सेन्ट्रल पार्क निर्माण सम्बन्धमा व्यासको स्पष्टिकरण
भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ स्थित खुल्ला मैदानमा निर्माण गर्न लागेको सेन्ट्रल पार्क निर्माण कार्यमा भएको टिकाटिप्पणी प्रति स्पष्ट पारेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितद्वारा हस्ताक्षर गरी सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सेन्ट्रल पार्क निर्माणका विषयमा स्पष्ट पारेको हो ।
खुल्लाचौर मासेर पार्क निर्माण गर्न लागिएको भन्दै स्थानीय केही नागरिक, संघ संस्थाले विभिन्न सामाजिक सञ्जाल मार्फत गरेको टिप्पणी प्रति नगरपालिकाले ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा स्थानीय तहको पुनःसंरचना पुर्व तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बद्री तिवारीको अध्यक्षतामा भएको सर्वदलीय बैठकमा वि.पि. वनवाटिकालाई खेल मैदानको रुपमा र अनसन चौतारी नजिकको चौरमा पार्क निर्माण गर्ने, कृषि कार्यालय नजिकबाट अस्पताल जाने बाटो निर्माण गर्ने सहमति भई निर्णय भएको र उक्त जग्गा जिविस तनहुँ कै पूर्जा भित्र रहेको भनिएको छ ।
स्थानीय तहको पुनःसंरचना पछि उक्त चौरमा करिव आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा विरामीहरुका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न निर्माण प्रकृया अघि बढाइएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, राजनैतिक दल, विभिन्न संघ संस्थाहरुका कार्यक्रम, पर्वहरु एवं व्यवसायिक मेला हुने उक्त चौरमा लाखौ खर्च गरेर अस्थायी मञ्च निर्माण गरिने हुँदा, कृषि कार्यालय तर्फ स्थायी, अपाङ्गमैत्री मञ्च निर्माण गरिने र पार्कको संरक्षणका लागि बिच भागमा फूलको स्थायी क्यारी निर्माण गरी अन्य भागहरुमा मनोरञ्जनात्मक पार्क जिल्ला समन्वय समितिसँग समन्वय गरी निर्माण गरिन लागिएको नगरपालिकाले विज्ञप्ति जारी जानकारी गराएको छ ।