भानु नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

भानु : तनहुँको भानु नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले खरिद गरेका विभिन्न उद्धार सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं. २३ गण हेडक्वार्टर मनकामना, तनहुँलाई हस्तान्तरण गरेको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीको उपस्थितिमा आयोजित कार्यक्रममा विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यमा प्रयोग हुने अत्यावश्यक सामग्री सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामग्रीमा फायर एक्स्टिङ्गुइशर, रेस्क्यु रोप, फायर ब्ल्याङ्केट, रेस्क्यु एक्स, टेन्ट, ¥यापलिङ मिटेन, डायनामिक रोप लगायत उद्धार कार्यमा आवश्यक विभिन्न उपकरणहरू रहेका छन्। नगरपालिकाले यी सामग्रीले बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक तथा मानवीय विपद्का घटनामा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्न तथा उद्धार कार्यलाई छिटो, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठीले विपद् व्यवस्थापन स्थानीय तहको प्रमुख जिम्मेवारीमध्ये एक रहेको उल्लेख गर्दै नागरिकको जिउधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले आवश्यक पूर्वतयारीलाई निरन्तर सुदृढ बनाउँदै आएको बताए । उनले विपद्का बेला सशस्त्र प्रहरीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नं. २३ गण हेडक्वार्टर मनकामनाले प्राप्त सामग्रीले विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित सुरक्षा निकायसँगको समन्वय र सहकार्यलाई निरन्तर सुदृढ बनाउने जनाएको छ ।










