स्वास्थ्य सेवाका लागि रत्नहरी र टेक्नो बीच सम्झौता

दमौली : तनहुँको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र भारतको टेक्नो इलेक्ट्रीक एन्ड इन्जिनियरिङ कम्पनी बीच ४ सय केभी सबस्टेशन निर्माण परियोजनामा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता गरिएको छ । सम्झौतामा रत्नहरी मेमोरियल अस्पतालको सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ र टीईईसीएलका साइट इन्चार्ज हरेन्द्र प्रसादले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दमौलीमा निर्माणाधीन ४ सय केभी सबस्टेशन परियोजनामा कार्यरत कामदारहरूका लागि आपतकालीन चिकित्सा सेवा, नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, शल्यक्रिया, फिजियोथेरापी, र एम्बुलेन्स सेवासहितका विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका व्यवस्थापक लिलबहादुर थापाले बताए ।
टीईईसीएलले मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसीए–नेपाल) सँग तनहुँ जिल्लाको दमौलीमा ४ सय केभी सबस्टेशन निर्माण गर्न ३८.८९ मिलियन अमेरिकी डलरको सम्झौता गरेको थियो । उक्त सबस्टेशन एमसीसी नेपाल अन्तर्गत निर्माण गरिने तीनवटा ४ सय केभी सबस्टेशनहरूमध्ये एक हो ।
एक हजार मेगा भोल्ट एम्पियर क्षमताकोे सबस्टेशनले रत्माटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग विद्युत प्रवाहका लागि महत्वपूर्ण जडानको रूपमा काम गर्नेछ । अस्पताल र आयोजना बीच सम्झौता तीन वर्षको अवधिका लागि लागू हुने भएको छ ।










