सामूहिक खेतीमार्फत विपन्नको आयआर्जन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जन माध्यम बनाएको छ ।
सहकारीले वि.सं. २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न वर्गलाई खेतीका लागि अधियाँ गर्न जमिन खोज्नुपर्ने बाध्यता हटेको छ । सहकारीले भाडामा लिएको जग्गामा स्थानीयवासीले मौसमअनुसार धान, मकै, आलु लगायतका खेती गर्दै आएको सहकारीले जनाएको छ ।
सहकारीले स्थानीय अति सीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न वर्गको आयस्तर बढाउन सामूहिक खेतीमा जोडेको छ । वडा कार्यालयले विपन्न वर्गको आयआर्जनसँग जोड्न र वृद्धि गराउने उद्देश्यले सार्वजनिक जग्गा १० वर्षको लागि निःशुल्करुपमा प्रयोग गर्न दिएपछि सामूहिक खेती थालिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । उक्त जग्गामा पाँच वर्षदेखि विपन्न वर्गले मौसमअनुसारको खेती गरिरहेका छन् ।
वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि ७० हजार रुपैयाँमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताए । सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामूहिक खेतीका लागि सहज बनाउन नगरपालिकाले करिब १७ लाख रुपैयाँको ट्रयाक्टर सहयोग गरेको अध्यक्ष शर्माले बताए । कृषि क्रान्ति गर्न सामूहिक खेती गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने योजना सहकारीले बनाएको छ ।
चरन क्षेत्रलाई जग्गा बनाएर स्थानीय उपभोक्तालाई उत्पादनसँग जोडी प्रयोगमा ल्याउने उद्देश्यले भेला राखेर सहकारीमार्फत खेती गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । ‘बाँझो जमिनमा खेती गर्नु जमिनको पहुँच नहुने कृषकको लागि फलदायक भएको छ’, उनले भने, ‘सहकारीको सदस्य बनाउने र जसको जमिन छैन उसलाई समूह बनाएर जमिन उपभोग गरिएको छ, मेरो जग्गा छैन मैले काम गरी खान पनि पाइन भन्ने चिन्ता सहकारीले सामूहिक खेतीमार्फत हटाउन प्रतिबद्ध भएको छ ।’
यहाँका विपन्न वर्गले उत्पादन गरेका खाद्य वस्तु स्थानीय बजारमा नै खपत हुने गरेको छ । सहकारीमा सम्बद्ध भएका कृषकले आफूलाई बढी हुने भएपछि बिक्रीका लागि पठाउने र उनीहरुको आयस्तरमा वृद्धि हुँदै आएको सहकारीले जनाएको छ ।
यस्तै, सहकारीमार्फत गरिएको सामूहिक खेतीबाट उत्पादित पराल र घाँस सोही ठाउँस्थित शिवालय गौ संरक्षण केन्द्रमा उपभोग हुँदै आएको छ । केन्द्रले गाईको मल तथा मूत्र खेतीमा उपयोग गर्न दिने र त्यसबाट उत्पादित घाँस र पराल गाईलाई उपलब्ध गराउने गरेको छ । अध्यक्ष शर्माका अनुसार, ‘रासायनिक मल प्रयोग नगरी गौ संरक्षण केन्द्रमा रहेका गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फष्टाएको छ र रोग पनि लागेको छैन ।’ निम्न आय भएका कृषकलाई सहकारीमा आबद्ध गराएर आयवृद्धि गर्न विभिन्न तरकारी, धान, माछा पोखरी सहकारीले निर्माण गरेको छ ।
त्यस्तै, सोही जग्गाभित्र सहकारीले कृषक समूहको आय वृद्धि गर्न नौ वटा माछा पोखरी निर्माण गरेको छ । एक कृषक समूहलाई एक माछापोखरी पर्ने गरी माछा पनि सामूहिक रुपमा पालन गरिएको छ । नौ वटा माछा पोखरीबाट वार्षिकरुपमा दुइ लाख रुपैयाँ बराबरको माछा बिक्री गर्ने गरिएको छ ।
विपन्न समुदाय सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी लिन थालेको सहकारीले जनाएको छ । सहकारीमा ११० जना आबद्ध छन् । सहकारीले आफ्नो जमिन नभएका विपन्नको लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरी लागत घटाउन गाउँका सबैलाई सामूहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ ।










