दमौलीका व्यवसायीहरुको रसुवाका बाढीपीडितलाई राहत

दमौली : बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकका लागि राहत सामग्री लिएर तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली शनिबार रसुवा प्रस्थान गरेको छ। इकाई सभापति शेषराज श्रेष्ठको नेतृत्वमा गएको टोलीलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शनिबार दमौलीबाट बिदाइ गरेका हुन्। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले दमौली बजारका व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणबाट स्वेच्छिक रूपमा राहत सामग्री संकलन गरिएको थियो ।
दमौली बजारमै सञ्चालन गरिएको राहत संकलन अभियानमा विभिन्न व्यवसायी, व्यक्ति तथा सहयोगी मनहरूले खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएका थिए । संकलित राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले जनाएको छ ।
राहत टोलीलाई बिदाइ गर्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले प्राकृतिक विपद्का बेला पीडित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले व्यवसायीहरूले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न थालेको अभियान प्रशंसनीय रहेको बताए ।
‘विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो’, नगर प्रमुख न्यौपानेले भने, ‘राहत सामग्री वास्तविक पीडितसम्म पु¥याउन टोलीले विशेष ध्यान दिनुपर्छ।’ उनले राहत लिएर प्रभावित क्षेत्रमा जाने टोलीलाई सुरक्षित यात्राको शुभकामना पनि दिए।
इकाई सभापति श्रेष्ठले बाढीपहिरोबाट प्रभावित नागरिकको पीडा कम गर्न आफूहरूले सकेको सहयोग गर्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको बताए । विपद्को समयमा व्यवसायी तथा सर्वसाधारणबाट प्राप्त सहयोगले मानवीय भावना अझ बलियो बनाएको उनको भनाइ थियो ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईकी सचिव सिम्रन चन्द ठकुरीले दमौली बजारका व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणबाट राहत सामग्री संकलन गरिएको जानकारी दिइन् ।
‘विपद्को पीडामा रहेका नागरिकलाई सकेको सहयोग गर्ने उद्देश्यले दमौली बजारमा राहत संकलन अभियान सञ्चालन गरेका थियौं’, उनले भनिन्, ‘व्यवसायी, शुभेच्छुक तथा विभिन्न सहयोगी मनहरूले अभियानमा साथ दिनुभएको छ। उहाँहरूको सहयोग र सद्भाव लिएर हाम्रो टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।’
रसुवालगायतका जिल्लामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायी तथा नागरिकस्तरबाट राहत तथा सहयोग अभियान सञ्चालन भइरहेका छन् । दमौली बजार इकाईको टोलीले संकलित राहत प्रभावित क्षेत्रमा पु¥याएर आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।










