पर्यटनका माध्यमबाट रोजगारी सृजना गराउन “बन्दीपुर भ्रमण वर्ष–२०२५”

बन्दीपुर : तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सञ्चालन गरिने भएको छ। पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई विश्वमाझ चिनाउन तथा पर्यटनका माध्यमबाट स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गराउने उद्देश्यका साथ बन्दीपुर भ्रमण वर्ष–२०२५ कार्यक्रमको आयोजना गरिएको हो ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ संगै बन्दीपुरमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयले विहीबार पत्रकार सम्मेलन गरी विविध कार्यक्रमका बीच यही पुस १७ गतेबाट भ्रमण वर्षका कार्यक्रम शुभारम्भ गर्ने जानकारी गराएको छ ।
सुन्दर, शान्त, सुरक्षित एवं संस्कृतियुक्त पर्यटकीय गन्तव्यको रुपमा विश्वमाझ परिचित गराउने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष–२०२५ समितिका संयोजक बैंश गुरुङले बताए । उनले भने, ‘बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न र यस क्षेत्रको समग्र अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्षको कार्यक्रम ल्याएका हों ।’
बन्दीपुरभित्रका होटल व्यवसायी, होमस्टे व्यवसायी, पर्यटक व्यवसायी, गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहकार्यमा बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनले भने, ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं ।’
बन्दीपुर क्षेत्रका मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरको पहिचान र उचित संरक्षण, बन्दीपुर इको कल्चर टुरिज्म प्रोजेक्टका रणनीतिक योजनाको निरन्तरता, छिमेक पालिकाहरुसंग जोडिएका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरी पर्यटकीय सर्किटको बिकास, स्थानीय समुदायमा रोजगारको अवसर सिर्जना गरी जीवनस्तरमा सुधार ल्याउनका लागि यो भ्रमण वर्ष कार्यक्रमले सहयोगित भूमिका खेल्ने उनले बताए ।
भ्रमण वर्ष कार्यक्रमको अवसरमा समितिले पुस १३ गते डुम्रेबजार र बन्दीपुर बजारबाट एकैपटक सरसफाई गर्दै प्यूघरमा सरसफाई सभा गर्ने र पुस १४ गते जिल्लाका विभिन्न बजार क्षेत्रमा प्रचारप्रसार गर्ने भएका छन्। भ्रमण वर्ष कार्यक्रमका लागि कुल खर्चमध्ये ५० प्रतिशत पालिकाले र ५० प्रतिशत अन्य संघसंस्था र सरोकारवालाले व्यहोर्ने आयोजकले जनाएको छ ।
यस्तै, भ्रमण वर्षमा करिव २ लाख पर्यटकलाई (बाँस बस्ने गरी) भित्र्याउने लक्ष्य रहेको सचिवालयका सचिव बिक्रम पियाँले बताए । ‘यो भ्रमण वर्षमा सानाठुला गरी करिव २४ वटा मनोरञ्जनात्मक कार्यक्रम गर्ने हाम्रो तयारी छ’, उनले भने, ‘यस संगसंगै पर्यटन लक्षित शिक्षा, साहित्य, हाजिरीजवाफ र साहासिक पर्यटकीय गतिविधिलाई पनि समावेश गरिने छ ।’
भ्रमण वर्षलाई लक्षित गर्दै करिव २२ जना स्थानीयलाई पर्यटक गाइडको तालिम दिई तयारी अवस्थामा राखिएको उनले बताए । उनले भने, ‘बन्दीपुर आउने पर्यटकलाई तीन दिनमा बन्दीपुर बजार क्षेत्र मात्र नभई हाम्रा सबै वडाका पर्यटकीय क्षेत्र भ्रमण गराउने छौं ।’
अंग्रेजी नयाँ वर्षका अवसरमा बन्दीपुरमा पुष १७, १८ र १९ गते विभिन्न सांस्कृतिक कार्यक्रम र फुडफेस्टिबल गरिने आयोजकले जनाएको छ ।
भ्रमण वर्षको क्रममा बन्दीपुर गाउँपालिका भित्र रहेका विभिन्न होमस्टेहरुको प्रबर्द्धन र प्रचार प्रसार गर्ने, पर्यटकीय पूर्वाधारहरुको विकास गर्ने, पर्यटकहरुको बसाई लम्ब्याउन विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने, खाना महोत्सव तथा स्थानीय उत्पादनहरु सुन्तला, मह, पिडालु, मास लगायतका कृषि उपजको बजारीकरण गर्ने कार्यक्रम सन्चालन हुने भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक पियाले बताए ।
भ्रमण वर्षका प्रचारप्रसार उपसमितिका संयोजक राजु बानियाले भ्रमण वर्षको कार्यक्रमको बारेमा सञ्चार माध्यम मार्फत देश विदेशसम्म जानकारी गराउने र बन्दीपुरमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने योजना रहेको बताए । भ्रमण वर्षका सरसफाई उपसमितिका संयोजक एवं ग्रिन आर्मीका जिल्ला कार्यक्रम संयोजक बसन्त पौडेलले भ्रमण वर्षको शुभारम्भलाई लक्षित गरी यही पुस १३ गते शनिबार डुम्रेको बन्दीपुर प्रवेशद्वार र बन्दीपुर बजारबाट एकैपटक ग्रिन आर्मीको संयोजनमा बृहत सरसफाई कार्यक्रम गर्ने जानकारी गराए ।
बन्दीपुर क्षेत्रको पर्यटन प्रबद्र्धन र पर्यटन विकासका लागि सन २०२५ लाई बन्दिपुर भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरी गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ पारित गरेको छ । उक्त कार्यविधिले भ्रमणवर्ष प्रभावकारी, पारदर्शी, मितव्ययी एवं नतिजामुखी तबरबाट सञ्चालन, अनुगमन तथा मुल्याङ्कनका साथै अभिमुखिकरणका लागि विभिन्न समिति तथा उपसमितिहरुको व्यवस्था गरेको छ ।

बन्दीपुरमा बास बस्ने पर्यटकको कमी

यस्तै, बन्दीपुरमा बास बस्ने पर्यटकको संख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ। यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढेपनि बास बस्नेको संख्यामा कमी आएको बन्दीपुरका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बास बस्ने गरी आउने पर्यटक कम भएपनि घुमघाम गरेर सोही दिन फर्किनेको संख्या भने उल्लेख्य रहेको बताए । उनले भने, ‘बास बस्ने गरी आउने पर्यटक ‘प्याकेज’मा आउँछन् । घुमघामका लागि आउनेहरू दिनभर घुमेर साँझ फर्किने गरेका छन् ।’
यतिबेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको उनको अनुमान छ । उनका अनुसार सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको संख्या अझै बढी हुने गरेको छ । बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने अध्यक्ष प्रधानले बताए ।
जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि बन्दीपुर आउने गरेका तथ्याङ्क समितिसंग रहेको छ ।
बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताएका छन् ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै ८ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमश्रृंखला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमश्रृंखला देखिने भएकाले यहाँ पर्यटकको आकर्षण बढ्ने गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker