पाँचौं शुक्लागण्डकी महोत्सवमा आज अर्जुन, प्रिती र रामजीको प्रस्तुति

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका मा जारी पाँचौँ शुक्लागण्डकी महोत्सवअन्तर्गत बुधबार चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ को आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन लोकप्रिय कलाकारहरू मञ्चमा उत्रने भएका हुन्।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा आयोजित महोत्सवमा बुधबार अर्जुन सापकोटा, प्रिति आले, राम्जी पौडेल र सुनिता नेपाली लगायतका कलाकारहरूको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।
यसअघि मंगलबारको कार्यक्रममा बद्री पंगेनी, नविना सिलवाल (खुईली), सिमा थापा र मधु थापा लगायतका कलाकारहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
æआर्थिक, सामाजिक तथा खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव–कला, सीप र संस्कृतिको संरक्षणÆ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म जारी रहनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको पदयात्रा लगायतका कार्यक्रम समावेश गरिएको मूल संयोजक समुद्रराम श्रेष्ठले बताए ।
त्यस्तै, पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन् । प्रवक्ता सुजन श्रेष्ठका अनुसार यसपटक टिकटक तथा रिल्स प्रतियोगिता समेत समावेश गरिएको छ ।










