व्यास नगरपालिकाले अभिलेख संकलन गरी घर कायम गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले अभिलेख प्रक्रियामा नआएका घरहरुको अभिलेख संकलन गरी घर कायम गर्ने भएको छ ।
नगरकार्यपालिकाको बुधबार सम्पन्न बैठकले व्यास नगरपालिका हुन पुर्व वा पुनःसंरचनामा समावेश हुनु अघि बनेका घरहरु अझै अभिलेख प्रकृयामा नआएकाले २०८० मसान्तसम्म अभिलेख संकलन गर्ने र घर कायम प्रमाणपत्र नलिएको अवस्थामा घर कायम गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षका लागि नगर सभाबाट निर्णय भएका योजनाहरु कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
नगरपालिका भित्रका कृषि तथा गैह्र कृषि जग्गाहरुको यही मंसिर १८ गते भित्र एकीन गर्नका लागि सम्बन्धित वडाका राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, निवर्तमान जनप्रतिनिधी, प्राविधिक सम्मिलित अन्तरक्रिया कार्यक्रम गरी अन्तिम टुङ्गो गर्न सबै वडा समिति र घर नक्सा शाखालाई जिम्मा दिएको छ ।
नगरपालिका भित्र भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको वडा नं ४, ५, ६, ७, ८, ९, ११, १२, १३, १४ को तयारी निस्सा वितरण गर्ने बैठकले निर्णय गरेको छ । नगरपालिकाले सबै वडाका ग्रामीण क्षेत्रका स्वास्थ्य, पशु, पञ्जिकरण लगायतका सेवाका लागि घुम्ति सेवा सञ्चालन गर्ने भएको छ ।
यस्तै, तनहुँ निर्वाचन क्षेत्र नं १ भित्र व्यास नगरपालिका अन्तर्गतका सुरक्षित आवासका संकलित विवरण सम्बन्धित निकायमा सिफारिस गरी पठाउने बैठकले निर्णय गरेको छ ।










