भेनेजुएला आक्रमणले उब्जाएको प्रश्न

सुरेशकुमार पाण्डे

अमेरिकी साम्राज्यवादले विश्वमा आफ्नो अधिनायकत्व स्थापित गर्ने लक्ष्य लिएको छ । यो प्रयास आजको मात्र होइन, धेरै अघिदेखि निरन्तर रूपमा अगाडि बढिरहेको रणनीतिक अभियान हो। पछिल्लो समय भेनेजुएलामाथि भएको आक्रमण त्यसैको एउटा कडी मात्र हो । अमेरिका साना र कमजोर मुलुकहरूलाई विभिन्न बहानामा निरन्तर आक्रमण गर्दै आएको इतिहास सर्वविदित छ ।

नेपालमा लागू गरिएको एमसीसी परियोजनालाई पनि धेरैले यही रणनीतिक हस्तक्षेपको एक रूपका रूपमा हेर्ने गरेका छन्। अमेरिकाले नेपालको काँधमा बन्दुक राखेर चीनतर्फ निशाना लगाउन खोजेको आरोप राजनीतिक वृत्तमा उठ्दै आएको छ। नेपाललाई आफ्नो रणभूमि बनाउने दीर्घकालीन योजनाअन्तर्गत अहिले सरकार विभिन्न अन्तर्राष्ट्रिय दबाबमा चलेको विश्लेषण गरिन्छ। बारबरा फाउन्डेसनको प्रभाव, तथाकथित ‘जेन्जी आन्दोलन’को हाइज्याक भएको आरोप र अचानक सत्ता परिवर्तनका घटनालाई कतिपयले लामो समयदेखिको योजनाको परिणामका रूपमा व्याख्या गर्छन् ।

१२२ वर्षपछि अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि प्रत्यक्ष सैन्य हमला गरेको भनिएको छ। भनाइ छ– ‘सर्प भोको भयो भने आफ्नै बच्चा पनि खान्छ।’ आज साम्राज्यवादको चरित्र पनि यस्तै बेलगाम बन्दै गएको देखिन्छ। आफूलाई शान्तिका दूत भन्दै नोबेल पुरस्कारको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को सुरुवातमै वेनेजुएलामाथि आक्रमण गरेर आफ्नो वास्तविक अनुहार संसारसामु प्रकट गरेको आलोचकहरूको भनाइ छ ।

अमेरिकी डेल्टा फोर्सका कमाण्डोहरूलाई भेनेजुएलामा पठाई राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राष्ट्रपति निवासबाटै पक्राउ गरिएको दाबी गरिएको छ । करिब ३० मिनेटमै सैन्य कारबाही सम्पन्न गरिएको र उनीहरूलाई ‘नार्को टेररिज्म’को आरोप लगाइएको समाचार बाहिरिएको छ ।

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकासमा श्रृंखलाबद्ध विस्फोट भएका थिए। राष्ट्रपति ट्रम्पले घटनाको पुष्टि गर्दै मादुरो दम्पतीलाई देशबाहिर लगिएको दाबी गरेका छन्। ट्रम्पको आरोप छ– मादुरोले अमेरिकामा लागुऔषध आपूर्ति गरिरहेका थिए। तर यो आरोप सत्य हो वा मिथ्या भन्ने प्रश्न अमेरिकी साम्राज्यवादको विगतको व्यवहारले नै उठाइदिन्छ । भेनेजुएला सरकारले आरोपको खण्डन गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ ।

यस आक्रमणको रुस, चीनलगायत मुलुकहरूले कडा विरोध गरेका छन् । यो घटना करिब दुई दशकअघि इराकका राष्ट्रपति सद्दाम हुसेनमाथि लगाइएको झुटा आरोपसँग तुलना गर्न थालिएको छ । सामूहिक विनाशका हतियारको मिथ्या आरोप लगाएर इराकमाथि आक्रमण गरियो, देश तहसनहस पारियो र अन्ततः सन् २००६ डिसेम्बर ३० मा सद्दाम हुसेनलाई फाँसी दिइयो। पछि अमेरिका आफैंले ती आरोप पुष्टि गर्न नसकेको इतिहास छ ।

आज भेनेजुएलामाथि पनि उस्तै प्रकृतिको आक्रमण गरिएको विश्लेषण भइरहेको छ । गत वर्ष युक्रेनलाई उक्साएर रुस–युक्रेन युद्ध चर्काइएको थियो भने अहिले भेनेजुएलासँगको पुरानो तनातनी सैन्य हस्तक्षेपमा परिणत भएको देखिन्छ ।

अब मूल प्रश्न उठ्छ–अमेरिकाको चासो किन भेनेजुएला ?

भेनेजुएला दक्षिण अमेरिकाको उत्तर भागमा अवस्थित देश हो, जसको राजधानी काराकास हो। यस देशमा विश्वकै सबैभन्दा ठूलो कच्चा तेल भण्डार रहेको मानिन्छ। करिब ३०३ अर्ब ब्यारेल तेल भण्डारसहित भेनेजुएला विश्वको पहिलो स्थानमा छ, भने साउदी अरेबिया दोस्रो स्थानमा पर्छ। यही तेल भण्डार नै अमेरिकी हस्तक्षेपको प्रमुख कारण मानिन्छ ।

भेनेजुएलाको तेल ‘एक्स्ट्रा हेभी आयल’ भएकाले उत्खननका लागि उन्नत प्रविधि आवश्यक पर्छ। प्रविधिको अभावका कारण भेनेजुएलाले अपेक्षित मात्रामा तेल निर्यात गर्न सकेको छैन । तर अमेरिका यही कमजोरीलाई अवसरका रूपमा प्रयोग गर्न चाहन्छ । ट्रम्प प्रशासनले सैन्य हस्तक्षेपपछि अमेरिकी तेल कम्पनीहरू भेनेजुएलामा प्रवेश गर्ने संकेतसमेत दिएको छ ।

अमेरिकालाई सन् २०३० सम्म आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा सुरक्षित गर्नुपर्ने दबाब छ। यही कारण तेल, ग्यास र रणनीतिक स्रोत भएका मुलुकहरू अमेरिकी निशानामा पर्ने गरेका छन्। भेनेजुएलामा प्राकृतिक ग्यासको भण्डार पनि विश्वकै शीर्ष आठभित्र पर्छ ।

यसरी हेर्दा भेनेजुएलामाथि भएको आक्रमण केवल एउटा देशको समस्या मात्र होइन, यो सम्पूर्ण विश्वका लागि गम्भीर प्रश्न हो– अमेरिकी साम्राज्यवादबाट कुन देश सुरक्षित छ? र यसको आतङ्कबाट कसरी जोगिने ? आज विश्वभर अमेरिकी दादागिरी चरम अवस्थामा पुगेको छ। चीनजस्तो उदाउँदै गरेको शक्ति घेराबन्दीमा पार्ने रणनीति, भारतजस्ता देशलाई प्रयोग गर्ने कूटनीति र आन्तरिक तथा बाह्य हस्तक्षेप अमेरिकाको दीर्घकालीन नीति बनेको छ । चीन–रुसले प्रतिरोधको आवाज उठाए पनि अमेरिकी आक्रामकता रोकिन सकेको छैन ।

भेनेजुएलाको घटनालाई तमासा झैं हेरेर बसेका मुलुकहरूको पालो नआउला भन्न सकिन्न। अमेरिकी साम्राज्यवादले पालैपालो स्वतन्त्र राष्ट्रहरूलाई निशाना बनाइरहेको छ। नेपालमा पनि अमेरिकी चलखेल तीव्र बन्दै गएको सर्वविदित छ। यस्तो अवस्थामा देशभक्त राजनीतिक शक्तिहरूको एकता ऐतिहासिक आवश्यकता बनेको छ। नत्र आत्मघाती परिणाम भोग्नुपर्ने खतरा रहिरहन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker