म्याग्दे गाउँपालिकाद्वारा कोरोना विरुद्धको खोप खरिदका लागि अनुमति माग
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना विरुद्धको खोप खरिदका लागि अनुमति मागेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण उच्च बन्दै गएको भन्दै गाउँपालिकाले सरकारबाट यथाशीघ्र उपलब्ध नहुने भए भ्याक्सिन खरिदका लागि अनुमति दिन माग गरेको हो ।
गाउँपालिका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै भ्याक्सिन खरिद गर्ने अनुमित दिन माग गरेका हुन् । पत्रमा नागरिकमा खोपको माग अत्यधिक रहेको भन्दै यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गरिएको छ।
यदि सरकारबाट उपलब्ध नहुने अवस्थामा नागरिकको जीवनरक्षाका लागि गाउँपालिकाको विकास बजेट कटौती गरेर भए पनि खरिद गर्न तयार रहेको भन्दै गाउँपालिकाले विदेशबाट खरिद अनुमति माग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संक्रमण फैलिंदै गए पनि खोप आउने सम्भावना कम देखिंदा पत्राचार गरिएको बताएका छन् ।