जनज्योति क्याम्पसमा स्नातक चौथो वर्षका विद्यार्थीको सम्मान तथा विदाई

भिमाद : तनहुँको भिमादस्थित जनज्योति क्याम्पस मा स्नातक तह चौथो वर्ष (२०८२) का विद्यार्थीहरूको सम्मान तथा भावपूर्ण विदाई कार्यक्रम सम्पन्न भएको छ।

प्रथम, द्वितीय, तृतीय वर्ष तथा चौथो वर्ष (२०८३) का विद्यार्थीहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बीबीएसकी विद्यार्थी सपना लम्साल सभाध्यक्ष रहनुभएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जित प्रकाश आलेले विद्यार्थीहरुलाई सम्मान गर्दै शिक्षा नै व्यक्तिको वास्तविक शक्ति भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई ज्ञान, सीप र नैतिकताको मार्गमा अघि बढ्न आग्रह गर्नुभयो। उहाँले क्याम्पसबाट प्राप्त शिक्षा र अनुभवलाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्न सके मात्र शिक्षाको सार्थकता हुने धारणा व्यक्त गर्नुभयो

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, शिक्षाशास्त्र विभाग प्रमुख हरिप्रसाद सुवेदी, व्यवस्थापन संकाय प्रमुख नारायण मरासेनी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतका वक्ताहरूले विदाई हुन लाग्नुभएका विद्यार्थीहरूको उज्ज्वल भविष्य, सफल करियर तथा समाजप्रतिको जिम्मेवार भूमिकाको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा तृतीय वर्षकी विद्यार्थी सलिना थापाले अतिथि, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बीएड चौथो वर्षकी विद्यार्थी अर्चना गैहे र बीबीएस चौथो वर्षका विद्यार्थी श्रीराम थापाले गर्नुभएको थियो।

कार्यक्रमको विशेष आकर्षण विदाई हुन लाग्नुभएका विद्यार्थीहरूको सम्मान रहेको थियो। क्याम्पस परिवारको तर्फबाट मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। चार वर्षसम्म एउटै शैक्षिक वातावरणमा अध्ययन, संघर्ष र सफलताका विभिन्न अनुभव सँगालेका विद्यार्थीहरू विदाईको क्षणमा भावुक बनेका थिए।

यसैबीच, विदाई हुन लाग्नुभएका विद्यार्थीहरूले पनि क्याम्पसप्रति कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए। साथै क्याम्पस सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारीहरूलाई ढाकाको टोपी र दोसल्ला ओढाई सम्मान गरिएको थियो। यसले विद्यार्थी र क्याम्पसबीचको आत्मीय सम्बन्ध तथा पारस्परिक सम्मानलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा विद्यार्थी जीवनका स्मरणीय क्षण, साथीभाइसँगका अनुभव तथा शिक्षकबाट प्राप्त ज्ञान र प्रेरणालाई जीवनभर आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले विदाई हुन लाग्नुभएका विद्यार्थीहरू सफल, जिम्मेवार र उदाहरणीय नागरिकका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा जनज्योति क्याम्पसबाट उत्पादित युवाशक्तिले समाज, राष्ट्र तथा विश्वमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै विदाईलाई अन्त्य नभई नयाँ यात्राको सुरुवातका रूपमा लिन आग्रह गरिएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker