ऋषिङको दधिवन गाउँमा विद्युत बत्ती बल्यो

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको ऋषिङ गाउँपालिका-७ स्थित दधिवन गाउँमा विद्युत् सेवा विस्ता गरिएको छ । गाउँपालिकाको विकट बस्तीका रुपमा रहेको दधिवनमा सोमबार पहिलोपटक बिजुली बत्ती बालिएको हो । दधिवनको ५६ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली विस्तार गरिएको वडाध्यक्ष जंवीर आलेले बताएका छन् । गाउँपालिकाको करीब दश लाख रुपैयाँको लागतमा दधिवनमा विद्युतीकरण गरिएको उनले जानकारी गराए । ‘अहिलेसम्म टुकी, मैनबत्ती र सोलारको भरमा बत्ती बाल्दै आएका स्थानीयवासी घरमा बिजुली आएपछि हर्षित भएका छन्’, अध्यक्ष आलेले भने, ‘केही घरधुरीमा मात्रै सोलार थियो । बाँकी घर टुक र मैनबत्तीमै भर पर्नुपथ्र्यो । छरिएर रहेको बस्ती भएका कारण विद्युतीकरणमा समय लागेको हो।’
ऋषिङ गाउँपालिका-७ को ४५ घरधुरीमा अझै पनि बिजुली पुगेको छैन । ती घरधुरीमा पनि चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ‘बाँकी घरधुरीमा बत्ती बाल्न कामहरु भइरहेका छन्, यही आर्थिक वर्षभित्रै सकिन्छ’, उनले भने, ‘गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि यस वडाको २०० भन्दा बढी घरधुरीमा बिजुली बलिसकेको छ । वडाको कान्छे, दधिवन, ज्यामिरे, चुडाहर लगायत गाउँमा बत्ती पुगेको छ ।’
विद्युतीकरणको उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आलेले विद्युत् विस्तारपछि अब जनताको जीवनस्तर फेरिने विश्वास व्यक्त गरे । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले चुनावमा गरिएको प्रतिबद्धताबमोजिम दधिवनमा बत्ती बाल्न सकिएको बताउँदै उनले चुनावमा जाँदै गर्दा बत्ती नपुगेका गाउँमा बत्ती बाल्छौँ भनेका थियौँ, केही समय ढिलाइ भयो तर आज उक्त प्रतिबद्धता पूरा भएको बताए ।
तनहुँको घिरिङ गाउँपालिकाले पनि विद्युतीकरण अभियानलाई तीव्र पारेको छ । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका करीब ५०० घरमा विद्युतीकरणका लागि काम भइरहेको बताए । उपभोक्ता समितिले केही समय अगाडि मात्रै अत्रौली, पुट्टार, माहोरकोट लगायत ठाउँमा बत्ती बालिसकेको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि करीब एक हजार ४०० भन्दा बढी घरमा बत्ती बलिसकेको छ । गाउँपालिकाले विद्युतीकरणका लागि गत वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।










