दमौली अस्पतालमा डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।

नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिनुभयो । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उहाँले भन्नुभयो, “मिर्गौला पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।”

कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । “दमौलीमै भएका आफन्त वा साथीभाई आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँले रगत अभाव हुँदा आफूहरुलाई समस्या परेको बताउनुभयो । “निषेधाज्ञा अगाडि त समस्या थिएन, तर अहिले निषेधाज्ञा भएपछि समस्या प¥यो”, उहाँले भन्नुभयो ।

केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

आकस्मिक रक्तदान

मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउँदै आएका एक मिर्गाैला पीडितलाई रासस दमौली प्रतिनिधिको समन्वयमा रगत उपलब्ध गराइएको छ । रगत अभाव भएको जानकारी गराएपछि रासस प्रतिनिधिको समन्वयमा उहाँलाई रगत उपलब्ध गराइएको हो ।

व्यास–३ निवासी योगिता श्रेष्ठले मिर्गौला पीडितका लागि रगत उपलब्ध गराउनुभएको छ । पुण्य कामका लागि रगत दिन पाउँदा आफूलाई पनि खुशी लागेको श्रेष्ठले बताउनुभयो । “रक्तदान जीवनदान हो, सबैले रगत चाहिएकालाई सहयोग गरौँ”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker