गण्डकीका ४६७ स्थानमा डढेलो
डढेलोले पुर्याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह

गण्डकी प्रदेशका विभिन्न ४६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुइ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए।
नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा ९२२, कास्कीमा ७५०, स्याङ्जामा ४९७, गोरखामा २१५, तनहुँमा १८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।
डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताए । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुइ जना घाइते भएको उहाँको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए। म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।
निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ। वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए । उनले भने, ‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ ।’
डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याइरहेको वन अधिकृत थापाले बताउनुभयो । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ । वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताए ।
मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनले बताए । ‘५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ’, उपसचिव थापाले, ‘पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।’
आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापा बताउँछन् । उनले भने, ‘डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदुषण निम्त्याउँछ । डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ।’
डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उहाँको भनाइ छ । डढेलोले भू-क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताउनुभयो । बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले प्रयाप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापा बताउँछन् ।
डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गर लगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए उनले भने, ‘वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ । डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ।’
मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह
यस्तै, विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ । हालसम्म प्रदेशका ४६७ स्थानको ८ हजार २७७ हेक्टर क्षेत्रफलमा डढेलो लागि सकेको तथ्यांक प्राप्त भएको छ । यसका कारण क्यौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन् । यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ।
यसरी फैलिरहेको डढेलो र त्यसले गराएको प्रदुषणप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चिन्ता व्यक्त गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको समेत बताएका छन् ।
डढेलोले पर्यावरण, जडिबुटी, ठुलो मात्रामा काठ दाउरा, चराचुरुङ्गी वन्यजन्तु, पूनःउत्पादित साना विरुवामा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउदै जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री अधिकारीको उल्लेख गरेका छन् ।
उनले वनजंगलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पुर्याउनुका साथै वन जंगलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको छ । सुख्खा तथा हावाहुरी चल्ने यो मौसममा आगलागी र डढेलोको जोखिम बढ्दो छ । यी घटनाक्रमहरूले प्रदेश सरकारको ध्यानाकर्षा गरेको छ र चिन्ता समेत बढाएको बताएका छन् ।
आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकोले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको जारी अपिलमा भनिएको छ । विपत्ति आइपरेमा भने सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको भन्दै तत्काल सम्बन्धित ठाउँमा खबर गर्न आग्रह समेत मुख्यमन्त्री अधिकारीले गरेका छन् ।










