भानुका जनप्रतिनिधि तथा कर्मचारीलाई क्षमतावृद्धि अभिमुखिकरण
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको क्षमता विकासका लागि दुइ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जनप्रतिनिधिहरुलाई आफ्नो काम कर्तब्य र अधिकार सेवा प्रवाह, सुशासन र योजना तर्जुमा लगायतका विषयमा पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीले सहजीकरण गरेका थिए । नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई नगर प्रमुख आनन्दराज त्रिपाठीद्वारा शपथग्रहण गराएसंगै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममा भानुका नवनिर्वाचित प्रमुख त्रिपाठी, उपप्रमुख उमा गोतमे, प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेल, १३ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरू गरी ७० जना जनप्रतिनिधिहरू, विषयगत शाखा प्रमुखहरू र अन्य कर्मचारीहरूको सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममा विशेषत संघीयतामा स्थानीय तह र पदाधिकारीहरूको भूमिका, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधान र यसको प्रभावकारी कार्यान्वयन, नगर प्रमुख उपप्रमुख तथा वडाध्यक्षको काम कर्तव्य र अधिकार, योजना निर्माण प्रक्रिया र जनप्रतिनिधि तथा कर्मचारी बीचको अन्तरसम्बन्धका विषयमा सहजीकरण भएको नगर शिक्षा अधिकारी ध्रुबराज पौडेलले जानकारी गराए ।











