सामूहिक खेतीमार्फत विपन्नको आयआर्जन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जन माध्यम बनाएको छ ।

सहकारीले वि.सं. २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न वर्गलाई खेतीका लागि अधियाँ गर्न जमिन खोज्नुपर्ने बाध्यता हटेको छ । सहकारीले भाडामा लिएको जग्गामा स्थानीयवासीले मौसमअनुसार धान, मकै, आलु लगायतका खेती गर्दै आएको सहकारीले जनाएको छ ।

सहकारीले स्थानीय अति सीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न वर्गको आयस्तर बढाउन सामूहिक खेतीमा जोडेको छ । वडा कार्यालयले विपन्न वर्गको आयआर्जनसँग जोड्न र वृद्धि गराउने उद्देश्यले सार्वजनिक जग्गा १० वर्षको लागि निःशुल्करुपमा प्रयोग गर्न दिएपछि सामूहिक खेती थालिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । उक्त जग्गामा पाँच वर्षदेखि विपन्न वर्गले मौसमअनुसारको खेती गरिरहेका छन् ।

वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि ७० हजार रुपैयाँमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताए । सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामूहिक खेतीका लागि सहज बनाउन नगरपालिकाले करिब १७ लाख रुपैयाँको ट्रयाक्टर सहयोग गरेको अध्यक्ष शर्माले बताए । कृषि क्रान्ति गर्न सामूहिक खेती गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने योजना सहकारीले बनाएको छ ।

चरन क्षेत्रलाई जग्गा बनाएर स्थानीय उपभोक्तालाई उत्पादनसँग जोडी प्रयोगमा ल्याउने उद्देश्यले भेला राखेर सहकारीमार्फत खेती गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । ‘बाँझो जमिनमा खेती गर्नु जमिनको पहुँच नहुने कृषकको लागि फलदायक भएको छ’, उनले भने, ‘सहकारीको सदस्य बनाउने र जसको जमिन छैन उसलाई समूह बनाएर जमिन उपभोग गरिएको छ, मेरो जग्गा छैन मैले काम गरी खान पनि पाइन भन्ने चिन्ता सहकारीले सामूहिक खेतीमार्फत हटाउन प्रतिबद्ध भएको छ ।’

यहाँका विपन्न वर्गले उत्पादन गरेका खाद्य वस्तु स्थानीय बजारमा नै खपत हुने गरेको छ । सहकारीमा सम्बद्ध भएका कृषकले आफूलाई बढी हुने भएपछि बिक्रीका लागि पठाउने र उनीहरुको आयस्तरमा वृद्धि हुँदै आएको सहकारीले जनाएको छ ।

यस्तै, सहकारीमार्फत गरिएको सामूहिक खेतीबाट उत्पादित पराल र घाँस सोही ठाउँस्थित शिवालय गौ संरक्षण केन्द्रमा उपभोग हुँदै आएको छ । केन्द्रले गाईको मल तथा मूत्र खेतीमा उपयोग गर्न दिने र त्यसबाट उत्पादित घाँस र पराल गाईलाई उपलब्ध गराउने गरेको छ । अध्यक्ष शर्माका अनुसार, ‘रासायनिक मल प्रयोग नगरी गौ संरक्षण केन्द्रमा रहेका गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फष्टाएको छ र रोग पनि लागेको छैन ।’ निम्न आय भएका कृषकलाई सहकारीमा आबद्ध गराएर आयवृद्धि गर्न विभिन्न तरकारी, धान, माछा पोखरी सहकारीले निर्माण गरेको छ ।

त्यस्तै, सोही जग्गाभित्र सहकारीले कृषक समूहको आय वृद्धि गर्न नौ वटा माछा पोखरी निर्माण गरेको छ । एक कृषक समूहलाई एक माछापोखरी पर्ने गरी माछा पनि सामूहिक रुपमा पालन गरिएको छ । नौ वटा माछा पोखरीबाट वार्षिकरुपमा दुइ लाख रुपैयाँ बराबरको माछा बिक्री गर्ने गरिएको छ ।

विपन्न समुदाय सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी लिन थालेको सहकारीले जनाएको छ । सहकारीमा ११० जना आबद्ध छन् । सहकारीले आफ्नो जमिन नभएका विपन्नको लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरी लागत घटाउन गाउँका सबैलाई सामूहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker