पहिरोले अवरुद्ध तनहुँका मुख्य सडक आंशिक खुल, ग्रामीण सडकको पहिरो हटाउन थालियो

भञ्ज्याङ समाचारदाता/दमौली

अविरल झरीसंगै आएको बाढीपहिरोका कारण तनहुँका लगभग सबै सडक सञ्जाल अवरुद्ध हुन पुगेका थिए । जिल्ला भित्रका मुख्य सडक मात्र होइन् अधिकांश भित्री तथा ग्रामीण सडक पनि बाढीपहिरोका कारण क्षतविक्षत अवस्थामा भएकाले अवरुद्ध छन् । तनहुँको करिब ७२ किलोमिटर सडक खण्ड पृथ्वीराजमार्ग पर्छ । यो राजमार्गमा पनि दर्जनौ साना ठूला पहिरो जाँदा अवरुद्ध हुन पुगेका थिए । अहिले राजमार्गको पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ । तर, अझै भित्री तथा ग्रामीण सडकहरु सञ्चालनमा आउने सकेका छैनन्।

पहिराले अवरुद्ध भएका ग्रामीण सडक पुनःसञ्चालन गराउन प्रयास भइरहेको हायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल बताए । ‘बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ’, उनले भने, ‘पहिरो हटाउने तथा भासिएको सडक मर्मत सुधार गर्न समस्या आएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको हुँदा सडक मर्मत सुधारका कामलाई अगाडि बढाइएको छ।’

यस्तै, डुम्रे-बन्दिपुर सडक खण्डको पहिरो हटाएर शनिबार साँझबाट सञ्चालनमा ल्याइएको छ । बन्दिपुर गाउँपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । मुख्य सडक डुम्रे-बन्दीपुरको आंशिक खण्ड सञ्चालनमा आए पनि ग्रामीण सडक खुलाउन केही समय लाग्ने उपाध्यक्ष करुणा गुरुङले बताइन् । उनले भनिन्, ‘डुम्रे-बन्दीपुर, बन्दीपुर-ढाँडखोला, बन्दीपुर-धरमपानी लगायतका सडक खण्डामा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ ।’

भानु नगरपालिकाको वडा नं. १३ जोड्ने दमौली-पोखरीछाप सडक खण्डको वृतादेखि पोखरीछापसम्मको सडकमा खसेको पहिरो सोमबार दिउँसो हटाएर सञ्चालनमा ल्याइएपनि चन्द्रावती-पोखरीछाप सडक खण्ड मंगलबारसम्म खुलाउने गरी काम भएको भानु-१३ का वडाध्यक्ष रामबहादुर बानीयाले बताए ।

शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भेगका अवरुद्ध सडक खुलाउन शुरु गरेको छ । तनहुँ र स्याङ्जा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । उनले भने, ‘मान्द्रेदेखि छाब्दीखण्डमा पहिराको जोखिम कायमै छ, त्यहाँ सडकको ट्रयाक नै नरहने गरी क्षति पुगेको छ ।’

शुक्लागण्डकी अन्तर्गत दुलेगौंडा-हर्कपुर, लालध्वज, दुलेगौँडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मार्गमा पहिराले क्षति पुगेको छ । ग्रामीण भेगका सडक खुलाउन समस्या परेको सुवेदीले बताए ।

घिरिङ गाउँपालिकाका ग्रामीण सडक पनि पहिराले अवरुद्ध छन् । पहिरो हटाएर मुख्य मुख्य सडक सञ्चालन गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी गराए । ‘वर्षा रोकिएको छैन, अहिले हटायो फेरि पहिरो खस्छ’, उनले भने, ‘तत्काल आवश्यक सडकको मात्र पहिरो हटाउन शुरु गरेका छौ ।’

जिल्लाका दश वटै पालिका बाढीपहिरोबाट प्रभावित छन् । सबै पालिकामा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । बाढीले व्यास नगरपालिका-१ र १३ जोड्ने छाब्दी खोलास्थित पुल भत्किएपछि दक्षिणी भेगसम्मको पहुँच टुटेको छ । बुद्धसिं मार्ग अन्तर्गत निर्मित पुल भत्किएपछि किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ ।

ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन । यही पुल हुँदै व्यास-१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास-१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे । अविरल झरीसंगै आएको बाढीपहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकमा ठूलो क्षति पुगेको छ । पहिरोका कारण अवरुद्ध सडक सुचारु गराउन अहिले जिल्लाका सबै स्थानीय पालिकाहरु लागि परेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker