पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड : पूर्वी खण्डमा कालोपत्र गर्न सुरु, पश्चिम खण्डको भौतिक प्रगति १२ प्रतिशत
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीरामार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । विगत दुइ वर्षदेखि यस सडकलाई दुइ खण्डमा विभाजन गरी राजमार्गको स्तारोन्नती तथा विस्तार कार्य भइरहेको छ । सडक निर्माण कार्य भइरहेका कारण गण्डकी प्रदेशको ‘लाईफलाइन’का रुपमा रहेको राजमार्गको यात्रा जोखिमपूर्ण पनि बनिरहेको छ ।
निर्माण पक्षले सडक निर्माण कार्यलाई व्यवस्थित ढंगले अगाडि बढाउन नसक्दा निर्मार्ण कार्यले गति लिन सकेको छैन । राजमार्गमा यात्रुले सास्ति झेल्नु परेको छ । सडकका कारण गण्डकी प्रदेशको आर्थिक गतिविधिमा समेत असर पर्दै गएको छ । विशेष गरी पर्यटन क्षेत्र निकै प्रभावित हुन पुगेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।
२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गरिसक्नर्ुपर्छ । तर, निर्माण पक्षले ठेक्का सम्झौता गरेको ७२ प्रतिशत समय सकिदा जम्मा १२ प्रतिशत मात्र भौतिक प्रगति देखाउन सकेको छ ।
हाल ग्यविङ जाली, टेवा पर्खाल, सडक फराकिलो बनाउने, कल्भर्ट र पुल निर्माणको काम भइरहेको मुग्लिन-पोखरा सडक आयोजना -पश्चिम खण्ड)का इन्जिनियर नारायण पौडेलले बताए । उनले भने, ‘चालु आर्थिक वर्षभित्र जामुनेदेखि कुम्ले खोलाको करिव ११ किलोमिटर एकतर्फी सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । सोही अनुसार काम तीव्रताका साथ अगाडि बढाइएको छ ।’
यस खण्डमा ८ साना र ४ ठुला पुल बन्नुपर्नेमा पुलहरु निर्माणाधिन अवस्थामै रहेको उनले बताए । पश्चिम खण्डमा १२ पाइप कल्भर्ट, ७८ स्याल्व कल्भर्ट, ३५ वक्स कल्भर्ट बन्नुपर्नेमा १३ स्याल्व कल्भर्ट र १५ बक्स कल्भर्ट मात्र बनेका छन् ।
राजमार्गको पश्चिम खण्ड जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतीको काम चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ । यो खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै, मुग्लिङ-पोखराको पूर्वी खण्ड आँबुखैरेनी-जामुने खण्डको कामले भने केही गति लिएको छ । यस खण्डमा करिव साढे ७ किलोमिटर सडक कालोपत्र समेत गरिसकिएको छ । राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । सोही अन्तर्गत डुम्रे-छिर्कने खण्डमा ५ किलोमिटर र आँबुखैरेनी-बरादी खण्डमा सँढे २ किलोमिटर गरी साढे ७ किलोमिटर एकतर्फी -दुइ लेन) सडक कालोपत्रे गरिएको आयोजनाले जनाएको छ ।
सडक विस्तारको जिम्मा लिइएका निर्माण पक्षले करिब ८० प्रतिशत समय बितिसक्दा पूर्वीखण्डले करिव ३८ प्रतिशत भौतिक प्रगति देखाएको छ । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त गतिमा छ ।
यस्तै, आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट बरादीको पुलसम्म एकतर्फी सडकखण्ड कालोपत्रे गर्ने तयारी भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनले भने, ‘सम्भव भएको स्थानमा कालोपत्रे गर्दै जाने छौं ।’
यस खण्डमा १४० कल्भर्ट बन्नुपर्नेमा १२० बढी कल्भर्ट निर्माण गरिसकिएको छ । अन्यमा काम चलिरहेको उनले बताए । सानाठुला गरी १६ वटा पुल बन्नुपर्नेमा १४ वटा पुल सम्पन्न भइसकेका छन् भने २ स्थानको पुल निर्माणाधिन अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
सडक सिमाभित्र पर्ने करिव ४० प्रतिशत विद्युत पोलहरु स्थानतरण गरिसकिएको छ । समयमै विद्युत पोल स्थानतरण नगरिदिदा सडक विस्तार कार्यमा अवरोध खडा भएको निर्माण पक्षले बताउने गरेको छ । सडक विस्तारका क्रममा पूर्वी खण्डको सडक सिमाभित्र रहेका करिव ५०५ वटा भौतिक संरचना हटाउनुपर्नेमा हाल दमौली र डुम्रे बजारका भौतिक संरचना हटाउन बाँकी रहेको छ ।
आयोजनाका अनुसार डुम्रेमा १६० वटा भौतिक संरचनाको १५ करोड १३ लाख रुपैयाँ बराबर र दमौलीमा ७५ वटा भौतिक संरचनाको ६ करोड रुपैयाँ बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रेमा ३/४ जना बाहेक अन्य सबैले मुआब्जाको पहिलो किस्ता लिएका छन् भने दमौलीमा करिव ४० जनाले मुआब्जाको पहिलो किस्ता लिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।
‘चाडपर्वको कारण बजार क्षेत्रका भौतिक संरचना हटाउन ढिलाइ भएको थियो’, इन्जिनियार पाण्डेले भने, ‘४ लेनमा विस्तार हुन लागेको राजमार्गको बजार क्षेत्रमा सर्भिस लेन सहितको ६ लेनको सडक बन्ने छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस राजमार्ग बिस्तारको काममा सडकसिमाभित्र पर्ने भौतिक संरचनाहरु समयमै हटाइदिए हामीलाई काम सम्पन्न गर्न सहज हुनेथियो ।’
पूर्वी खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा २०७८ वैशाख २ मा काम सुरु भएको थियो । ४१.४५ किलोमिटर दुरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने छ ।
यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत दमौली स्थित मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण कार्य अगाडि बढाइएको छ । मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण गर्न लागेको हो ।
वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बनाइएने भएको छ ।
डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौंडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।










