म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास
नारायण खड्का (दमौली)
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ ।
एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय म्याटि्रकटन सुन्तला उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र तनहुँको छ । ‘गत वर्ष२३ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री वितरण भएपनि यस वर्ष पानी बढी परेकाले उत्पादन घटेको छ’, वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘उत्पादन घट्दा २० करोड रुपैयाँसम्मका सुन्तला बिक्री वितरण हुन्छ कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ ।’
‘अहिले कृषकको बारीमा सुन्तला टिप्ने तयारी भएको छ । खरिद गर्नेहरुपनि सुन्तला बारीमै पुग्नुभएको छ’, तिवारीले भने, ‘अघिल्लो वर्ष जस्ता यस वर्ष सुन्तला उत्पादन घटेको छ । बढि पानी परेका कारण सुन्तलाका दाना पनि साना भएका छन ।’
यस्तै, उत्तरतर्फफर्किएका तथा चिसोपन भएका पहाडी भू-भागमा सुन्तलाखेतीका लागि उपयुक्त वातवरण मानिन्छ । यस्तो वातावरण भएका स्थानमा कृषि ज्ञान केन्द्रले गत वर्ष ४ वटा सुन्तला खेतीको ब्लक विस्तार गरेकोमा यस वर्ष ५ वटासम्म ब्लक विस्तार गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए ।
अधिक वर्षा भएका कारण सुन्तला खेतीमा ह्रास आएको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोक सुन्तला ब्लक संचालक समितिका संयोजक निर्मल अधिकारी बताउँछन् । उनले भने, ‘पानीका कारण फल कम लागेको छ । दाना सानो भएका छन् । सुन्तलामा अमिलो पन बढि हुनुका साथै पाक्न समेत ढिलो भएको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत तनहुँमा सुन्तलाको ब्लक विकास कार्यक्रम समेत सञ्चालन गरिएको छ । म्याग्दे गाउँपालिकाको वडा नं. १, २ र ३ का करिब २३५ घरधुरी संख्यालाई समेटेर १५० हेक्टर क्षेत्रफलमा गरिएको उमाचोक सुन्तला ब्लकमा उत्पादित सुन्तला बिक्री वितरणमा कृषकहरु जुटेको छ ।
गत वर्षकरिब ३ करोड रुपैयाँ आम्दानी गरेका यहाँका कृषकले यस वर्षलामो समयसम्म पानी परेका कारण करिब ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आउँदा २ करोड २ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको म्याग्दे-२ का सुन्तला कृषक बेलबहादुर अधिकारी बताउँछन् ।
सुन्तलाखेतीका लागि सिंचाई, मल, विरुवाको अभाव हुँदा सोचे जस्तो खेती विस्तार हुन नसकेको म्याग्दे-२ का सुन्तला कृषक गोपाल थापा बताउँछन् । सडकको सहज पहुँच नहुनुका साथै उत्पादित सुन्तलाले सहजै बजार तथा मूल्य नपाएको हुँदा सरकार तथा सम्बन्धित निकायले उत्पादित उपजको बजारीकरणमा ध्यान दिनुपर्ने कृषक थापाको भनाई छ।

कृषि ज्ञान केन्द्र तनहुँ मार्फ यस ब्लकमा सुन्तला खेती विस्तारका योजनाका लागि २२ लाख ७२ हजार ४९३ रुपैयाँ लगानि गरेको छ । जस्मा आर्थिक वर्ष२०७६/०७७ मा १३ लाख ७६ हजार ७७१ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ भने ८ लाख ९५ हजार ७२२ रुपैयाँ कृषकको लागि सहभागिता रहेको छ ।
कार्यक्रम अन्तरगत यस ब्लकमा सुन्तला क्षेत्र विस्तारका लागि ८ हजार ५०० विरुवा रोपण, कृषि यन्त्र तथा उपकरणहरु खरिद, साना सिंचाई कार्यक्रम संचालन, विभिन्न बगैचा सुदृढीकरण कार्यक्रम, स्प्रेयर वितरण लगायतका कार्य गरिएको समितिले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी-११ राइपुर, व्यास नगरपालिका-११ र १३ को तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं. २, ३ र ४ को छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका-९ को भानुमति लगायतका क्षेत्रमा सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।
यहाँ उत्पादन भएको सुन्तला काठमाडौंबाटै ठेकेदारहरु आएर खरिद गरी लग्ने गर्दछन् । तर, यस वर्षसुन्तलाको उत्पादन कम तथा व्यापार पनि राम्रो नभएको व्यास-१ भादगाउँका सुन्तला व्यापारी याम बहादुर थापा मगरले बताए ।
यस्तै, पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिक रूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा समेत लागेका छन् ।
सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यक रूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।










