गोर्खा वेल्फेयरद्वारा तनहुँका १४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली
महामारिकै रुप लिएर दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदाय स्तरमै फैलिएको छ । यसरी संक्रमण फैलिदै गएपछि संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रिको अभाव हुन थालेको छ । कोभिड संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रि, अक्सिजन, एम्बुलेन्स, शव बहान जस्ता सामाग्रिको जोडजाडममा अहिले तनहुँका स्थानीय पालिकाहरु लागि परेका छन् । यी अत्यावश्यक सामाग्रिको व्यवस्थापनमा विभिन्न सामाजिक, सरकारी तथा गैर सरकारी संघ संस्था, वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुले पनि हातेमालो गरी कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणको अभियानमा जुटेका छन् ।
यही अभियान अन्तरगत गोर्खा वेल्फेयर ट्रष्ट नेपाल अन्तरगत रहेको ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फाट दमौली अस्पताल र व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । गोर्खा वेल्फेयरले दमौली अस्पतालको आइसोलेशनलाई ३ लाख ६७ हजार ९६० रुपैयाँ र नगरपालिकाले कृषि विकास बैंक दमौलीको पुरानो भवनमा सञ्चालन गरेको सामुदायिक आइसोलेशनलाई १ लाख ३३ हजार ६५१ रुपैयाँ गरी ५ लाख १ हजार ६११ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमका निर्देशक दीपक कुमार श्रेष्ठले बताए ।
# कोभिड-१९ विरुद्धको अभियानमा हातेमालो गर्न नगरप्रमुख न्यौपानेको आव्हान
# तनहुँमा ५३० जना संक्रमित मध्ये ५८ जना निको भए, ११ जनाको मृत्यु
# २६ जनाको आइसोलेशनमा उपचार हुँदै, ४३६ जना होम आइसोलेशनमा
# व्यास र डिसिसियमसीले दमौलीमा सञ्चालनमा ल्याए एमबिबियस डक्टर, अक्सिजन सहितको ५० बेडको आइसोलेशन
वेल्फेयरले तनहुँको आँवुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकाका ५ वटा स्वास्थ्य संस्था, ३ वटा आइसोलेशन, ४ वटा क्वारेन्टाइन, २ वटा सामुदायिक संस्था गरी १४ स्थानमा स्वास्थ्य सामाग्रि सहयोग गरेको ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमका कार्यक्रम निर्देशक श्रेष्ठले बताए ।
उनले भने, ‘गोर्खा वेल्फेयरले कोभिड-१९ संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि ४३ वटा जिल्लाका ९४ वटा पालिकाहरुमा रहेका करिब ४०० वटा स्वास्थ्य संस्थाहरुलाई करिब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराइसकेको छ र आगामि दिनमा पनि यो सहयोग जारी राख्ने हाम्रो तयारी छ ।’
उक्त संस्थाले उपलब्ध गराएको पिपिई, एन९५ मास्क, र्सर्जिकल मास्क, पञ्जा, फेसशिल्ड, स्यानीटाइजर, स्यानीटाइज, मेकिडल गाउन, थर्मल गन, गमबुट, हाइजिन किट, सेफ्टी ज्याकेट लगायतका सामाग्रि बुझ्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोरोना भाइरस विरुद्धको लडाइमा सबैलाई हातेमालो गरी अगाडि बढ्न आव्हान गरेका छन् । संक्रमितहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने तयारीमा नगरपालिका लागि परेको बताउँदै नगरप्रमुख न्यौपानेले यसका लागि विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा अन्य सरोकारवालाहरुलाई हातेमालो गरी कोरोना विरुद्धको अभियानमा जुट्न अनुरोध गरेका हुन् ।
यस्तै, व्यास नगरपालिका र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले दमौलीमा ५० बेड क्षेमताको आइसोलेशन तयार गरेको छ । उक्त आइसोलेसनमा एमबिबिएस डक्टर सहितको स्वास्थ्यकर्मी र २५ थान अक्सिजन सिलिन्डरको समेत व्यवस्थापन गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
‘नगरपालिकाले गम्भिर प्रकृतिका संक्रमितलाई अन्य अस्पतालहरुमा पठाउने र सामान्य अवस्थाका संक्रमितलाई सोही आइसोलेशनमा राखेर उपचार गर्ने तयारी गरेका छौं’, नगरप्रमुख न्यौपानले भने, ‘सामुदायिक आइसोलेशनमा विशेष गरी विपन्न समुदाय तथा विभिन्न समस्यामा परी सहज रुपमा उपचार सेवा प्राप्त गर्न नसकेका नागरिकलाई लक्षित गरी सेवा प्रवाह गर्ने हाम्रो योजना रहेको छ ।’
स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा वैशाख महिना यता ५३० जनामा संक्रमण पुष्टि भएकोमा ५८ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । संक्रमितहरु मध्ये २६ जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ भने ४३६ जना होम आइसोलेशनमा बस्दै आएका छन् । यस्तै, तनहुँको १० वटै पालिकामा गरी १२१ बेडको ११ वटा कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याइएको छ । ३ वटा आइसियु, ४ वडा भेन्टिलेटर र २४३ अक्सिजन सिलिन्डर, २९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।









