विद्युतीय चिकित्सा अभिलेख सुरु भएपछि वार्षिक २० लाख खर्च कटौती हुने

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएपछि वार्षिक रु २० लाख खर्च कटौती हुने भएको छ ।

विश्वस्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि वार्षिक करिब रु २० लाख खर्च कटौती हुने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो प्रणाली सुरु भएसँगै एक्स–रे खिचिएपछि त्यसको रिपार्ट चिकित्सकको कम्प्युटरमा हेर्न सकिनेछ, अहिलेलाई बिरामीले अन्यत्र लैजान एक्स–रे फिल्म माग्नुभएको अवस्थामा एक्स–रे फिल्म दिइराखेका छौँ, अन्यत्र अस्पतालमा यो प्रणाली लागू भएको अवस्थामा पेनड्राइभको व्यवस्था गर्नेछौँ ।”

श्रेष्ठले यो प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, रिपोर्ट, औषधि लगायतको विवरण अनलाइन प्रणालीमार्फत जानकारी लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ, एक्स–रे रिपोर्ट प्रिन्ट गर्नु पर्दैन, एक्स–रे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न सहज हुनेछ ।”

यो प्रणाली सुरु भएसँगै टिकट काउन्टर, ल्याबमा कामको भार धेरै नै कम भएको उहाँको भनाइ छ । यस प्रणालीबाट बिरामीको उपचारमा कम त्रुटि हुने र स्वास्थ्यकर्मीको समय कागजी कामभन्दा उपचारमा बढी केन्द्रित हुने, नीति योजना र अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको डा श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा बिरामी आउनेबित्तिकै क्युआरसहितको कार्ड प्रदान गरिनेछ । ओपिडी गएपछि कम्प्युटरमा दर्ता भएलगत्तै विवरण सबै चिकित्सकको कम्प्युटरमा पुगिसकेको हुन्छ । उहाँले भन्नुभयो, “कुन डाक्टरले कति बिरामी जाँच गर्नुभयो, दिनमा कति आम्दानी भयो भन्ने पनि अब कम्प्युटरमै हेर्न सकिने भएको छ ।”

विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक सर्वेक्षणपश्चात् रु ३३ लाख २७ हजार ७९३ को उपकरण सहयोग गरेको थियो । त्यसअनुसार गत जेठ १४ गते यो प्रणालीको परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “सुरुका दिनमा केही समस्याहरु देखिए, यो प्रणाली सुरु गर्दा देखिएका समस्या विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक टोली र अस्पतालको टोलीबाट क्रमशः सुधार हुँदै गएको छ, हाम्रा जनशक्ति पनि क्रमशः अभ्यस्त हुँदै गइरहेका छन् ।”

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखाला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको डा श्रेष्ठले बताउनुभयो ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ ।रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker