पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड २४ घण्टापछि एकतर्फि सञ्चालन

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–डुम्रे सडक खण्ड २४ घण्टापछि एकतर्फि सञ्चालनमा ल्याइएको छ ।
बुधबार साँझ करिब ५ बजेको समयमा खसेको पहिरो आज बिहानबाट हटाउन सुरु गरिएको थियो । आज साँझ करिब ५ः३० बजे पहिरो हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
सडकमाथिको डाँडा खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनः सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
पहिरो हटाएर दुईतर्फी राजमार्ग खुलाउने गरी काम भइरहेको उनले बताए ।
यस्तै, पहिरो गएको स्थलमा नेपाली सेना पनि परिचालन गरिएको थियो । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाले पहिरोसँगै खसेका रूख काट्ने काममा सहयोग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना निकालेर पहिरोले पृथ्वी राजमार्गको घाँसीकुवा खण्ड अवरूद्ध रहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो ।
निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत सडक चौडा बनाउने क्रममा भित्तो काट्ने काम भएकाले यो क्षेत्रमा पहिरोको उच्च जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यो सडक प्रयोग गर्ने सर्वसाधारणलाई सास्ती झेल्नुपरेको थियो ।
पृथ्वीराजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुवा निस्कन तालघरे, दरैपधेंरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो । भित्रिबाटो समेत साँघुरो भएका कारण घण्टौसम्म सवारीसाधान जम्ममा पर्दा यात्रुहरुले सास्ति झेल्नुपरेको थियो ।