प्राङ्गारिक खाद्य भान्छामा पुर्‍याउन राष्ट्रिय खाद्य बैंक

  • हरि बाँस्तोला/कृष्ण दवाडी

विषादीरहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुर्‍याउने लक्ष्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित बैंकले पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थाल्ने भएको हो । उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरलाई ध्यानमा राखी उत्पादन, भण्डारण र बिक्री वितरणसँगै अनुसन्धानका काममा जोड दिइने बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठी तथा खोलाको छेउका बगर, नेपाल विद्युत् प्राधिकरणको लाइनमुनिका तथा विभिन्न संघसंस्था, व्यक्तिका जग्गा भाडामा लिएर आवश्यकता अनुसारका खाद्यवस्तु उत्पादन गरिने छ।

“कृषि उत्पादन भूमि कंक्रिट बस्तीमा परिणत हुनाका साथै खाना खाने पेटको संख्यामा वृद्धि हुने क्रमले गर्दा दिनप्रतिदिन मुलुकमा परनिर्भरता बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक खाद्यान्न उत्पादन गरी आत्मनिर्भर बनाउनेतर्फ लाग्ने छौं, पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी सञ्चालन गरिनेछ ।” बैंकमार्फत जैविक खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही, दूध, माछामासु, अण्डा, जडीबुटी, चिया, कफी, उखुलगायत खानेकुरा उत्पादन गर्ने लक्ष्य लिइएको बताउँदै उहाँले रैथाने जातको संरक्षण गर्दै थोरै ठाउँमा धेरै उत्पादन गर्ने कार्यमा बैंक लाग्ने जनाउनुभयो । जथाभावी प्रयोग हुने गरेको विषादी र मलले बिगारेको माटोलाई पुनारावस्थामा ल्याउन क्रमिकरूपमा प्रयास गरिने छ ।

पूर्णरूपमा जैविक कृषि वस्तु उत्पादनमा केही समय लाग्ने भए पनि पछिल्ला दिनमा लक्ष्य प्राप्ति हुने उहाँको विश्वास छ । उहाँले भारतबाट आएको तरकारी विषादी परीक्षण नगरी सिधैँ उपभोग गरेको टुलुटुल हेरेर बस्ने देश नेपाल मात्र रहेको र त्यसबाट आवश्यकता पूरा भए पनि मानव स्वास्थ्यमा ठूलो क्षति हुने हुँदा बैंकले उत्पादित वस्तुको सुरक्षित भण्डारणलाई समेत प्राथमिकता दिइने बताउनुभयो ।

एक सय ५० जनाको रु दुइ अर्ब बराबरको शेयर राखेर स्थापना गरिएको बैंकको शेयर बन्न आहृवान गर्दै सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने बताइएको छ । “वाग्मतीमा शुरु भएको अभियान अर्न्तर्गत गण्डकी प्रदेशमा कार्यालय स्थापना गर्न पोखरा आएका छौं”, अध्यक्ष उप्रेतीले भन्नुभयो, “निकट भविष्यमा अन्य प्रदेशमा पनि कार्यालय स्थापना गरिनेछ ।” यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा बैंकको छ ।

कृषिलाई सम्मानित र मर्यादित पेशा बनाएर कृषकको आर्थिक अवस्था सुदृढ गर्दै मुलुकलाई आवश्यकभन्दा बढी उत्पादित कृषि वस्तु विदेशमा बिक्री वितरण गरेर मुलुकको समृद्धिको अभियानमा जुट्ने र यसले देशमा कृषिमा क्रान्ति ल्याउने उहाँको भनाइ छ । माटो र इकोसिष्टमलाई बचाउँदै कृषिको माध्यमबाट मुलुकमा रोजगार सिर्जना गर्ने, यस क्षेत्रमा लागेका वैज्ञानिक एवं प्राविधिकको सहयोगमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको आधुनिकीकरण गरिने बैंकको अभियानमा उल्लेख छ । कम लागतमा प्राङ्गारिक मल उत्पादन गरी फुड न्यूटेशनका बारेमा कृषकलाई ज्ञान दिलाउने बैंकले लक्ष्य लिएको छ ।

उत्पादन गर्ने कृषक, उपभोक्ता, लगानी गर्ने शेयर सदस्य र राज्य सबै पक्षलाई फाइदा हुने तथा स्वस्थकर खाद्यान्न प्रमाणित गरी बैंकको ल्यावमा परीक्षण गरी बजारमा पठाउने भएकाले खाद्य बैंकको उत्पादनबाट मानव जीवन स्वस्थ रहने विश्वास लिइएको छ । यसमा उत्पादक र उपभोक्ता सिधैँ जोडिने हुँदा बिचौलियाको अन्त्य हुने बताइएको छ ।

बैंकले कृषि क्षेत्रमा कार्यरत कृषि कम्पनी, कृषि सहकारी, सरकारी एवं गैरसरकारी संघसंस्था लगायत उत्पादनसँग जोडिएका संघसंस्थासँग सहकार्य गरी उत्पादनमा वृद्धि गरिनेछ । अभियानले वातावरणको संरक्षण गरी गुणस्तरयुक्त खाद्यान्न, तरकारी, जडीबुटी, चिया, कफी, अलैँची, माछामासुलगायतमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने जनाइएको छ ।

मुलुकका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा बैंकका कार्यालय स्थापना गरी तत्स्थानको सम्भाव्यता अध्ययन गरी त्यसका आधारमा कृषि उत्पादनमा जोडिने अभियानले अन्ततः कृषि र पर्यटनलाई जोड्ने विश्वास लिइएको छ । नेपाल कृषिको उर्वरभूमि भएर पनि गत वर्षमात्र भारतबाट रु ५७ अर्बको चामल आयात भएको थियो भने रु सात अर्बभन्दा बढीको कागती भित्रिएको कार्यक्रममा जानकारी दिइयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker