तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि दमौली पुग्नुर्ने बाध्यता रहेकामा स्थानीय तहबाटै प्राप्त गर्ने अवसर मिलेसँगै सर्वसाधारणलाई सजिलो भएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लाका आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण भइरहेको भण्डारीले बताउनुभयो ।
जिल्लाका व्यास नगरपालिका र भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम बाँकी छ । विगत केही वर्ष पहिलादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरी प्रशासनमा परिचयपत्र आएर बसेकालाई पालिकाबाटै परिचयपत्र प्राप्त गर्ने व्यवस्था मिलाइएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।
उहाँले भन्नुभयो, “कार्यालयमा ६० हजारभन्दा बढी परिचयपत्र आएर बसेका थिए, परिचयपत्र सम्बन्धित पालिकामै लगेर वितरण गर्ने काम भइरहेको छ, यसले गर्दा सर्वसाधारणलाई दमौलीसम्म आउनुपरेन ।” प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको हो, पञ्जीकरण विभागबाट सहयोग पायौँ कर्मचारीलाई पालिकामै खटाएर परिचयपत्र वितरण गरिएको छ ।” घरदैलोमै गएर सेवा दिन सकिए जनताको मन जित्न सकिने प्रजिअ थापाको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबाटै परिचयपत्र वितरण गरिँदा सर्वसाधारणलाई सहज भएको बताउनुभयो । उहाँका अनुसार बन्दीपुरका छवटै वडामा पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको थियो । बन्दीपुरका स्थानीय आनन्द गुरुङले परिचयपत्र लिनका लागि एक दिनको समय छुट्याएर दमौली जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाबाटै परिचयपत्र पाउँदा समयको पनि बचत भयो ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker