गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुलको काम तीव्र

गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको हो ।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि बन्न लागेको पुलको कामलाई निषेधाज्ञाकै अवधिमा अगाडि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी योजनाबाट सञ्चालन हुने विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ ।

वर्षाअगावै पुलको बीचको पिल्लरको भाग सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । “वर्षा लागेर नदी बढेपछि काम गर्न सकिँदैन, वर्षा अगावै बीचको काम सम्पन्न गर्ने सके सजिलो हुन्छ,” सिग्देलले भन्नुभयो, “नदीको भागमा चाँही हिउँद लागेपछि शुरु गर्ने तयारी गरेका छौँ ।” सिग्देलका अनुसार तनहुँतर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पातर्फको काम हुन बाँकी छ ।

दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण भइरहेको छ । पुल निर्माणको अनुगमनका लागि इन्जिनियर खगेन्द्र जोशी, आशिष नेपाल, निर्माण कम्पनीका इन्जिनियर यादव बस्याल र सुदर्शन कोइराला कार्यस्थलमा खटिनुभएको छ ।

डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।

यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासी पनि खुशी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवातजावात गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker