नेपाल निजामती कर्मचारी संगठन तनहुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल निजामती कर्मचारी संगठन तनहुँले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । संगठन तनहुँका अध्यक्ष रुद्र सिंह ठकुरीको नेतृत्वमा गएको टोलीले संगठनका आधिकारिक पदाधिकारी सदस्यहरुलाई कार्यालयभित्रैबाट पक्राउ गरी, प्रहरी प्रशासनले कृतिम विवादको बहाना बनाई कार्यालयमा तालाबन्दी गरेकोप्रति आपत्ति र भर्त्सना गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो ।
कर्मचारीका समस्याहरु समाधानमा लाग्नुपर्नेमा संगठनका नाममा केही अमूक र अनाधिकृत व्यक्तिहरु विभिन्न जालझेल गर्नमै व्यस्त रहेको भन्दै ज्ञापन पत्रमा कुण्ठा र पूर्वाग्रहले संगठन विरोधी क्रियाकलाप गर्न उद्दत रहेका अराजक झुण्डले यही असोज ४ गते नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा उछृंखल नाराबाजी गर्ने, संगठनको व्यानर र झण्डा च्यात्ने, ढुंगामुडा गर्ने जस्ता अपराधिक कार्य गर्नेलाई कानूनी कारवाही गर्नुको सट्टा उल्टै संगठनका आधिकारिक पदाधिकारी सदस्यहरुलाई कार्यालयभित्रैबाट पक्राउ गरीको भनिएको छ ।
अध्यक्ष ठकुरीद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्यलयमा सरकारी पक्षबाट लगाइएको ताला तत्काल खोली संगठनको दशौ राष्ट्रिय अधिवेशन २०७३ मंसिर २७-२९ बाँकेबाट विधान सम्मत निर्वाचित पदाधिकारी, सदस्यहरुलाई सहज कामकाज गर्ने वातावरण बनाई दिन प्रधानमन्त्रीसंग अनुरोध गरिएको छ ।
संगठनको यस अनुरोधलाई बेवास्ता गरिए थप आन्दोलनको कार्यक्रम गर्न संगठन बाध्य हुने र यसबाट सृजित परिणामको जिम्मेवार सरकार स्वयं हुने ज्ञापनपत्रमा भनिएको छ । यस्तै, निजामती कर्मचारीहरुले प्राप्त गर्नुपर्ने संघीय, प्रदेश र स्थानीय तहका कानून बन्न नसक्दा धेरै विषय प्रभावित भएका र कर्मचारी समायोजनका समस्याले आमकर्मचारी पीडित भएको भन्दै यस तर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।










