गाउँको बारीदेखि हाटबजारसम्मः आँबुखैरेनीको नयाँ पहिचान हाटबजार

पुरानो संस्कृतिको पुनरागमन

तनहुँको आँबुखैरेनी गाउँपालिकामा हरेक शुक्रबार बिहानैदेखि भीड बढ्छ । अमिलबोटे बजार वरिपरि मानिसहरूको चहलपहल, टोकरी बोकेका किसान र अर्गानिक उपज खोज्दै आएका उपभोक्ता-दुवै पक्षलाई एउटै थलोले जोड्छ, आँबुखैरेनी हाटबजार

२०७९ साल फागुनदेखि सुरु गरिएको यो हाटबजार अहिले गाउँको परिचय मात्र नभई किसानको आम्दानी र उपभोक्ताको स्वास्थ्यप्रद स्वादसँग प्रत्यक्ष जोडिएको छ ।

पुजाको कथा : कुहिने उपज अब आम्दानी

ज्यामीस्वाँराकी पुजा मगरलाई हाटबजार सुरु हुनु अघि आफ्नो खेतबारी र वरिपरिका जंगलमा पाइने धेरै उपज खेर जान्थ्यो । सिस्नु, निगुरो, पानी अमला वा सालको पात- बिक्ने सम्भावना नै देख्दिनथिन् ।

“पहिला कुहिएर फाल्थ्यौं, अब भने यहीँ ल्याएर बेच्छौं,” पुजा मुस्कुराउँदै भन्छिन् । अहिले ती उपजले उनको परिवारलाई खाजा खाने बाटो मात्र होइन, जीवनयापन गर्ने आधार बनेका छन् ।

सिताको अनुभव : ‘बाख्राले खाने टाँकी, अब बजारमा अमूल्य’

आँबुगाउँकी सिता श्रेष्ठले यस हप्ता हरियो मकै, मकैको च्याँख्ला, सिस्नुको धूलो र फर्सीको मुन्टा ल्याएकी छन् । बेलुकासम्म सबै सामान सकिन्छ ।

“पहिला सिस्नो काटेर फाल्थ्यौं, टाँकीको मुन्टा त बाख्राले मात्र खान्थ्यो,” उनले सुनाइन्, “अब यही सामानले बच्चाबच्ची पढाउने खर्च चल्छ ।” हाटबजारले सिताजस्ता महिलालाई घरभित्रको श्रमलाई बजारसँग जोड्ने अवसर दिएको छ ।

उपभोक्ताको रहर : गाउँकै स्वाद, अर्गानिक भरोसा

दमौलीबाट नियमित आउने भगवति अधिकारीलाई शुक्रबार कुर्ने बानी बसेको छ । “गाउँतिरको चिसो हावापानीमा फल्ने विषादीरहित तरकारी मिठो मात्र होइन, स्वास्थ्यप्रद पनि हुन्छ,” उनी भन्छिन् ।

अर्का उपभोक्ता राजाराम केसी त हाटबजारलाई ‘हराइसकेका स्वाद भेटिने स्थल’ भनेर चिनाउँछन् । “गिट्ठा, भ्याकुर, निगुरो जस्ता वस्तु अहिले शहरमा खोजेर पाइँदैन । तर यहाँ सहजै पाइन्छ,” उनले उत्साहपूर्वक भने ।

विचौलियामुक्त व्यापार

बरादीका अच्युतप्रसाद वाग्ले माटोको भाँडोमा दही लिएर आउँछन् । पहिला घरघर धाउनुपर्ने उनको समस्या हाटबजारले समाधान गरेको छ । “विचौलिया चाहिँदैन, किसानले आफैं ल्याएर बेच्छ । यसले किसानलाई राम्रो मूल्य दिन्छ, उपभोक्तालाई सस्तोमा सामान पाइन्छ,” वाग्ले भन्छन् ।

तथ्य र प्रभाव

  • सुरुआत : २०७९ साल फागुन तेस्रो साता

  • स्थान : अमिलबोटे बजार, आँबुखैरेनी

  • समय : हरेक शुक्रबार

  • सहभागिता : बेशी र गाउँका किसान, स्थानीय उपभोक्ता, शहरबाट आउने ग्राहक

  • बिक्री हुने सामग्री : तरकारी, फलफूल, सागपात, बाँसका चोयाबाट बनेका सामग्री, माछा–मासु, अर्गानिक मह, रैथाने परिकार, आरनका सामग्री आदि

  • विशेषता : नबिकेका सामान गाउँपालिकाले नै जिम्मा लिएर बिक्री गर्ने व्यवस्था

हाटबजार : गाउँ र बजारबीचको पुल

तनहुँमा बिर्सिंदै गएको हाटबजार संस्कृतिलाई पुनर्जीवन दिँदै आँबुखैरेनी हाटबजारले गाउँलाई बजारसँग जोड्ने पुलको काम गरेको छ । किसानले उत्पादन खेर जान नदिई आम्दानी बनाउन थालेका छन् भने उपभोक्ताले अर्गानिक र रैथाने स्वाद पुनः पाएका छन् ।

हरेक शुक्रबार बिहान अमिलबोटे चोकमा जम्मा हुने चहलपहल अब केवल किनमेलको दृश्य मात्र होइन, गाउँको श्रमलाई सम्मान गर्ने संस्कृतिको पुनरागमन हो ।

आँवुखैरेनी-३ अमिलीबोटमा सञ्चालनमा ल्याइएको हाटबजारमा बिक्री वितरणका लागि राखिएका स्थानीय कृषि उत्पादन । तस्विर : भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker