ठेकेदारको लापरबाहीले बन्दिपुरमा विकास निर्माणका काम अलपत्र

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माणका कामले गति लिन सकेका छैनन् । ठेकेदारको मनपरीले बन्दिपुरका महत्वपूर्ण योजनाहरू अलपत्र परेका छन् ।

गाउँपालिकाले महत्वपूर्ण मानेका योजना नै अलपत्र पारेर ठेकेदार सम्पर्कबिहीन हुँदै आएको गाउँपालिकाले जनाएको छ । बन्दिपुरको पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको मिनी ग्रेटवाल, पृथ्वी राजमार्गदेखि बन्दीपुरसम्मको सडक स्तरोन्नति, कालोपत्रे तथा ढलान, तीनधारा-बाहुन भञ्ज्याङ सडक लगायतका योजनाहरू वर्षौदेखि अलपत्र परेका छन् ।

गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जिनियर सन्तोष थापाका अनुसार थानीमाईदेखि मुकुन्देश्वरी डाँडोसम्म मिनी ग्रेटवाल लगाउन २०७८ सालको असोजमा सम्झौता भएको हो । बन्दिपुर बजारदेखि माथि थानिमाई मन्दिर रहेको ठाउँबाट अर्को डाँडो मुकुन्देश्वरीसम्म चीनको ग्रेटवालजस्तै देखिने गरी मिनी ग्रेटवाल बनाउने योजना गाउँपालिकाको हो । यसले बन्दिपुर पुग्ने पर्यटकहरूलाई आकर्षण गर्ने ठानेर पर्यटन मन्त्रालय र गाउँपालिकाले लगानी गरेका थिए ।

पाल्पाका राजा मुकुन्द सेनले राज्य विस्तार गर्दै जाँदा यहाँ पनि दरबार बनाएको इतिहास भेटिन्छ । ‘हामीले धार्मिक र ऐतिहासिक स्थललाई जोड्ने गरी मिनी ग्रेटवाल बनाउन खोजेका हौं’, गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले भने, ‘बन्दिपुर घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएपनि कामले गति नलिदा अलपत्र जस्तै बन्न पुगेको छ ।’

संघीय पर्यटन मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत लगानीमा १२ सय ५० मिटर लामो मिनी ग्रेटवाल बनाउने काम अघि बढाइएको थियो । यहाँ दुइतर्फ ढुंगाको पर्खाल लगाउने, भुइँ र पर्खालमा ढुंगाको प्लेट टाँसेर आकर्षक बनाउने योजना थियो ।

यस्तै डाँडाको फेदीमा रहेको भानु माध्यमिक विद्यालयदेखि टुप्पोसम्म तीन सयवटा बत्ती राख्ने योजना थियो । कुल लागत पाँच करोड अनुमान गरिएको योजनाको ठेक्का काठमाडौंको धर्म एस कश्यप जेभीले तीन करोड ६९ लाख रुपैयाँमा पार्‍यो । यो योजनाका लागि उक्त कम्पनीका धर्मराज तामाङले कश्यप कन्स्ट्रक्सनका माधव घिमिरेलाई अख्तियारी दिएका थिए ।

२०७९ फागुन ३० गतेभित्रमा सक्नुपर्ने योजनाको अहिलेसम्म करिब १२ प्रतिशत मात्रै काम भएको इन्जिनियर थापाले बताए। ‘म्याद थपका लागि निवेदन दिएका छन् तर थप गरिएको छैन । २० प्रतिशत पेश्की लगेको थियो, त्यो फिर्ता गरियो,’ थापाले भने ।

गाउँपालिकाका अध्यक्ष थापाले ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गर्न लागेको बताए । यो योजना ठेक्कामा लाग्नुअघि उपभोक्ता समितिले ३० लाख रूपैयाँ लागतमा पर्खाल लगाएका थिए ।

कश्यप कन्स्ट्रक्सनले नै ठेक्का पारेको पृथ्वी राजमार्गको बन्दिपुर गेटदेखि बन्दिपुर गाउँपालिकाको कार्यालयसम्मका विभिन्न खण्डहरू स्तरोन्नति, कालोपत्रे र ढलानको काम पनि लामो समयदेखि अलपत्र छ ।

संघीय सममूरक अनुदान अन्तर्गत सडकको तीन खण्ड छुट्टाएर ठेक्का लगाइएको थियो । राजमार्गदेखि गुरूङटार जाने चोकसम्म ९ सय मिटर सडकको स्तरोन्नति यो योजनामा थियो । हाल तीन मिटर चौडाइको कालोपत्रे सडकलाई सात मिटरको बनाउने लागिएको हो । यसको अर्को खण्ड बन्दिपुर बजार नजिकैको हो ।

यहाँ पनि नौ सय मिटर खण्डको स्तरोन्नति गर्नुपर्ने थियो । तेस्रो खण्ड बजारको चौतारो चोकबाट गाउँपालिकाको भवनसम्मको सडक ढलान गर्ने हो । ३४० मिटर लामो सडकलाई सात मिटर चौडाइमा ढलान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

एक वर्षभित्र सक्नेगरी २०७८ वैशाख २८ गते यो सम्झौता भएको हो । समयमा काम नसकेपछि गत पुससम्म म्याद थप गरिएको थियो । तर त्यो अवधिमा पनि काम नगरी माधव घिमिरे नामका ठेकेदारले पुनः म्याद थपका लागि निवेदन दिएका छन् ।

इन्जिनियर थापाकाअनुसार ९/९ सय मिटर सडक स्तरोन्नति गर्नुपर्ने ठाउँमा नाला बनाउने र रिटेनिङ वाल लगाउने काम मात्र भएको छ । गाउँपालिकासम्मको सडक ढलानका लागि बिच्छाइएको रड खिया लागेको छ । निर्माणाधीन सडक झाडी बन्न थालेको छ । सोही कम्पनीले जिम्मा पाएको तीनधारा-बाहुनभञ्ज्याङ सडकको काम पनि अलपत्र छ ।

‘सबै योजनाहरू अलपत्र पारेर ठेकेदारले मनोमानी गरिरहेको छ । बारम्बार ताकेता गर्दा पनि काम नगरेर हैरान बनाएका छन् । अब हामी ठेक्का सम्झौता रद्द गरेर ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्र्छौं’, गाउँपालिका अध्यक्ष थापाले भने, ‘यी योजनाहरू जसरी पनि सम्पन्न गर्न गाउँपालिका लाग्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker