तनहुँको ऋषिङ स्थित धारापानीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ्ग-१, धारापानीमा बुधबार साझ स्कुटर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् । ऋषिङ्ग-४, थप्रेकबाट दमौलीतर्फ आईरहेको ग१८प ३७७ स्कुटर सालबास ओरालोको धारापानीमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि ज्यान गुमाउनेमा स्कुटर चालक ऋषिङ्ग-४ थप्रेक निवासी सन्देश गजमेर र पछाडी सवार स्थानीय पवित्रा रानाभाट रहेको तनहुँ प्रहरीले जनाएको छ ।
गजमेरको दमौली अस्पताल र रानाभाटको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गजमेर बाल विकास माविका लेखापाल र रानाभाट महेन्द्रज्योती माविका शिक्षक भएको बताइएको छ ।
कोरोना संक्रमण जोखिम बढेपछि विद्यालय बन्द भएको हुँदा दुवै जना व्यास नगरपालिका-३ देउराली नगरस्थित घर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।
प्रत्यक्षदर्शीहरुले जनाए अनुसार ओरालोमा ब्रेक फेल भइ सन्तुलन गुमाउँदा स्कुटर सडक छेउमा रिकोराखेको पानी ट्याङकरमा ठोकिएको थियो । स्थानीयहरुको सहयोगमा घाइतेहरुको उद्धार गरि दमौली ल्याइएको थियो ।
उक्त स्थानमै मंगलबार दिउँसो यात्रुबाहक जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।










