पाठ्यक्रमको टुंगो नलाग्दा अन्योलमा कक्षा ११ को पठनपाठन

सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना कहरका बीच बल्लतल्ला एसइइको परीक्षा दिएर कक्षा ११ को पढाइ सुरु हुन थालेको छ । तर, अहिलेसम्म पाठ्यक्रमको टुंगो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावक समेत अन्योलमा परेका छन् । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउने गरेको कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैं हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठयक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठयक्रमकै टुङ्गो नलाग्दा पठनपाठनमा समस्या आएको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल बताउँछन् ।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठयक्रम अनुसार पाठयपुस्तक समेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि नियमित पढाइ गर्न समस्या आइलागेको छ ।

प्रधानाध्यापक पौडेलले भने, ‘आफ्नो विद्यालयमा सबै नयाँ पाठ्यक्रमनै पर्ढाई भएको र भोली सर्वोच्चले पुरानो पाठ्यक्रमनै पढाउने भनिदियो भने समस्या आउने हो कि भन्ने अन्योलता छाएको छ । अहिले कक्षा ११ मा करिब ५५० जनाको हाराहारीमा विद्यार्थी भर्ना हुनुभएको र नयाँ पाठ्यक्रमनै पढाउन थालिएको छ ।’

भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची-८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठयक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेका थिए । रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठयक्रम पढ्ने टुङ्गो छैन । कक्षा ११ का विद्यार्थीहरुको दैनिक अहिले विद्यालय गयो/आयो जस्तो बन्न थालेको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक एकनारायण भण्डारी बताउँछन् ।

सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने चिन्ता र अन्यौलमा अहिले कक्षा ११ का विद्यार्थी रहेका छन् । नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौ कोर्ष निश्चित छैन । त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको शिक्षक भण्डारी बताउँछन् ।

कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण समेत बनेको छैन । पाठयक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको शिक्षक भण्डारी बताउँछन् । नयाँ र पुरानो दुवै पाठयक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुबै पाठयक्रम पढाउँदै आएको उनले बताए ।

‘के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदै गएका छौं’, शिक्षक भण्डारीले भने, ‘पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौं । नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा संकाय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको पढ्ने र पढाउने कार्य अन्योलता सृजना भएको छ ।’

केही नयाँ काम त नयाँ पाठयक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा
(एसइइ) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइइको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ। यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ । सामान्यतया हरेक पाठयक्रम १०/१० वर्षा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठयक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको शिक्षकहरु बताउँछन् । नयाँ पाठयवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठयक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत पुस्तक बेच्न नसकेको पुस्तक व्यवसायीहरु बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker