अदुवाको उत्पादन बढ्यो तर, कृषकले मूल्य पाएनन्
- राजकुमार आले (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ५ क्षेत्र सुन्तला र गेडागुडीमा प्रख्यात छ । वडाको शिरानमा रहेको मुलाबारीवासीले बर्षेनी लाखौं रुपैयाँमा सुन्तला बिक्री गर्छन् । उबेला मकै, कोदो लगाउने बारी अहिले सुन्तलाको बगौंचाले भरिएको छ । दक्षिणी भेगमा रहेका काफलश्वाँरा, नारायणपुर, नयाँवस्ती र छाङपाटन क्षेत्रमा बोडी, सिल्टुम, भटमासको राम्रो उत्पादन हुन्छ । यहाँका स्थानीय कृषकहरुले मकै, कोदो, गुडागुडी, सुन्तलाका अलवा मसलावाली अदुवा र बेसार पनि लगाउने गर्छन् ।
काफलश्वाँराका कोलबहादुर थापाले यस वर्ष करिब साढे चार सय धार्नी अदुवा उत्पादन गरेका छन् । कृषक थापाका अनुसार ६० धार्नी विउले साढे ४ सय धार्नी उत्पादन दिएको हो । तर उचित मूल्य नपाउँदा थापा दुःखी छन् । अघिल्लो वर्ष धार्नीको १५० रुपैयाँका दरले बेचेका कृषकले अहिले ९० रुपैयाँमा बेच्न बाध्य छन् । कोरोना कहरका कारण छिमेकी मुलुक भारतबाट अदुवाको माग नआएको भन्दै ठेकेदारले धार्नीको ९० रुपैयाँ मात्र दिएको कृषक थापाले बताए । उनले भने, ‘मेहनत गर्यो, पैसा पाउने बेलामा मूल्य पाइदैन । मुल्य एकनास भइदिएको भए ढुक्कले खेती गर्न पाइथ्यो । अहिले त कुनै बर्षघाटा नै पर्छ, कहिले राम्रै मूल्य पनि पाइन्छ । उत्पादित उपजको बजारीकरण नहुनु र मूल्यमा एकरुपता नहुँदा किसानलाई ढुक्कले परिश्रम गर्ने वातावरण पनि छैन ।’
‘अदुवा खन्ने बेला ठेकेदार घरघरमै पुगेर मोलमोलाई गर्दै हिड्छन्’, उनले भने, ‘हामीले संधै एउटै ठेकेदारलाई बेचिरहेका छौँ। अहिले पनि अदुवा खनिदिनु पर्यो भन्दै ठेकेदार एक हप्तादेखि पछि लागेको लाग्यौ गर्यो । दिनदिनै आउने अदुवा खनिदिनु पर्यो भन्छन् । यसपाली मुल्य कम पाइएकाले अदुवा खन्ने जाँगर पनि हराएको छ ।’
‘खन्ने बेला भएको अदुवा बारीमा राखेर बढ्ला भन्दा झन् घट्छ, न तरकारी पकाएर खान मिल्छ, त्यहि भएर ९० रुपैयाँमै भएनी बेच्नै पर्ने बाध्यता आइलागेको छ’, कृषक थापाले बताए । ‘मकै, कोदो र घैया भन्दा अदुवाबाट फाइदा हुन्छ’, उनले भने, ‘गत बर्षभन्दा कम मूल्यमा बेच्नुपर्दा दुःख लाग्छ, तर मकै, कोदो र घैयाँमा भन्दा त फाइदा छ नि । बाँदरले र मुसाले पनि खाँदैन, असिनाले पनि क्षति गर्दैन ।’
भात तरकारीको रुपमा पकाएर खान नमिल्ने र आफैले मात्र खाएर पनि नसकिने हुँदा उत्पादित अदुवाको बजारीकरणमा स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायले ध्यान दिएमा हाम्रो व्यवसायले पनि निरन्तरता पाउने कृषकहरु बताउँछन् ।
त्यस्तै, स्थानीइ पुर्णीमाया थापाले पनि करिब ३ सय धार्नी अदुवा बिक्री गरिन् । पोहोर साल भन्दा उत्पादन राम्रो भएपनि मूल्य घटेको हुँदा उनि उत्साहित छैनन् । सरकारले पनि कृषि उत्पादनलाई जोड दिने तर बजारीकरणमा कुनै चासो नदिदा किसानहरु संधै मर्कामा पर्नु परेको गुनासो गर्दै उनले भनिन्, ‘सरकारले खेती गर, बारी बाँझो नराख मात्रै भन्ने होइन, उत्पादन गर, उत्पादन भएको चिज हामी बिक्रीका लागि सहयोग गर्र्छौ पनि भन्नर्ुपर्छ । त्यस्तो भए पो बल्ल किसानमा उत्साह आउँछ । दुःख गरी अदुवा उत्पादन गर्यो बिक्री पनि हुदैन, भइहालेमा पनि मुल्य पाइदैन ।’
हाल दुलेगौँडा बजारमा अदुवा किलोको ८० रुपैयाँमा बिक्री भइरहेको फलफूल तथा तरकारी व्यवसायी समिति शुक्लागण्डकीका अध्यक्ष गोविन्द सुवेदीले बताए । तर किसान भने ९० रुपैयाँ धार्नीमा बेच्न बाध्य छन् । कृषकको उपभोक्तासंग सिधा सम्पर्क हुन नसक्दा किसानको उत्पादनले मूल्य नपाउने र बिचौलियाका कारण उपभोक्ताले बढि मूल्य तिर्नुपरेको अवस्था छ ।










