मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन, क्यासमिरी क्षेत्रलाई अपूरणीय क्षति
भञ्ज्याङ समाचारदाता/भानु

मुस्लिम आयोगका पूर्व सदस्य हाजी रफिक मियाँको निधन भएको छ । तनहुँको भानु नगरपालिका-१३ निवासी मुस्लिम अगुवा मियाँको विहीबार बिहान करिब ५ बजेको समयमा हृदयघातका कारण घरमै निधन भएको बताइएको छ ।
नेपाली कांग्रेसका वडा सभापति समेत रहेका मियाँ बुधबार दिउँसो बेसी खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएको पारिवारिक स्रोतले जनाएको छ । राति अलि पेट पोल्यो भनेपनि बिहान अचानक मृत्यु भएको बताइएको छ ।
मियाँको मृत्युले भानु नगरपालिकाको वडा नं. १३, १२ र व्यास नगरपालिकाको वडा नं. ९ लगायतका ग्रामीण बस्तिलाई अपूरणीय क्षति पुगेको छ । ग्रामीण क्षेत्रका बासिन्दाका हरेक समस्यासंग हातेमालो गर्दै आएका मियाँ क्यामिन, सतिस्वाँरा, मिर्लुङ, रिस्ती (क्यासमिरी) क्षेत्रका अगुवा सामाजिक कार्यकर्ता समेत थिए । क्यासमिरी क्षेत्रको विकास निर्माण तथा यहाँका बासिन्दाका हरेक समस्यासंग सहकार्य गर्दै सहजिकरणमा खट्टदिै आएका मियाँको मृत्युले यस क्षेत्रलाई शोकमा डुबाएको छ ।
यस्तै, मियाँको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ कांग्रेसको प्रज्वलित दीप निभेको बताएका छन्। महाधिवेशन प्रतिनिधी एवं सामाजिक व्यक्ति मियाँ प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता भण्डारीले मियाँको मृत्युले यस क्षेत्रलाई ठूलो क्षति पुगेको बताए ।
स्व. मियाँलाई श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उनले समाज र क्यासमिरी क्षेत्रको विकासमा पुर्याएको योग्दानको चर्चा गर्दै स्मरण गरेका थिए ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला सचिवद्वाय विश्व वास्तोला र लक्ष्मी आचार्य, क्षेत्रीय सभापतिहरु उदयराज गौली, किसान गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले स्व. मियाँ प्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मियाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्न स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले पठाएको शोक वक्तव्य तनहुँका सभापति न्यौपानले पढेर सुनाएका थिए । स्व. मियाँको धार्मिक परम्परा अनुसार भानु-१३ स्थित बाँकेमा अन्तिम संस्कार गरिएको छ ।