शिक्षक एकनारायणको ‘निरुत्तर’ उपन्यास विमोचित

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक एकनारायण भण्डारीको पहिलो उपन्यास ‘निरुत्तर’ विमोचन गरिएको छ ।
शिक्षक भण्डारीले बन्दाबन्दीको सदुपयोग गर्दै सृजना गरेको कृति शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले विमोचन गरेका थिए । ‘निरुत्तर’ उत्तरसहितको समाजको यथार्थ भएको चर्चा गर्दै आचार्यले यसले वर्तमान समाजलाई परिवर्तन गर्न अवश्य सघाउने विश्वास व्यक्त गरे ।

वाराही साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै आख्यानकार दीपक समिरले पूर्वीय सभ्यतालाई समेटेको उपन्यासले गलत बाटामा लागेकाहरुलाई सचेत गराउने बताए ।
विसं २०४८ देखि नेपाली विषय शिक्षण पेशामा आबद्ध भण्डारीका फुटकर सिर्जना विभिन्न पत्रपत्रिकामा प्रकाशन हुँदै आएका थिए । अब निरुत्तर-२, ढुंगा मान्छेहरु -कवितासंग्रह) र मुक्तकसंग्रह प्रकाशनको तयारीमा रहेको उनले बताए ।
माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण
जो आयो तर बर्सिइ घनघटा कालोनिलोबाट यो
जे जे ल्याउँछ सो बिनी बिनी लिने सौजन्यको सौख हो ।
त्यस्तै, लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा कृति सार्वजनिक गरेका शिक्षक भण्डारीले भने, ‘बेनामको यात्राबाट नामको यात्रामा लकडाउनले डोर्यायो । धेरै कुरा भनिसकेको छु । आज मिति २०७७/०७/२९ गतेका दिन पञ्चमुदेव मावि शुक्लागण्डकी नगरपालिका-४ तनहुँको सभाकक्षमा आयोजित एक कार्यक्रमका बिच “निरुत्तर” कोरोना साहित्य -उपन्यास)को विमोचन कार्य सम्पन्न भयो ।’

उनले विमोचन कार्यक्रममा सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षक, विभिन्न तह र तप्कामा रहेर भाषा, साहित्य र समाजसेवामा लाग्नुहुने सम्पूर्ण अतिथिमा धन्यवाद व्यक्त गरेका छन् ।










