सुर्खेत, पर्यटन इतिहास र संस्कृति

के.बि. मसाल

पर्यटनमा इतिहास र संस्कृति धेरैको रुचिको बिषय हुन्छ । इतिहास बितेका सत्यतथ्य घटनाहरुको यथार्थ विवरण हो। इतिहास निरन्तर खोज र अनुसन्धानको विषय बन्दछ । पर्यटनमा महत्वपूर्ण स्थलहरुको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन अवलोकन हुन्छ। पर्यटनबाट नै पर्यटकहरुले ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सक्दछन । पर्यटकहरु जुन ठाउमा पुगे पनि इतिहास र संस्कृतिका कुराहरु खोज्दछन । पर्यटकहरुको यात्राको उद्देश्य खोज अनुसन्धान र मनोरञ्जनमा रमाउने हुन्छ । इतिहासको खोजले पर्यटकहरु पुगेको ठाउँको बारेमा धेरै कुरा अध्यन गर्न सक्दछन ।

सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी र जिल्लाको सदरमुकाम पनि हो । सुर्खेत उपत्यका महाभारत र चुरे श्रृंखलाको बिचमा पर्दछ। इतिहासको पाना पल्टाउने हो भने सुर्खेत तत्कालिन बाईसे चौबिसे राज्यको समयमा दुल्लु राज्य अन्तरगत थियो । त्यस पछि पनि सुर्खेत २०१६ साल भन्दा पहिला दैलेखमा थियो। बिगतमा सुर्खेतलाई बाह्र बण्डाल १८ खण्डालको नाम समेतले चिन्ने गरिन्थो । अर्को तर्फ सुर्खेतलाई दोभान चौरका रुपमा समेत परिचित थियो । पछि सुर्खेत नाम हुनुमा बिभिन्न लोककथा र तर्क पाइन्छ । आदिम कालमा सुर्खेत उपत्यका जलाशय थियो । सुर नामका देबताले उपत्यकाको पानी अहिले वीरेन्द्रनगर ९ को चादनीचोकबाट निकास गरी भेरीमा मिसाए पछि बस्ति बसालेका हुन भन्ने लोककथा छ । सुर्खेतलाई भेरी र कर्णाली नदीले सुरक्षित राखेकाले सुर्खेत रहन गएको भन्ने तर्क पनि छ । अर्को तर्फ सुर्खेत उपत्यकामा सिरुको झार धेरै भएकोले सुर्खेत नाम रहन गएको भन्ने पनि छ । सुर्खेत सल्यान, जाजरकोट, दैलेख, अछाम, कैलाली र वर्दियाको बिचमा रहेको छ ।

सुर्खेत उपत्यकामा औलो उन्मूलन भएपछि बि.सं. २०२३ सालमा पुरानो सदरमुकाम गोठीकाडाबाट कर्यालयहरु वीरेन्द्रनगरको चौवानचौरमा सारिएको थियो। त्यसपछि २०२३ सालमा अञ्चलाधीश रामबहादुर रावलले युवराज वीरेन्द्रको नामबाट वीरेन्द्रनगर नामाकरण गरेका हुन। युवराजको नामबाट नामाकरण भएको नेपालकै पहिलो सदरमुकाम र पहिलो शहर पनि हो । नेपालमा नगर पञ्चायतको संख्या थप्ने क्रममा २०३३ सालमा विरेन्द्रनगर उन्नाइसौं नगर पञ्चायत हो। बि.सं. २०२९ सालमा सुर्खेतलाई तत्कालीन राजा वीरेन्द्रले नगर विकास स्थापना गर्न आदेश दिएका थिए । राजा वीरेन्द्रले आफ्नो शुभ राज्यभिषेकको अवसर पारी सुर्खेतलाई मध्यपश्चिम विकास क्षेत्रको घोषणा गरेका थिए। सुर्खेत जिल्ला राजा विरेन्द्रलाई मन परेको जिल्ला मानिन्थो ।

देश भ्रमणको समयमा राजा वीरेन्द्र सुर्खेत आउने क्रममा सुर्खेत क्षेत्रमा भएका मठ मन्दिर ऐतिहासिक स्थलहरु को संरक्षण र सम्बद्र्धन गर्ने सुर्खेतमा भएका सरकारी कार्यालयहरुलाई निर्देशन दिने गर्दथिए । सुर्खेत र वर्दिया जिल्लाको सिमानामा पर्ने चुरे श्रृंखलाका छिन्चु लेखपराजुल, हरिहरपुर, तरंगा, तातापानी समेत राष्ट्रिय निकुञ्जले छोएको छ । सुर्खेत अहिले ४ गाँउपालिका र ५ नगरपालिका गरी कुल ९ स्थानीय तहहरुमा बिभाजन भएको छ । बिरेन्द्रनगर, भेरिगंगा, लेकबेसि, गुर्भाकोट र पञ्चपुरी नगरपालिका हुन भने चौकुने, बराहताल, चिङ्गाड सिम्ता समेत ४ गाउँपालिका पर्दछ ।

खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरुको लागि सुर्खेतमा घुम्ने ठाउ धेरै छन । सुर्खेत घुम्दा प्याकेज कार्यक्रम मिलायर जादा राम्रो हुन्छ । पर्यटकहरुले यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । पर्यटनको प्याकेजमा कतिजना जाने, कति दिनको घुम्ने ? पदयात्रा गर्ने कि नगर्ने ? कुन–कुन ठाउँमा बास बस्ने ? र यसका लागि कति रकम आवश्यक पर्दछ भन्ने कुरा तय हुन्छ । प्याकेजमा घुम्न जादा यात्रामा सजिलो मात्र हुने होइन खर्च र समयमा समेत बचत हुन्छ । सुर्खेत प्राकृति, धार्मीक र ऐतिहासिक दृष्टिले पनि पर्यटनका लागि महत्वपुर्ण मानिन्छ । पर्यटकहरुले घुम्ने ठाउँको छनौट गर्दा सडक मार्ग छ छैन भन्ने कुरालाई पहिलो प्राथमिकता दिने गर्दछन । जुन स्थानमा छिटोछरितो र सहज ढंगले पुग्न सकिन्छ धेरै पर्यटकहरुले त्यस्ता ठाउँहरुलाई महत्व दिने गर्दछन । किनभने पर्यटकहरु आफ्नो फुर्सद निकालेर घुम्न निस्किएका पर्यटकहरुले छोटो समयमा धेरै ठाउँ पुग्ने चाहाना राख्दछन । सुर्खेतमा आजभोली प्रायः सबै गाउँमा सडक सञ्जाल जोडिएको छ। सुर्खेत घुम्नको लागि पर्यटकहरुले साना निजी सवारी साधान प्रयोग गर्दा सजिलो, यात्रा छिटो र आफ्नो समय पनि हुन्छ । सुर्खेतमा पुग्ने धेरै पर्यटकहरुले बुलवुलेताल, घण्टाघर, काँक्रेविहार, देउतीबज्यै, बराह ताल लगायतका स्थलहरु पुग्ने गर्दछन ।

सुर्खेत पुगेपछि पर्यटकहरु बुलबुले ताल नपुग्ने कोहि हुँदैनन् । पर्यटकहरुले बुलबुले ताल हेर्ने र त्यसको महत्वको बारेमा अध्यन गर्न खोज्दछन् । सुर्खेतको बुलबुले ताल बीरेन्द्रनगरको पहिचान हो। बुलबुले ताल जमिनबाट बुलबुल गर्दै लगातार निस्कने पानीलाई संकलन गरी बनाइएको कृत्रिम ताल हो । बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । तालमा प्रवेश गर्ना साथ आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । उद्यानमा आनन्दसँग बस्न चाहने पर्यटकहरुका लागि बुलबुलेको उद्यानको पार्क रोजाइमा पर्दछ। बुलबुले उद्यान भित्र चिल्ड्रेन पार्क, डुङ्गा, पिपलपानी हाल्ने स्थान, र पिकनिक स्थल निर्माण भएको छ । बुलबुले ताल बि.स २०३० सालमा राजा बीरेन्द्रको सुर्खेत भ्रमणका क्रममा राजाकै निर्देशनमा ताल र उद्यान निर्माण गरिएको थियो । बुलबुले तालमा नुहाउन र लुगा धुनका लागि १० वटा धारा बनाइएको छ ।

वीरेन्द्रनगरको चौकबाट तीन किलोमिटर दक्षिण लाटीकोईलीको जंगल भित्र रहेको काक्रिविहार ऐतिहासिक स्थल हो । काक्रिविहरमा रहेको शिखर शैलीको बौद्ध बिहार सम्भवतः नेपालको सबै भन्दा ठूलोे मानिन्छ । १३औँ शताब्दीमा काँक्रेविहारको निर्माण भएको अनुमान छ। तर, यसको आधिकारिक तथ्य भने भेटिएको छैन । काँक्रेविहार बि.सं. १८९० को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । पछि २०५७ देखि पुरातत्व विभागले काँक्रेविहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरुलाई मिलाएर पुनर्निर्माण गरेको छ । काँक्रेविहारमा पुग्दा पर्यटकहरुले दोस्रो लुम्बिनीका रुपमा लिने गर्दछन । काँक्रेविहारको भग्नावशेष हेर्दा उत्कृष्ट शिल्पकारी कालिगडले विभिन्न आकारमा रहेका ढुंगामा विभिन्न प्रकारका बुट्टाहरु कुँदेको देखिन्छ । जंगलभरि यस्ता बुट्टाहरु कुँदिएका ढुंगा भेटिन्छन । पुरातात्विक स्थानहरु मन पराउने पर्यटकहरुका लागि काँक्रेबिहार खुला संग्रहालय हो ।

सुर्खेत पुगेपछि पर्यटकहरु देउती बज्यै पुग्नै पर्ने हुन्छ । सुर्खेतको देउती बज्यै प्रख्यात धार्मीम स्थल हो । देउती बज्यैको प्रसग राजी जातीसंग जोडिन्छ । देउती बज्यैको मन्दीर वीरेन्द्रनगर बजारदेखी २ किलोमिटर पूर्व पट्टी पर्दछ । देउती बज्यैको मन्दिरमा राजी जातीका पुजारी छन । मन्दिरमा दैनीक पुजा अर्चना मात्र नभएर नया बर्ष, विजयादशमी, राम नवमी र शनिवारका दिन विशेष भीड लाग्ने गर्दछ । राजी जाती सुर्खेतको आदिवासी जनजाती हुन । भनिन्छ सातौ शताव्दी तिर सुर्खेतमा राजी जातीहरुको राज्य थियो । राजीको राज्य अन्य राज्यबाट आक्रमणमा राजी पराजित भए । राज्य गुमाए पछि जगल पसेर कन्दमूल खोज्ने नदीमा माच्छा मारेर जीवन निर्बाह गर्न थाले । नदीमा जाल खेलिरहेका बखत नदीले बगाएर ल्याएको कन्या जालमा प¥यो। जालमा परेको कन्यालाई राजीले आफ्नो घरमा पालेर हुर्काए । ठूलो भएपछि बिहे गरिदिन लाग्दा कन्याले अग्नीमा प्रवेश गरेर देहत्याग गरिन भन्ने लोककथा छ । देहत्याग गरेकी कन्याले राजीलाई सपनामा आफु गंगामाला देवीको रुप धारणा गरेको बताईन । गंगामालाको सात दिदी बहिनी रहेछन । सात दिदी वहिनी मध्य केशमाला–सल्यानको कालीमाटीमा, रतनमाला–गोच्चे पोखरा सुर्खेतमा, रुद्रमाला–दहचौर सुबाघाटमा, चतुरमाला–कल्याणमा, चौमाला–बबै गुठी बर्दिया, गंगामाला नयांँगाउं पिपिरामा भएको विस्वास गरिन्छ ।

सुर्खेत पुग्ने पर्यटक गढी सिद्धपाइला पुग्नै पर्दछ । वीरेन्द्रनगरको ऐतिहासिक गढी, रातानांग्ला, सिद्धपाइला मन्दिर, लादे भ्यू टावर, भोटेगढी, बटुक भैरव मन्दिरजस्ता स्थल घुम्न छुटयो भने पर्यटकहरु पछुताउनु पर्दछ । बयलकाँडादेखि सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । बयलकाँडा पुरातात्विक तथा ऐतिहासिक हिसावले पनि महत्वपुर्ण स्थल हो । सुर्खेत बजारबाट गाडीमा ३० मिनेटमा पुग्न सकिने गढीमा पुगेपछि पर्यटकहरु रमाउछन् । सुर्खेत जादा जिल्लाको सबै ठाउ पुग्न नसके पनि पर्यटकहरु बिरेन्द्रनगरको काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, घण्टाघर, पातल दरबार, शहिद पार्क, भानु स्मृति पार्क, भाइरल रोडजस्ता क्षेत्रहरुमा धेरै पर्यटकहरु पुग्ने गर्दछन । आजभोली कर्णालीको इतिहास र संस्कृतिलाई समेटेर राखिएको संग्रहालयमा पनि पर्यटकहरु पुग्दछन । कर्णालीको परम्परागत लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संग्रहालयले पर्यटकहरुले ऐतिहासिक कुराहरु अध्यन गर्न सक्दछन । संग्रहालयमा मगर, थारु, राउटे, कुमालको संस्कृति झल्को दिने गरगहना, परम्परागत भाडावर्तन, ऐतिहासिक हातहतियार, नापतौलका र ऐतिहासिक मुद्रा राखिएको छ ।

सुर्खेत पर्यटनका लागि धेरै सम्भावनाहरु रहेका छन्। संस्कृति, पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले सुर्खेत धनी छ । सुर्खेतमा जादा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजना अवलोकन गर्न पनि पर्यटहरु पुग्ने गर्दछन् । नेपालमै पहिलोपटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिबीएमले सुरुङबाट भेरी नदीको पानी बबईमा खसाल्ने बहुउद्देश्यीय आयोजना सुर्खेतमा निर्माणाधिन छ । आयोजनाले बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा र ४८ मेगावाट विद्युत उत्पादन हुने छ । सुर्खेतमा पर्यटकहरु रमाउने सांस्कृतिक र ऐतिहासिक सम्पदा पश्चिम क्षेत्रमा धेरै छन । वीरेन्द्रनगरबाट ७५ किलोमिटर पश्चिममा पञ्चपुरीमा चमेरे गुफा पर्दछ । गुफा निकै आकर्षक छ भने गुफाभित्र चमेराहरुको बासस्थान रहेको छ। सुर्खेत जादा चमेरे गुफा पुग्दा राम्रो हुन्छ । पञ्चपुरीमा पर्यटनका लागि जाजुरा दह पनि छ । यसैगरी वीरेन्द्रनगरबाट ४५ किलोमिटर पश्चिममा भेरी र कर्णालीको दोभान घाटगाउँमा पर्ने दोमिल्ला मात्र नभएर विद्यापुरमा पर्ने दहताल, बराहताल सुर्खेत पुगेपछि पुग्नै पर्ने स्थल हुन । चौकुने कुवाँ, कोटभञ्जाङ, पञ्चपरीमाई, बाँदरे गुफाको महत्व सुर्खेतमा छुट्टै छ । पञ्चपुरीमाईको मन्दिरबाट पर्यटकहरुले अछाम, दैलेख,सुर्खेत र कैलालीको धेरै भूगोल अवलोकन गर्न सक्दछन् ।

पर्यटनको बिकासको लागि सुर्खेतका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गर्न पर्दछ । भेरी र कर्णाली नदीले घेरिएको सुर्खेत ¥याफटीङमा रमाउने पर्यटनका लागि आकर्षकको केन्द्र पनि हो । अब पूर्वमा–राकम देखि दक्षिणमा तातापानी सम्म भेरी नदीको करिव ५० किलोमिटर दूरीमा र पश्चिममा जंगालाघाटदेखि घाटगाउँ र कुईने–चिसापानीसम्म करिब ९० किलोमिटरको दूरीमा बग्ने कर्णाली नदीमा ¥याफटीङ सन्चालन गरी साहसी पर्यटकहरुलाई सुर्खेतमा भित्राउन पर्दछ । सुर्खेतमा सांस्कृतिक सम्पदा मठ, मन्दिर, प्राकृतिक वातावरणका हिसाबले सुन्दर उपत्यका हो । सुर्खेतमा पर्यटकहरुले पूर्वदेखि पश्चिमसम्म विभिन्न जातीय संस्कृतिको अध्यन गर्न सक्दछन । राजी र राउटे जातीहरुको संस्कृति सुर्खेत जादा पर्यटकहरुले अध्यन गर्न सक्दछन। आदिवासी थारु जातिका मौलिक कला संस्कृति भेषभूषा पनि पर्यटकहरुले अध्यन अवलोकन गर्न सक्दछन। सुर्खेतमा पर्यटनलाई चलायवान बनाउन प्याराग्लाइडिङको उडान भर्न सके सुर्खेत पर्यटनको लागि हब नै बन्दछ ।

सुर्खेत पुग्ने पर्यटकहरुले समय मिलाउन सके कर्णालीका अन्य जिल्लामा पनि पुग्न सक्दछन । कर्णाली प्रदेश घुम्न जाने पर्यटकहरुका लागि सुर्खेत ट्रान्जिट प्वाइन्ट पनि हो । कर्णाली प्रदेशका सबै जिल्लामा आजभोली कच्ची भएपनि सडकमार्ग पुगेको छ । सुर्खेतको वीरेन्द्रनगरमा हवाई सेवा सन्चालनमा छ। तर वीरेन्द्रनगरबाट हुम्ला, जुम्ला, मुगु र डोल्पामा हवाईसेवा भरपर्दाे छैन । कर्णाली प्रदेशमा पर्यटनको बिकास गर्न हवाईसेवा नियमित हुनु पर्दछ । सुर्खेतमा घुम्दा खान बस्नको लागि कुनै असुबिधा छैन । सुर्खेतमा साना–ठूला धेरै होटल लज सञ्चालनमा रहेका छन् । सुर्खेतमा होमस्टे समेत सञ्चालनमा छन् । कहा बस्ने भन्ने कुरा पर्यटकहरुले छनौट गर्न सक्दछन ।

कसरी पुग्ने ?

सुर्खेतका प्रायः सबै गाउँमा सडक सञ्जाल जोडिएको छ । जाजरकोट, रुकुम र सल्यानबाट सुर्खेतमा बससेवा सन्चालन छ । आजभोली सुर्खेत दाङको तुलसिपुरबाट सल्यानको कालिमाटी हुदै पनि जान सकिन्छ । अर्को तर्फ कोहलपुर सुर्खेत मात्र नभएर सुदुर पश्चिमबाट कर्णाली चिसापानी–कुइने हुदै पनि सुर्खेत पुग्न सकिन्छ भने अछाम तिरबाट सुर्खेत जान मध्यपहाडी लोकमार्गबाट कर्णालीको राकाम हुँदै यात्रा गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker