अपाङ्गता भएकी ७२ वर्षीय उजेलीले हृवील चियर पाइन्
भञ्ज्याङ न्यूज
कास्कीको पोखरा महानगरपालिका-३३ तल्लो पुँडीटारकी-७२ बर्षीया उजेली थापा गोदारको हृवील चियरमा ओहोरदोहोर गर्ने चाहाना पुरा भएको छ । हिड्डुल गर्न नसक्ने गोदार हृवील चियर पाएपछि दङ्ग परिन् ।
एउटा खुट्टा गुमाएकी र आखाँ समेत देख्न नसक्ने गोदारलाई लायन्स क्लब अफ खैरेनी दुलेगौँडा सिटीले शनिबारबार घरमै पुगेर हृवील चियर हस्तान्तरण गरेको हो । चार बर्षको बाल्यकालमै विफोर भन्ने रोगका कारण आँखाको ज्योति गुमाएकी थापाले २६ बर्षो बैंश उमेरमा दायाँ खुट्टा काटेर फाल्नु पर्यो । आँखा नदेख्ने भएपछि हिड्दा डुल्दा र काम गर्दा गोडा ठोकिदाँ ठोकिदै घाउ बढ्दै गएपछि क्यान्सर भएर खुट्टा नै काट्नु परेको थियो उजेलीले ।
दायाँ खुट्टा गुमाएको केही बर्षपछि बायाँ खुट्टा पनि लुलो भएर काम गर्न छाडेको उनी बताउँछिन् । हरेक यता उता गर्न, शौचालय जान उजेलीलाई परिवारका कुनै एक सदस्यको अनिवार्य साहारा चाहिन्छ । हृवील चियर पाएपछि खुसी व्यक्त गर्दै गोदारले आफुलाई शौचालय जान र साँझ पख चौरतिर घुम्न सहज हुने बताइन् । चौरतिर नगएको धेरै बर्षभएको बताउँदै उनले भनिन् पहिला त घ्रि्रेर जान्थे । अहिले पनि बाहिर निस्कन मन लाग्छ, तर सक्दिन । अब हृवील चियर पनि आयो, तीजमा दिदीबहिनीहरुले चौरमा तिजका गीत गाउँछन्, त्यतिबेला त जान्छु । उनले अशक्त भएर बसेकी बुढिलाई पटक पटक सहयोग गरेको भन्दै अध्यक्ष पौडेल लगायत सवैलाई आर्शिवाद दिइन् ।
गत साउन ४ गते उजेलीको दाँतको निःशुल्क उपचार गर्न घरमै पुगेका क्लबका अध्यक्ष एवं अन्नपूर्ण डेण्टलका संचालक फणिन्द्र पाडेललाई गोदारले हृवील चियर आवश्वक परेको समस्या सुनाएकी थिइन् । सो क्रममा पौडेलले छिट्टै एउटा हृवील चियरको व्यवस्था गरिदिने बचन दिएका थिए । सोहि अनुसार पौडेल लायन्स तथा लियो क्लबका पदाधिकारीसहित हृवील चियर लिएर गोदारको घर पुगेका हुन् ।
सो अवसरमा क्लबका सिनियर एओजी मोति प्रसाद पौडेलले २००४ सालदेखि स्थापित यस क्लबले विभिन्न सामाजिक काम गर्दै आएको बताए । उनले सहयोग आवश्यक परेकाहरुलाई सहयोग गर्नु र जीवनयापनमा सहयोग पुर्याउनु नै लायन्सको मन्त्र भएको बताउँदै मानवीय सेवाका कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
सोक्रममा क्लबका अध्यक्ष एव डेण्टिस पौडेलले बर्षीया गोदारको किराले खाएका ४ वटा दाँत निकाली दिए । उनले गोदार बाँचुञ्जेल दाँतमा कुनै समस्या आए निःशुल्क सेवा दिने र हृवील चियर मर्मत गर्नुपर्ने भएमा घरमै पुगेर मर्मत गरिदिने बचन दिए । कार्यक्रममा क्लबका सचिव शिव पौडेल, प्रस्तावित सदस्य राम लम्साल लगायतले बोलेका थिए ।










