तनहुँका स्थानीय तहको बजेट प्रवृत्ति : कतै वृद्धि त कतै कटौती, खर्च व्यवस्थापनमा चुनौती, प्राथमिकतामा पूर्वाधार

सविन लामिछाने

दमौली । तनहुँ जिल्लाका १० वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन् । जिल्लाका अधिकांश पालिकाले अघिल्लो वर्षको तुलनामा अनपेक्षित बजेट कटौती गरेका छन् भने केही पालिकामा पनि बजेट बढाएको देखिएको छ ।

जिल्लास्थित चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु सात अर्ब ९३ करोड ८१ लाख ४७ हजार आठ सय ५५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । जिल्लास्थित नौ स्थानीय तहले आज र एक स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षका लागि जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये व्यास नगरपालिका सबैभन्दा ठूलो बजेट लिएर आएको छ ।
व्यास नगरपालिकाले करिब १ अर्ब ७५ करोड ८४ लाख बजेट ल्याएको हो । शुक्लागण्डकी नगरपालिकाले १ अर्ब २४ करोडभन्दा बढी बजेट ल्याएको छ भने भानु र भिमाद नगरपालिकाको बजेटमा पनि वृद्धि देखिन्छ । गाउँपालिकाहरुमा भने म्याग्दे गाउँपालिकाले उल्लेखनीय वृद्धि गर्दै ६८ करोड ८६ लाखको बजेट ल्याएको छ भने घिरिङ गाउँपालिकाको बजेट भने घटेको छ ।

अधिकांश स्थानीय तहले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बढी प्राथमिकता दिएका छन्। तर, बजेट कटौती र खर्च व्यवस्थापनका चुनौतीले आगामी आर्थिक वर्षमा स्थानीय विकासकार्य प्रभावित हुने आशंका गरिएको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीले मात्र सीमित खर्च सम्भव हुने व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउन्छन् । तनहुँका स्थानीय तहहरूको बजेटमा विविधता देखिन्छ । कतिपयले बजेट वृद्धि गरेका छन् भने कतिपयले कटौती गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम तनहुँका ९ स्थानीय तहले मंगलबार एकै दिन र शुक्लागण्डकी नगरपालिकाले सोमबार बजेट प्रस्तुत गरेको थियो ।

व्यास नगरपालिकाले रु एक अर्ब ७५ करोड ८४ लाख १९ हजारमध्ये चालु तर्फ रु ९८ करोड २० लाख सात हजार चार सय र पुँजीगतगतर्फ रु ७७ करोड ६४ लाख ११ हजार छ सय अनुमान गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । उनका अनुसार प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा दुई अर्ब ४ करोड ९३ लाख ६७ हजार पारित गरेको थियो ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले आगामी वर्षका लागि रु एक अर्ब २४ करोड ७६ लाख ३३ हजार नौ सय ६२ को अनुमानित बजेट प्रस्तुत गरे । बजेटको आम्दानीतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १४ करोड ४८ लाख अनुमान गरिएको छ । राजस्व बाँडफाँड रु ११ करोड ९२ लाख ६७ हजार, सशर्त अनुदान रु ६३ करोड ५० लाख, गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान रु एक करोड ९४ लाख २९ हजार, बाँडफाँडअन्तर्गत रु एक करोड ६१ लख दश हजार, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान रु ६० लाख अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु २५ करोड दश लाख २७ हजार नौ सय ३३ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

घरजग्गा दर्ता शुल्क रु एक करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु दुई करोड १८ लाख, गण्डकी प्रदेशबाट विशेष अनुदान रु ४० लाख, सशर्त अनुदान रु दुई लाख र जनसहभागिताबाट रु एक करोड ५० लाख स्रोत सङ्कलन हुने अनुमान गरिएको छ । खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र रु २४ करोड सात लाख ५६ हजार २९, सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान रु ६३ करोड ५० लाख, सङ्घीय सरकार समपुरक अनुदान रु सात करोड २६ लाख ६६ हजार छ सय ६६, गण्डकी प्रदेशबाट समपुरक अनुदान रु एक करोड २० लाख, विशेष अनुदान रु ४० लाख अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ वर्षमा एक अर्ब १२ करोड ३९ लाख बजेट ल्याएको थियो ।

भीमाद नगरपालिकाका उपपप्रमुख शारदा खनालले आगामी वर्षका लागि रु ६३ करोड ७२ लाख ६० हजार ३६३ बराबरको बजेट प्रस्तुत गरिन्। त्यसमध्ये चालुतर्फ रु ४४ करोड ४४ लाख ८९ हजार एक सय तीन र पुँजीगततर्फ रु १९ करोड २७ लाख ७१ हजार दुई सय ५९ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ६२ करोड ४७ लाख १४ हजार बजेट ल्याएको थियो ।

भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ८८ करोड ५९ लाख चार हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख उमा गोतामले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । त्यसमध्ये चालुतर्फ रु ६४ करोड पाँच लाख चार हजार र पुँजीगततर्फ रु २४ करोड ५४ लाख विनियोजन गरिएको छ ।

उपप्रमुख गोतामेका अनुसार स्वास्थ्यतर्फ रु छ करोड ६४ लाख, शिक्षातर्फ रु ३६ करोड ६७ लाख, कृषि तथा पशुपालनतर्फ रु तीन करोड ६५ लाख, सुशासन र कार्यालय व्यवस्थापनतर्फ रु १५ करोड ३३ लाख, भौतिक पूर्वाधारतर्फ रु २४ करोड ५४ लाख, विपद् व्यवस्थापन रु ५० लाख विनियोजन गरिएको छ । आम्दानीतर्फ राजस्व बाँडफाँड प्रदेशबाट रु एक करोड ३४ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु ११ करोड ५४ लाख, आन्तरिक आयबाट रु तीन करोड २५ लाख, अनुदान सङ्घीय समानीकरण सशर्त रु ६२ करोड ६४ लाख, प्रदेश सरकार समानीकरण, सशर्त रु दुई करोड ८६ लाख प्राप्त हुने अनुमान छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ८५ करोड १६ लाख ७४ हजार बजेट ल्याएको थियो ।

बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ६४ करोड ९० लाख अनुमानित बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष पञ्चमाया गुरुङका अनुसार विनियोजितमध्ये चालुतर्फ रु ३९ करोड १२ लाख पाँच हजार र पुँजीगततर्फ रु २५ करोड ७८ लाख विनियोजन गरिएको छ ।

उनका अनुसार पूर्वाधार विकासतर्फ १४ करोड ९० लाख, आर्थिक विकासतर्फ रु तीन करोड ४७ लाख, सामाजिक विकासतर्फ रु सात करोड १५ लाख ४० हजार, प्राकृतिक प्रकोप तथा विपद्का लागि रु २५ लाख, प्रशासनिकतर्फ रु दश करोड ५० लाख, वडातर्फ छ वडाको पूर्वाधार विकासका लागि रु चार करोड विनियोजन गरिएको छ । उक्त बजेटको आम्दानीतर्फ सङ्घीय सरकार सशर्त चालुतर्फ रु १८ करोड ९४ लाख, पुँजीगततर्फ रु एक करोड, विशेष अनुदानतर्फ रु ८५ लाख, समपुरक अनुदानतर्फ ९१ लाख, वित्तीय समानीकरणतर्फ रु आठ करोड ९९ लाख, राजस्व बाँडफाँडतर्फ रु आठ करोड ५९ लाख हुने अनुमान छ ।

गण्डकी प्रदेश वित्तीय समानीकरणतर्फ रु एक करोड दश लाख ५३ हजार, विशेष अनुदानतर्फ रु ४० लाख, समपुरकतर्फ रु ६० लाख र आन्तरिक आयतर्फ रु १५ करोड १० लाख हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ५४ करोड ४५ लाख ४४ हजार बजेट ल्याएको थियो ।

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ६८ करोड ७६ लाख ३६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार चालुतर्फ रु ४७ करोड ४७ लाख र पुँजीगततर्फ रु २१ करोड ३५ लाख विनियोजन गरिएको छ । कूल बजेटमध्ये चालुतर्फ ६८ दशमलव ९४ र पुँजीगततर्फ ३१ दशमलव छ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु नौ करोड ४६ लाख, सशर्त अनुदानबाट रु ८० लाख, चालुबाट रु १८ करोड, राजस्व बाँडफाँटबाट रु आठ करोड ४५ लाख, गण्डकी प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड, प्रदेश राजश्व बाँडफाँडबाट रु ८८ लाख, राष्ट्रपति शैक्षिक सुधारबाट रु ९० लाख र सडक बोर्डबाट रु २३ लाख प्राप्त हुने अनुमान गरिएको घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले वडातर्फ वडा नं १ का लागि रु ५१ लाख, वडा नम्बर २ का लागि रु ५३ लाख ८६ हजार, वडा नं ३ का लागि ४३ लाख ३९ हजार, वडा नं ४ का लागि रु ४७ लाख १७ हजार, वडा नं ५ का लागि रु ५१ लाख ४१ हजार, वडा नं ६ का लागि रु ५२ लाख ४५ हजार र वडा नं ७ का लागि रु ४९ लाख ९७ हजार विनियोजन गरेको छ ।

आर्थिक विकासतर्फ रु चार करोड ७३ लाख ७१ हजार, उद्योग शाखातर्फ रु १२ लाख ६० हजार, सामाजिक विकासतर्फ रु ३४ करोड २९ लाख १५ हजार, शिक्ष तथा खेलकुदतर्फ रु १५ करोड ४७ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु १३ करोड, वन तथा वातावरणतर्फ रु तीन करोड ९५ लाख, सुशासनतर्फ रु दश करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ ।

आगामी आवका लागि भौतिक पूर्वाधार, ल्याण्डफिल्ड साइट, कृषि तथा पशुक्षेत्रको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीमा पर्याप्त बजेट विनियोजन गरिएको घिमिरेले उल्लेख गरे । चालु आवको जेठ मसान्तसम्ममा ५८ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको घिमिरेले जानकारी दिए । उनका अनुसार त्यसमध्ये चालुतर्फ ७१ दशमलव चार र पुँजीगत ४२ दशमलव ८९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ५२ करोड २४ लाख, ४ हजार बजेट पारित गरेको थियो ।

आँबुखैरेनी गाउँपालिकाले रु ६२ करोड आठ लाख २२ हजार ८३ को बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दुर्गा अर्यालका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड आठ लाख ४९ हजार, पूर्वाधार विकासतर्फ रु २१ करोड ४४ लाख पाँच हजार ७२, संस्थागत विकास तथा सुशासनतर्फ रु ११ करोड ५३ लाख ९० हजार, सामाजिक विकासतर्फ रु २३ करोड ५१ लाख ३८ हजार ११ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ वर्षमा ६३ करोड ११ लाख १५ हजार बजेट पारित गरेको थियो ।

ऋषिङ गाउँपालिकाले आगामी आथिक वर्षका लागि रु ५२ करोड ४० लाख ९५ हजार चार सय ४७ को बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गिनुमाया थापाका अनुसार आम्दानीतर्फ आन्तरिक आय रु तीन करोड ५०, सङ्घीय सरकारको वित्तीय समानीकरण रु दश करोड २५ लाख, राजश्व बाँडफाँड रु नौ करोड ४२ लाख ९५ हजार, समपुरक रु एक करोड ६८ लाख अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ५२ करोड २४ लाख, ४ हजार बजेट पारित गरेको थियो ।

घिरिङ गाउँपालिकाले रु ४५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष राधादेवी अधिकारीका अनुसार आम्दानीतर्फ आन्तरिक स्रोत रु एक करोड, सङ्घ वित्तीय समानीकरण रु चार करोड १९ लाख १३ हजार ६०, राजस्व बाँडफाँड रु आठ करोड ६० लाख, प्रदेश सरकार वित्तीय समानीकरण रु सात करोड ५६ लाख ४० हजार नौ सय ४०, प्रदेश सरकार राजश्व बाँडफाँड रु एक करोड चार लाख ७० हजार, सङ्घीय सशर्त अनुदान रु १७ करोड ३५ लाख अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ५५ करोड ८ लाख, १३ हजारबजेट पारित गरेको थियो ।

देवघाट गाउँपालिकाले रु ४७ करोड ७३ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ४५ करोड ५८ लाख ८८ हजार ५ सय बजेट पारित ल्याएको थियो ।

तनहुँका स्थानीय तहहरूको बजेटमा विविधता देखिन्छ । कतिपयले बजेट वृद्धि गरेका छन् भने कतिपयले कटौती गरेका छन् । विकासका क्षेत्रमा बजेटको प्रभावकारी प्रयोग, खर्च व्यवस्थापनमा पारदर्शिता र अनुदानको सही सदुपयोग गर्नुपर्ने चुनौती भने सदैव रहन्छ ।

स्थानीय सरकारहरूले आर्थिक स्रोत अनुसार आफ्ना योजना बनाउँदै अगाडि बढ्नुपर्ने र स्थानीय जनताको हितमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने जिम्मेवारीमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker