तनहुँको डुम्रेमा ट्राफिक सचेतना कार्यक्रम

- डिपि अधिकारी (डुम्रे)
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको समन्वयमा ट्राफिक व्यवस्थापन तथा सुधार अभियान संचालन गरिएको छ ।
दुइपांग्र सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको थियो । यस अभियान अन्तर्गत दुइपांग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिई सचेत गराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार शाहीले बताए ।
सवारी दुर्घटना बढी मात्रामा दुइपांग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उनले बताए । दुइपांग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण गर्राई सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउन सप्ताहव्यापी रुपमा तनहुँ जिल्लामा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिईएको छ ।
कार्यक्रम अन्तरगत विहिबार तनहुँको डुम्रे चिसापानीमा करिब १ सय वटा दुइपाँग्रे सवारी चालकलाई प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । दुइपाँग्रे सवारी साधन चलाउनुपूर्व सवारीको अवस्था जाँच गर्नु पर्ने, हेलमेट लगाउनु पर्ने र हेल्मेटको फित्ता राम्रोसँग बाँध्नु पर्ने, बढीमा २ जना मात्रै यात्रा गर्नु पर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तिब्र गतिमा सवारी नचलाउन, सहायक बाटोबाट मुख्य बाटोमा प्रवेश गर्दा राम्रोसँग ख्याल गरी सवारी चलाउनु पर्ने, जथाभावी ओभरटेक नगर्न, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगर्न, सवारीको मोडिफाई नगर्न, लाईसेन्स नभै सवारी नचलाउन, ट्राफिक चिन्ह र संकेतको पालना गरी सवारी चलाउन अनुरोध गरिएको तनहुँका ट्राफिक प्रमुख रानाभाटले बताए ।
कार्यक्रममा प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक हिरा नेपाल लगायतले ट्राफिक नियम आफ्नै सुरक्षाकोलागि हो भनेर नियमसंगत रुपमा सवारी चलाउनु पर्ने बताइन । साथै उनले ट्राफिक सम्बन्धी कुनै जानकारी लिन वा सिकायत गर्नका लागि ट्राफिक कन्ट्रोलको निशुल्क फोन नम्बर १०३ मा फोन गर्न अनुरोध गरेकी छन् ।










