तनहुँका पाँच स्थानीय तहमा आधारभुत अस्पताल शिलान्यास, ग्रामीण क्षेत्रका बासिन्दामा छायो खुसियाली
राजकुमार आले/भञ्ज्याङ

तनहुँका पाँचवटा पालिकामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । अस्पतालको शिलान्याससंगै ग्रामीण क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । शुक्लागण्डकी नगरपालिका-११, राइपुरस्थित बिसौनामा पनि सुविधा सम्पन्न अस्पतालको शिलान्यास गरिएको छ। सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो ।
कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बिसौनामा अस्पतालको शिलान्यास भएपछि राजपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद भट्टराइले खुसी व्यक्त गरे । सामान्य विरामी भएपनि ठुलो रकम खर्चिएर स्याङजाको पुतलीबजार वा दुलेगौंडा हुँदै पोखरा जानुपर्ने यहाँका स्थानीयवासीको बाध्यता थियो अब त्यो अन्त्य हुनेमा विश्वास व्यक्त गरे ।

‘स्थानीयस्तरमै स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा अस्पताल लैजादै गर्दा विरामीको बीचबाटैमा ज्यान गएको घट्ना ताजै छन’, भट्टराइले भने, ‘धेरै बर्षअघिको हाम्रो माग र सपना अब पुरा हुने विश्वास जागेको छ, हामीले पनि अब सहजै स्वास्थ्य उपचार सेवा पाउछौ होला ।’
नगरस्तरीय अस्पताल नगरवासीको समान पहुँच हुने स्थानमा हुनुपर्नेमा राइपुरको डाँडामा अस्पताल निर्माण गरिदा अस्पतालको र्सार्थकता के हो भनेर टिप्पणीहरु पनि भइरहेका छन् । भट्टराइले यहाँका स्थानीयको कमजोर आर्थिक अवस्था, तीब्र बसाइसराइ, भुगोल र विकासका पूर्वधार विकासको हिसाबले राइपुर क्षेत्रमा आधारभुत अस्पताल निर्माण गर्नै पर्ने अवस्था रहेकोमा अहिले ठिक ठाउँमा अस्पताल बन्न लागेको बताए ।

अस्पतालले ठुलो क्षेत्रलाई समेटेर सेवा प्रवाह गर्ने भएकाले विरामी नभएर अस्पताल चल्दैन कि भनेर सोच्नै नपर्ने उनको भनाई छ । ‘सरकारको धेरै योजनाहरु शहरमुखी हुने गरेको छ, शहरमा पहुँचवाला व्यक्तिहरु बस्छन्, तर गाउँमा कमजोर आर्थिक अवस्थाका नागरिक बस्ने भएकाले ग्रामीण भेगका जनताको समस्यालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ”, उनले भने ।
त्यस्तै शुक्लागण्डकी-११, बाँसपानीकी स्थानीय सरस्वती भट्टराइले सुत्केरी तथा गर्भवती महिलालाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताउँदै घरदैलोमै अस्पताल बन्ने कुराले खुसी लागेको बताइन् । ‘गर्भवती तथा सुत्केरी अवस्थाका महिलाहरुलाई निकै गाह्रो भइरहेको छ’, उनले भनिन्, ‘भनेको समयमा यातायातको सुविधा नहुने भएकाले डोकोमा बोकेर समेत दुलेगौंडा वा स्याङजा लैजानुपर्ने बाध्यता छ, अहिले घरदैलोमै अस्पताल बन्न लागेको छ, हाम्रो त खुसीको सीमा नै छैन ।’
सिम्लेस्वाँरा टोलकी सरिता भट्टराइले अस्पताल बनेपछि यहाँका दिनदुःखीले अकालमा ज्यान गुमाउन नपर्नेमा विस्वस्त छिन् । ‘यातायातको सुविधा नहुँदा विरामीलाई डोलीमा राखेर कहाँकहाँ पुर्याइयो’, उनले भनिन् ‘दुलेगौँडा र स्याङ्जादेखि जटिल अवस्थाका विरामीलाई काठमाण्डौसम्म लगियो, हाम्रो दुःख र पीडा हामीलाई मात्र थाहा छ, अस्पताल बन्नेभएपछि पहिलाको त्यो अवस्थाबाट मुक्ति पाइन्छ कि भन्नेमा आशावादी छौं ।’
अस्पताल निर्माणका लागि संघीय सरकारको १८ करोड लगानी गर्ने भएको छ । सो अस्पतालको आइतबार गण्डकी प्रदेश साँसद तथा पुर्वमन्त्री आशा कोइरालाले शिलान्यास गर्दै पूर्वाधार विकासको हिसावले पछाडी परेको राइपुरमा संघीय सरकारको लगानिमा अस्पताल निर्माण सुरु हुँदा आफुलाई खुसी लागेको बताइन् ।
साँसद कोइरालाले ग्रामीण भेगका जनतालाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । अस्पतालको निर्माण कार्य बेलैमा सम्पन्न गर्न स्थानीयवासी सचेत र सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रङ्गत बरालले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए।

वडाध्यक्ष दलबहादुर थापाको अध्यक्ष्तामा भएको कार्यक्रममा शुक्लागण्डकी वडा नं. ११ का वडा सदस्य थमनबहादुर आले, नेकपा जिल्ला सचिवालय सदस्य मुक्ति सिग्देल, नेकपा शुक्लागण्डकी-११ वडा कमिटीका अध्यक्ष नारायण सिग्देल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश गुरुङ, समाजसेवी मणिरत्न भट्टर्राई, इश्वर पौडेल, राइपुर स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र अधिकारी, स्वास्थ्य समन्वय समितिका सचिव जीवन पोख्रेल लगायतले ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार सेवा लिनमा सहज हुने विश्वास व्यक्त गरे ।
अस्पताल निर्माणका लागि सरकारले पहिलो चरणमा एक करोड रुपैयाँ पठाइसकेको सचिव पोख्रेलले जानकारी दिए । आगामी दुइबर्ष भित्र अस्पताल संचालनमा ल्याउने गरी टेन्डर आहृवान गर्न सरकारले पालिकाहरुलाई निर्देशन दिएको छ । उक्त अस्पतालबाट एमबिबिएस डाक्टरसहित र्इर्मेजेन्सी सेवा, इसिजी, एक्सरे, भिडियो एक्सरे, माइनर अप्रेशनसम्मको सुविधा उपलब्ध हुने जनाइएको छ ।
अस्पतालबाट राइपुर, भुष्नापुर, थामडाँडा, सिम्लेस्वाँरा, खोलाखेत, ओडारे, गहते, हट्टयिा, स्याङ्जाको कोल्मा, नाम्चे, पोखरीछाप, ओरष्टे, किचनास, सालडाँडा लगायतका स्थानीयवासी लाभान्वित हुनेछन् । अहिले अस्पताल बन्न लागेको स्थान दुलेगौंडाबाट २० किलोमिटर दुरीमा पर्छ । हाल उक्त क्षेत्रलाई लक्षित गरी राइपुर स्वास्थ्य चौकी सञ्चालनमा छ । त्यहाँ एच.ए. तहको स्वास्थ्यकर्मी खटिने गरेका छन् । स्वास्थ्य चौकीमा दैनिक २० जनाको हाराहारीले सेवा लिने गरेको बताइन्छ ।
पाँच स्थानीय तहमा अस्पताल निर्माण शुरु
जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुआत भएको छ । भीमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ । भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको र्राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ । भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ।

भीमाद र शुक्लागण्डकीमा १५/१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०/१० शययाको अस्पताल निर्माण हुनेछ । पन्ध्र शययाको अस्पताल निर्माणका लागि रु १८ करोड छ लाख ८२ हजार १० शययाको अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
दश शययाको अस्पतालमा दुइ जना मेडिकल अधिकृत १७ जना र १५ शययाको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् । सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ । शुक्लागण्डकी-११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास गरेकी छन्।

भीमाद-६ मा निर्माण शुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताए । भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ ।

यस्तै, देवघाट-५ मा निर्माण शुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

ऋषिङ-४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ । म्याग्दे-४ स्थित थर्पुमा सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरेकी छन् । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुइ वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने बताए ।
भानुमा शिलान्यास स्थगित
त्यस्तै, भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ । जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले तयारी नपुगेकाले शिलान्यास गर्न नसकिएको जानकारी दिए । बैठक बसेर छिट्टै अस्पताल शिलान्यास गरिने उनले बताएका छन् ।










