म्याग्देका २२७ जना एकल महिलाले लगाए रोतो टिका र पछ्यौरा (फोटोफिचर सहित)
नारायण खड्का (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिकाले भने यस दिवसमा समाजमा व्याप्त कुरितीलाई चिर्दै श्रीमान गुमाएका एकल महिलालाई रातो टिका र पछ्यौरा दिइएको छ । विभिन्न कारणले श्रीमानको मृत्यु पश्चात एकल जीवन बिताउँदा महिलाले समाजमा झेल्दै आउनुपरेको चुनौतीलाई चिर्दै अन्य महिला तथा पुरुष सरह जीवनयापन गर्न सहज बनाउने उद्देश्यका साथ म्याग्दे गाउँपालिकाले एकल महिलालाई रातो टिका र पछ्यौरा कार्यक्रम गरेको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।
‘गाउँपालिकामा एकल महिलाहरुको हकहितका लागि समाज पनि गठन गरेका छौं’, अध्यक्ष रानाले भनिन्, ‘पुरुषप्रधान तथा परम्परागत रुढीवादी सोचका कारण एकल महिलालाई हाम्रो समाजले हेर्ने दृष्टि र गर्ने व्यवहार समेत राम्रो नभएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि यो कार्यक्रम अगाडि ल्याएका हौं ।’
श्रीमान्को वियोग पछि रातो रङ्गलाई छुदै नछोएका महिलाहरु रातो टिका लगाएर रातो पछ्यौरा ओढाउँदा भावुक बनेका थिए । अतितलाई सम्झदै आँखाभरी आँसु छछल्किएको देखिथ्यो भने कोही रुदै बसेका पनि थिए ।
श्रीमानको मृत्यु पछि करिब चार वर्षदेखि एकल जीवन बिताउँदै आएकी गाउँपालिकाकी अध्यक्ष रानाले भावुक बन्दै आफ्नै जेठानी दिदीहरु शुकुमाया राना र विष्णुमाया रानाको हातबाट रातो टिका र पछ्यौरा ग्रहण गरेकी थिइन् । सादा पोशकमा रहेकी अध्यक्षले रातोटिका लगाएर पछ्यौरा ओढेपछि कार्यक्रममा सहभागि महिलाहरु निकै उत्साहित पनि देखिन्थे ।
श्रीमान्को मृत्युको करिव एक महिना पछि स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित रानाले आफुले एकल महिलाले समाजमा झेल्नुपरेका चुनौती र भोगाइलाई नजिकबाट निहालेको बताइन् । यो समस्याबाट मुक्तिदिनका लागि आफ्नो घरपरिवारका सदस्यहरुको सहमतिमै आफुले रातो टिका र पछ्यौरा ग्रहण गरेको उनले सुनाइन् ।
गाउँपालिकाकी अध्यक्षले रातो टिका र पछ्यौरा ग्रहण गरेसंगै कार्यक्रममा सहभागि करिब २२७ जना एकल महिलाहरु लाम्बद्ध भएर अध्यक्षको हातबाट रातोटिका र पछ्यौरा ग्रहण गरेका थिए ।

‘परम्परादेखि चल्दै आएको चलनलाई बदल्नका लागि समाज र घरपरिवारलाई मनाउन गाह्रो भयो’, अध्यक्ष रानाले भनिन्, ‘अन्ततः सबै कुरा बुझाएपछि अरुको मनको इच्छा विपरित जानु हुँदैन भनेर उहाँहरुले पनि स्वीकार्नुभयो । यसमा मलाई मेरो छोराछोरी, घरपरिवार र गाउँबासीको ठुलो साथ मिलेको छ ।’
मुखले जति नारी पुरुष एक भन्ने गरिएपनि एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको म्याग्दे-५ की ४८ वर्षीया पदम माया थापा बताउँछिन् । ‘पुरुष प्रदान समाजमा नारीलाई त दुःख छ नै तर एकल महिला भएपछि झन धेरै समस्या र चुनौतीहरु झेल्नुपर्दो रहेछ’, उनले भनिन्, ‘दुर्घटनामा परी २३ वर्ष अगाडि श्रीमानको निधन भयो ।
त्यस यता छोरोछोरी हुर्काउन, पढाउन निकै संघर्ष गरे । एकल महिला भएपछि समाजले गर्ने व्यवहारले निकै पीडा दिन्छ । आज छोराछोरीकै सहमतिमा रातो टिका र पछ्यौरा ग्रहण गरेको छु। गाउँपालिकाको यो कार्यक्रमले हामी एकल महिलाहरुलाई समाजमा पुनः अन्य जस्तै भएर बस्ने आधार दिएको छ ।’
वैदेशीक रोजगारीमा गएका श्रीमानको मृत्यु भएपछि एकल जीवन बिताउँदै आएकी म्याग्दे-३ की २८ वर्षीया अन्जु आलेले गाउँपालिकाको यो कार्यक्रमले आफुलाई हौसला मिलेको बताइन् । ‘गाउँपालिकाले चलाएको यो कार्यक्रमले एकल महिलाले रातो टिका, रातो चुरा, रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यतालाई तोड्न बल पुगेको छ’, उनले भनिन्, ‘२८ महिना अगाडि श्रीमानको मृत्यु भएपछि निकै कष्टपूर्ण रुपमा एकल जीवन बिताउँदै आएको छु । अब हामी एकल महिलाहरुलाई विभिन्न सीपमुलक तालिम तथा आयआर्जनका कुनै कार्यक्रममा सहभागि गराइदिएमा सहज हुने थियो ।’
कार्यक्रममा सहभागि भएकी म्याग्दे-६ की ८० वर्षीया तिल कुमार थापाले पनि गाउँपालिकाले चालाएको अभियान राम्रो भएको बताइन् । उनले भनिन्, ‘श्रीमानको मृत्यु भएको चार वर्ष बित्यो। म त बुढी भइसके । मलाई त रातो टिका लगाएपनि नलगाएपनि केही फरक पर्दैन तर, उमेर अवस्थामै एकल बनेका महिलाहरुलाई यो कार्यक्रमले समाजमा सम्मानजनक जीवन यापनमा टेवा पुग्ने देखेको छु ।’










