित छन् । यस्तो असमान समाजमा शान्तिको वास्तविक अनुभूति कसरी सम्भव हो ?

देशमा उद्योग–व्यवसायको अभाव, कृषिमा अव्यवस्था र रोजगारीको संकटले युवालाई विदेशी रोजगारतर्फ धकेलेको छ। विदेशमा लाखौँ नेपालीले शारीरिक र मानसिक सास्ती भोगिरहेका छन् । कतिपयले त जीवन नै गुमाएका छन्। तर, राज्यले तिनका अधिकार र सुरक्षाका विषयमा ठोस पहल गर्न सकेको छैन । श्रम सम्झौता र प्रवासी सहयोगका कार्यक्रम कागजमै सीमित छन् ।

नेपाल स्रोत र सम्भावनाले भरिपूर्ण देश हो। जल, वन, खानी र पर्यटन हाम्रो सबलता हो, तर तिनको सदुपयोगको नीति र व्यवस्थापनको अभाव छ। पहाडमा सिंचाइको पहुँच नहुँदा खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ। यही कारण गाउँबाट शहर र विदेश पलायन बढ्दो छ । यदि सरकारले योजनाबद्ध रूपमा साना उद्योग र कृषि आधारित उद्यमलाई प्रोत्साहन दियो भने रोजगारी सिर्जना हुँदै देशको अर्थतन्त्र बलियो बन्न सक्छ ।

राजनीतिक नेतृत्वमा जवाफदेहिता र पारदर्शिता नहुँदा विकास अवरुद्ध छ । नेताहरू सत्तामा पुग्नेबित्तिकै पद र सुविधाको संरक्षणमा रमाउने परिपाटी हटेको छैन । देशका स्रोत र साधनलाई व्यक्तिगत लाभका निम्ति प्रयोग गर्ने प्रवृत्तिले जनविश्वास घटाएको छ । यसरी जब राजनीतिक आचरण जनताको अपेक्षाविपरीत हुन्छ, शान्ति र विकास दुबैको सम्भावना कमजोर बन्छ ।

शान्ति स्थापनाका लागि केही व्यावहारिक कदम आवश्यक छन् । पहिलो, रोजगारी सिर्जना र स्थानीय उद्योगको प्रवर्द्धन । दोस्रो, शिक्षा र पाठ्यक्रमलाई व्यवहारमुखी बनाउने। तेस्रो, महिलालाई सशक्त बनाउन शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा लगानी बढाउने। चौथो, वैदेशिक रोजगारमा जाने नेपालीहरूको अधिकार र सुरक्षाका लागि कडा कानुनी व्यवस्था गर्ने । पाँचौं, स्रोत–साधनको पारदर्शी व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्ने। र अन्ततः, राजनीतिक पारदर्शिता, जवाफदेहिता र सुशासनमा कुनै सम्झौता नगर्ने ।

शान्ति केवल बन्दुक नचल्दा आउने मौनता होइन; यो न्याय, समानता र अवसरको परिणाम हो। जब हरेक नागरिकले आफ्नो श्रमको मूल्य, आवाजको सम्मान र भविष्यको भरोसा पाउँछ, त्यतिबेला मात्र देश साँच्चिकै ‘शान्ति क्षेत्र’ बन्न सक्छ । नेपालमा शान्ति स्थायी बनाउन संरचना मात्र होइन सोच परिवर्तन पनि जरुरी छ । आत्मपरीक्षण, सुधार र इमानदार नेतृत्व नै बुद्धको देशलाई वास्तविक शान्तिको प्रतीक बनाउन सक्ने आधार हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker