असार सकिँदा तनहुँमा ७२ प्रतिशत धान रोपाइँ
मरुवा रोग, मल अभाव र जलवायु परिवर्तन उत्पादनका मुख्य चुनौती, असारे धान उत्पादन भने बढ्यो

तनहुँ : धान उत्पादनका दृष्टिले गण्डकी प्रदेशकै प्रमुख जिल्लामध्ये एक तनहुँमा असार मसान्तसम्म ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लामा ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा असारे धान खेती हुने अनुमान कृषि विकास कार्यालय तनहुँले गरेको छ ।
पर्याप्त वर्षा भएका क्षेत्रमा रोपाइँले गति लिए पनि सिँचाइको अभाव भएका स्थानमा अझै रोपाइँ जारी रहेको कार्यालयले जनाएको छ । कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीका अनुसार यस वर्षको रोपाइँ सन्तोषजनक भए पनि जलवायु परिवर्तन, मरुवा रोग, रासायनिक मलको अभाव, कृषि श्रमिकको कमी तथा परम्परागत खेती प्रणालीका कारण धान उत्पादनमा चुनौती कायमै रहेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा असारे धान तथा १ हजार ७४५ हेक्टरमा चैते धान खेती गरिएको छ । गत वर्ष पनि चैते धानको क्षेत्रफल लगभग स्थिर रहे पनि वर्षे धानको क्षेत्रफलमा केही उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ६७४ हेक्टरमा वर्षे धान खेती भएकोमा २०८१/०८२ मा बढेर ८ हजार ७२० हेक्टर पुगेको थियो । चालु आर्थिक वर्षमा भने ८ हजार ५१५ हेक्टरमा सीमित भएको छ ।
उत्पादनतर्फ भने असारे धानमा उत्साहजनक सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ३३ हजार ९७६ मेट्रिकटन असारे धान उत्पादन भएकोमा २०८२/०८३ मा बढेर ३५ हजार ४२२ मेट्रिकटन पुगेको छ । तर चैते धान उत्पादन भने ८ हजार २१४ मेट्रिकटनबाट घटेर ८ हजार १३१ दशमलव ७ मेट्रिकटनमा झरेको छ । कार्यालयका बाली संरक्षण अधिकृत किरण परियारका अनुसार चैते धानमा फैलिएको मरुवा रोग उत्पादन घट्नुको प्रमुख कारण बनेको देखिएको छ ।
धान उत्पादन बढाउन सिँचाइ सुविधा विस्तार अपरिहार्य रहेको उनि बताउँछन् । जिल्लामा हाल ६ हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ भने करिब ७ हजार २३६ हेक्टर क्षेत्रफल अझै मौसमी सिँचाइ तथा आकाशे पानीकै भरमा खेती हुँदै आएको छ । वर्षा ढिलो वा कम हुँदा रोपाइँ र उत्पादन दुवै प्रभावित हुने गरेको बाली संरक्षण अधिकृत परियार बताउँछन् ।
कार्यालयका अनुसार तनहुँमा धान उत्पादनका लागि उपयुक्त फाँटहरूको कमी छैन । व्यास नगरपालिकाका सँगे, रिस्ती, गजौडे र फराकचौर फाँट, बन्दीपुरको सुखौरा फाँट, भानु नगरपालिकाका सेपाबगैंचा, चुँदीफाँट, पालातफाँट, नेपालडाँडा फाँट, शुक्लागण्डकीका मान्द्रे, प्युरेदोभान र साँखेबगर फाँट, भिमादका जिदी भञ्ज्याङ क्षेत्र तथा घिरिङका बैडी र पुट्टार लगायतका फाँट धान उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिएका छन् ।
यस्ता क्षेत्रमा आधुनिक कृषि यन्त्रीकरण, उन्नत बीउ, सन्तुलित मल व्यवस्थापन र कृषि प्राविधिकको सल्लाहअनुसार खेती गर्न सके उत्पादन उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने कृषि विकास कार्यालय तनहुँको भनाइ छ ।
यद्यपि धान खेतीमा चुनौती पनि कम छैनन् । अधिकांश खेतीयोग्य जमिन अझै मौसमी वर्षामै निर्भर रहनु, पर्याप्त सिँचाइको अभाव, किसानमा उन्नत बीउ प्रयोग र बीउ प्रतिस्थापनको न्यून दर, जलवायु परिवर्तनका कारण अनियमित वर्षा, नयाँ रोग–कीराको प्रकोप, कृषि श्रमिकको अभाव तथा रासायनिक मल समयमै उपलब्ध नहुनु मुख्य समस्या रहेको वरिष्ठ कृषि विकास अधिकृत अधिकारी बताउँछन् ।
बाली संरक्षण अधिकृत परियारका अनुसार यस वर्ष विशेषगरी चैते धानमा मरुवा रोग र ग्वारोको प्रकोप देखिएकाले उत्पादनमा प्रत्यक्ष असर परेको छ । रोगको समयमै पहिचान, सिफारिस गरिएका प्रविधि अपनाउने र कृषि प्राविधिकको नियमित परामर्श लिएर खेती गर्न सके क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
कृषि विकास कार्यालयले किसानलाई आधुनिक खेती प्रणाली अपनाउन, उन्नत जातका बीउ प्रयोग गर्न, सन्तुलित मल व्यवस्थापन गर्न तथा रोग–कीरा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
कार्यालयका अनुसार तनहुँमा प्राकृतिक रूपमा धान उत्पादनको ठूलो सम्भावना रहेकाले सिँचाइ, यन्त्रीकरण र प्राविधिक सेवाको पहुँच विस्तार गर्न सके जिल्लाको धान उत्पादन अझ उल्लेखनीय रूपमा बढाउन सकिने विश्वास गरिएको छ ।










