घिरिङको नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण

भञ्ज्याङ समाचारदाता/घिरिङ

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका-२ स्थित देउराली, दुम्कोट, घुर्लीछाप, घ्याछापका कृषकलाई घाँसका बिरुवा, औषधि, झोलमलका लागि ड्रम र जोख्ने मेशिन वितरण गरिएको हो । गण्डकी प्रदेशको भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयमार्फ गत फागुनदेखि उक्त चार गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँको कार्यक्रम सञ्चालित छ । यस कार्यक्रममार्फत उक्त चार गाउँका १०५ घरधुरी आबद्ध रहेका कृषि प्राविधिक लुना अर्यालले बताए ।

कृषकलाई करीब ३२ हजार डाँलेघाँस र ६२ हजार भुइँघाँसका बिरुवा वितरण गरिएको उनले बताए । त्यस्तै मलका लागि २५ ड्रम, चार गाउँका लागि एक/एक गरी चार बोयर जातका बोका, होर्डिङबोर्ड र दुइ जोख्ने मेशिन वितरण गरिएको छ । बाख्राका लागि औषधि पनि वितरण गर्ने तयारी गरिएको अर्यालले बताए ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम चार वर्ष सञ्चालन हुनेछ । पहिलो वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसमा ८५ प्रतिशत मन्त्रालयले सहयोग गरेको छ भने १५ प्रतिशत समूहले लागत साझेदारी गर्नुपर्नेछ । यस कार्यक्रम मार्फत देउरालीका ५०, दुम्कोटका २३, घुर्लीछापका १७ र घ्याछापमा १५ घरधुरी आबद्ध छन् ।

कृषि प्राविधिक अर्यालका अनुसार यस वर्ष उक्त गाउँमा बाख्रापालनका लागि आवश्यक सहयोग गरिएको छ । “यस वर्षको बजेट बाख्रापालनमा लक्षित छ, आगामी वर्ष तरकारी, फलफूल लगायतका लागि सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “कृषक जागरुक र उत्साहित छन् ।”

घिरिङ बाख्रापालक कृषक समूहकी अध्यक्ष विमला आलेले कार्यक्रम लागू भएपछि यहाँका कृषक व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यहाँका कृषकले कम्तीमा १५/२० बाख्रापालन गर्दै आएका छन् । “यो कार्यक्रम कृषकमैत्री छ, निर्वाहमुखी रूपमा मात्रै कृषि र पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बन्न प्रेरित गरिएको छ”, उनले बताए ।

प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री किरण गुरुङको सिफारिसमा मन्त्रालयले यस गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका रूपमा छनोट गरेको थियो । त्यसका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो । सोही बमोजिम यहाँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायत गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker