ऐतिहासिक र पर्यटकीय क्षेत्र गलेखामकोटको प्रवर्द्धनमा स्थानीयवासी एकजुट

दमौली : सदरमुकाम दमौलीबाट नजिक भएर पनि ओझेलमा परेको गलेखामकोटको प्रचारप्रसारका लागि युवा कस्सिएका छन् । गलेखामकोटको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थानीय यस ठाउँको विकासमा जुटेका हुन् ।

गलेखामकोट समुन्द्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ ।

पृथ्वीराजमार्ग अन्तर्गत कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीयस्थल गलेखामकोट । कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

आधाजसो पक्की र आधाजसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् । कुनै बेला मगर राजाले राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रवर्द्धनमा जुटिरहेको वडाध्यक्ष जीवन गुरुङले बताए ।

स्थानीय बाह्रबिसे युवा क्लवका अध्यक्ष ज्ञानबहादुर गुरुङले स्थानीयवासी नकस्सिए यस ठाउँको विकास हुन नसक्ने बताए । यस ठाउँको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यसहित क्लवको आयोजनामा गत बुधबार अल्ट्रा हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरी म्याराथनमा ३५ धावक सहभागी थिए । म्याराथनले गलेखामकोटको प्रचारप्रसारमा सहयोग पुगेको उनको भनाइ छ ।

दुई धार्मिक तथा पर्यटकीयस्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सहित हाफ म्याराथन आयोजना गरिएको उनले उल्लेख गरे ।

व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले गलेखामकोटको प्रचारप्रसार र प्रवर्द्धन गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्ने बताए । उनले भने, “यहाँ होमस्टे सञ्चालनमा छन् । पर्यटक भित्र्याउन सकिए स्थानीयको आयआर्जनमा टेवा पुग्छ । यसका लागि हामी लागिपरेका छौँ ।”

गलेखामकोटबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ । गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ ।

गलेखामकोटमा भ्युटावर बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतको हिमश्रृङ्खला देख्न सकिन्छ ।

गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादसैँको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker