व्यासको बर्लाचीमा स्वास्थ्य शहरी केन्द्र सञ्चालन
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिका-८ बर्लाचीमा बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना गरिएको छ । उक्त स्वास्थ्य केन्द्रको मंगलबार नगरप्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यको अधिकार प्रत्याभूत गराउन बर्लाचीमा स्वास्थ्य सहरी केन्द्र स्थापना गरिएको बताए।
‘राज्यले हरेक नागरिकलाई स्वस्थ जीवन जिउन पाउने अधिकार सुनिश्चित गरेको छ, त्यसको कार्यवन्यन गर्न हामी प्रतिवद्ध छौं’, उनले भने, ‘नागरिकले शुलभ रूपमा छिटोछरितो स्वास्थ्य सेवा पाउने हामीले विश्वास गरेका छौं र लागि परेका छौं ।’ उक्त स्वास्थ्य केन्द्रबाट दैनिक बिरामी चेकजाँच, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा लगायतका सेवा प्रवाह गरिने भएको छ ।
स्वास्थ्य केन्द्र शुभारम्भ कार्यक्रममा स्वास्थ्य शिविर, आधारभुत चेकजाँच जस्ता सेवा पनि संचालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । केन्द्रमा २ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिनेछन् ।
यसअघि बर्लाचीमा कात्तिकेचौर स्वास्थ्य चौकी मार्फ सेवा प्रदान गरिदै आइएको थियो । मुलुक संघीय संरचना अनुसार अघि बढेपछि व्यास ८ र ९ नं. वडामा विभाजन भई अलग अलग भएपछि सेवा प्रवाहलाई सहज बनाउने बर्लाचीमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको व्यास-८ का वडा अध्यक्ष ओजराज पौडेल बताए।