बन्दिपुरको २० वर्षे एकीकृत विकास गुरुयोजना

भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

योजना बिना गरिएको काम सार्थक नहुने : मुख्यमन्त्री गुरुङ

तनहुँको बन्दिपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजना सार्वजनिक गरेको छ । आगामि २० वर्षको विकासका प्रथामिकता तोकेर बुधबार ‘एकीकृत विकास गुरुयोजना २०७६-२०९६’ सार्वजनिक गरेको हो । समग्र बन्दिपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाटनै देखिएको हुँदा पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसंग एकीकृत गर्न सकेमा गरिबीबाट मुक्त हुन सक्ने भन्दै गाउँपालिकाले एकीकृत विकास गुरुयोजना तयार गरेको छ ।

एकीकृत गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुयोजना बिना कुनैपनि काम प्रभावकारी नहुने बताए । ‘आवधिक योजना निर्माण गरेर अगाडी बढ्न सबै स्थानीय तहलाई अनुरोध गरेपनि केही स्थानीय तह बाहेक अन्यले उक्त काम गरेका छैनन्’, मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेशका ८५ मध्ये १९ वटा स्थानीय तहले मात्रै आवधिक योजना बनाएका छन्, सबै पालिकालाई आवधिक योजना बनाएर विकास निर्माणका काम गर्न अनुरोध गरेका छौ ।’

मुख्यमन्त्री गुरुङले योजना बिना गरिएको कामले सार्थक परिणाम नदिने भन्दै गुरुयोजना बनाएर मात्र पनि नहुने बरु त्यसको सही कार्यान्वयन गर्नुपर्दछ । तीन तहका सरकारबीच समन्वय र सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा हिंडन सक्ने हुँदा स्रोत साधानको पहिचान गरेर बन्दिपुर गाउँपालिकाले गण्डकी प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पछाडि परेका र उत्पादनमूलक क्षेत्रमा जोड दिनका लागि गाउँपालिकालाई आग्रह गर्दै प्रदेश त्यसका लागि सघाउन तयार रहेको बताए । उनले यस अघि पनि प्रदेशले गाउँपालिकाको विकासका लागि सघाएको भन्दै गुरुयोजना कार्यान्वयनका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले पर्यटनलाई उत्पादनसंग जोडेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले स्थानीय पालिकाहरुले आफ्ना नीति तथा कार्यक्रममा उत्पादन वृद्धि गर्ने गरी ल्याउनु पर्ने र विद्यालयस्तरमै प्राविधिक र सीपमुलक शिक्षा पठनपाठनमा समेत जोड्दिनुपर्ने सुझाएका थिए ।

यस्तै, गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले बन्दिपुरका सबै घरपरिवारसंगै प्रत्यक्ष भेटघाट तथा स्थानीय स्तारको अवस्थालाई अध्यन तथा बन्दिपुर घर भाई काठमाडौं, चितवन लगायतका क्षेत्रमा बसकेा व्यक्तिहरुसंग पनि आवश्यक सुझाव संकलन गरी गुरुयोजना तयार गरेको बताए ।

गाउँपालिकाले पर्यटन, कृषि तथा पशुपंक्षीजन्य, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै संमृद्ध बन्दिपुर बनाउने परिकल्पना गाउँपालिकाले देखेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । बन्दिपुरको २० वर्षे एकीकृत विकास गुरुयोजनाको मूल नारा ‘पर्यटन, कृषि, शिक्षा, सहकारी र पूर्वाधार : समृद्ध बन्दिपुर गाउँपालिकाको मूल आधार’ भन्ने रहेको हुँदा सोही अनुसार काम अगाडि बढाइएको बताए ।

‘गुरुयोजना उल्लेखित योजनाहरु, पूर्वाधारहरु निर्माण हुन सके अबको २० वर्षभत्र यही रोजगारीको वातावरण सिर्जना हुन्छ र कोही बन्दिपुरबासीलाई आफ्नो ठाउँ छाडी अन्यत्र रोजगारीका लागि भौतारिनु नपर्ने समेत दाबी गरेका छन् ।

गुरुयोजना अनुसारका सबै भौतिक पूर्वाधारका काम सम्पन्न भए पर्यटकीय नगरी बन्दिपुरमा पर्यटकको घुइचो लाग्ने गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । उनले भनिन्, ‘नेपालमै नभएको सिसाको भ्यु टावर, कृतिम ताल, केवलकार निर्माणका कार्य अगाडि बढेको छन् । बन्दीपुरको प्राकृतिक सौन्दर्यता, भक्तपुरे शैलिका घरहरु, मठमन्दिर, गुम्बा, यहाँबाट देखिने हिमश्रृंखलाहरु आन्तरिक तथा बाह्या पर्यटकलाई आकर्षित गर्ने सम्पदा हुन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker